साइनिङ अस्पतालमा ६० जना कुष्ठरोगका नयाँ बिरामी फेला

    • स्वास्थ्य पेज

  • १५ फाल्गुन २०८०, मंगलवार

नेपालगन्ज: आइएनएफद्वारा संचालित बाँकेको जानकी गाउँपालिका-३ मानपुरमा रहेको साइनिङ अस्पतालमा  ६० जना कुष्ठरोगका नयाँ बिरामी फेला परेका छन् । अस्पतालले आज संचारकर्मीसंगको अन्तरक्रियामा अस्पताल प्रमुख मंगल थारुले चालु आर्थिक वर्ष २०८०/८१ को ६ महिनामा ६० जना कुष्ठरोगका बिरामी फेला परेको बताउनुभयो ।

उहाँका अनुसार अस्पतालले ८ हजार ६०२ जना बिरामी चेकजाँच गर्दा कुष्ठरोगीका ती बिरामी फेला परेका थिए । गत वर्षको सोही अवधीमा ५१ जना बिरामी फेला परेका थिए । गत वर्ष साउन देखि असार महिनासम्म भने १२६ जना बिरामी फेला परेका थिए । चालु आर्थिक वर्षमा फेला परेका ६० जनामध्ये बाँकेका मात्रै २९ जना कुष्ठरोगका बिरामी छन् ।

अरु बर्दिया, सुर्खेत, सल्यान र रुकुमका बिरामी हुन् । १५ जना भने भारतीय बिरामी रहेको पनि थारुले बताउनुभयो । २४ बेड क्षमताको डेडिकेटेड यो अस्पतालमा ६० जना कुष्ठरोगका बिरामी मध्ये ५३ जनालाई ५२ दिन भर्ना गरि उपचार गरिएको छ ।

समाजमा कुष्ठरोग प्रतिको पुरानो धारणामा अझै पूर्णरुपमा परिवर्तन आइसकेको छैन। अझै पनि कुष्ठरोगलाई महारोग, उपचार हुन नसक्ने र अत्यन्त छिटो सर्ने प्रकृतिको संक्रामक रोगको रुपमा लिने गरिन्छ।

त्यसैले सबैभन्दा पहिले कुष्ठरोग अत्यन्त कम सर्ने र अन्य रोगहरू जस्तै सजिलै उपचार हुन सक्ने रोग हो भन्ने कुरा सबैले बुझ्नु र सोही अनुसार उपचारको खोजि गर्नु अत्यन्त आवश्यक छ। साइनिङ अस्पतालमा कुष्ठरोगीको निशुल्क उपचार भैरहेको पनि प्रमुख थारुले बताउनुभयो ।

कुष्ठरोगको चिह्न र लक्षण 
शरीरको कुनै भागमा छुँदा थाहा नहुने फुस्रो वा हल्का रातो दागहरू देखा पर्नु शुरूको चिह्न हो।यसबाहेक अनुहार र कानका लोतीमा गिर्खाहरू देखिनु, छाला चम्किलो र बाक्लो हुनु तथा आँखीभौं झरेर जानु कुष्ठरोगका चिह्नहरू हुन्। अन्त्यमा अपाङ्गता हुन सक्छ।

स्नायुमा असर पर्न जाँदा हात खुट्टाहरू लगातार झम–झम गर्नु, स्नायु सुन्निनु, दुख्नु, हातखुट्टा छुँदा थाहा नहुनु, मांसपेशीहरू कमजोर हुनु आदि लक्षण भेटिएमा कुष्ठरोग हो कि भनि शंका गर्न सकिन्छ।

उपचार के हो ?
यसको उपचार बहुऔषधि विधिबाट गरिन्छ। जसअनुसार बढी किटाणु भएका अर्थात  (एमबी) कुष्ठरोग बिरामीले १२ महिना र कम किटाणु भएका अर्थात  (पीबी) कुष्ठरोग बिरामीले ६ महिना नियमित औषधि सेवन गर्नुपर्दछ। बिरामीले घरैमा बसेर औषधि सेवन गर्न सक्दछन्। बहुऔषधीको १ मात्राले नै ९९ प्रतिशत किटाणु निस्क्रिय बनाइदिन्छ। तसर्थ उपचार गरेका बिरामीबाट रोग अरूलाई सर्दैन। कुष्ठरोगको उपचार स्वास्थ्य संस्थामा निःशूल्क पाइन्छ।

  • १५ फाल्गुन २०८०, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech