दिसाजन्य लेदो विर्सजनका लागि नेपालगन्जले लियो लिजमा जग्गा

    • स्वास्थ्य पेज

  • १४ फाल्गुन २०८०, सोमबार

समिरमान श्रेष्ठ ।
नेपालगन्जः धेरै बनाइएका शौचालयको सेफ्टी ट्याङ्की भरिन थालेका छन् । यसरी भरिएको सेफ्टी ट्याङ्कीको फोहर कसरी व्यवस्थापन भैरहेको छ ? सबैको चासो र सरोकारको विषय बन्न सकिरहेको छैन । खुला दिसामुक्त अभियानलाई व्यापक बनाइयो । अहिले सबै जसो मानिस शौचालयमा दिसा पिसाबको लागि जाने गर्छन् । तर, शौचालय भित्रको फोहर व्यवस्थापनमा खासै ध्यान पुगेको देखिँदैन । शौचालय भित्रको फोहर संकलन गरेर खुला ठाउँमा फाल्ने गरिएको छ । एक लाख ६४ हजार ४४४ जनसंख्या र ३४ हजार ५६५ घरधुरी भएको नेपालगन्जमा शौचालयको सेफ्टी ट्याङ्की भरिँदा त्यसको व्यवस्थापन कहाँ गरिन्छ होला ? यसको सहज जवाफ हो खुला ठाउँमा । घरजन्य फोहर हिरमिनियास्थित डम्पिङ्ग साइडमा फाल्ने गरिएपनि दिसाजन्य फोहर भने अहिलेसम्म खुला ठाउँमा फाल्ने गरिएको छ । जसका कारण नयाँ–नयाँ संक्रामक रोगहरु भित्रने सक्ने खतरा हुन्छ । अहिले सम्म खुला ठाउँमा दिसाजन्य लेदो व्यवस्थापन गर्दै आएको नेपालगन्ज उपमहानगरपालिकाले अब त्यसको विकल्प तयार गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिकाले अस्थायीरुपमा दिसा विर्सजन गर्ने ठाउँ निश्चित गरेसँगै खुला ठाउँमा दिसाजन्य फोहोर फाल्नु पर्ने बाध्यात्मक अवस्थाको पनि अन्त्य भएको नगर प्रमुख प्रशान्त विष्ट बताउनुहुन्छ । खुला ठाउँमा दिसाजन्य फोहोर फाल्दा त्यसले पानीको सतहलाई समेत प्रदूषित पार्ने र संक्रामक रोगको महामारी फैलिने जोखिम हुने भएकाले उपमहानगरपालिकाको आफ्नो दायित्व समेत भएकाले दिसा विर्सजन गर्ने ठाउँ निर्माण सुरु गरेको उहाँको भनाइ छ । नेपालगन्ज उपमहानगरपालिकाले वडा नं. २० मनिकापुरमा २ बिघा जग्गा पाँच वर्षका लागि लिजमा लिएर दिसाजन्य लेदो व्यवस्थापनको अस्थायी ठाउँ बनाइएको हो । नेदरल्याण्ड्स विकास नियोगको करिव २८ लाखको आर्थिक सहयोगमा नेपालगन्जमा पहिलो पटक दिसाजन्य लेदो व्यवस्थापन गर्ने संरचना बन्न लागेको हो । संरचना निर्माणको जिम्मा माइ कन्ट्रक्शन निर्माण कम्पनीले लिएको छ । पन्ध दिनभित्रमा निर्माण सक्ने गरी सम्झौता गरेर काम प्रारम्भ गरिसकेको नियोगका कन्सल्टेन्सी इन्जिनियर मुन बहादुर खड्काले बताउनुभयो ।

स्थानीय सरकारबाट मात्रै नभएर निजी क्षेत्रबाट समेत दिसाजन्य लेदो संकलन गर्ने काम भैरहेको छ । यसरी संकलन गरिएको फोहर खुला ठाउँ, नदीको बगर, जंगलमा फाल्ने गरिएको छ । निश्चित ठाउँमा फोहर व्यवस्थापनको लागि प्लान्ट निर्माण नहुँदा स्थानीय घरधनी पनि समस्यामा थिए । तर उपमहानगरपालिकाले प्लान्ट नै निर्माण गर्न थालेपछि भने खुसी भएका छन् । नेपालगन्ज उपमहानगरपालिकाले अहिले सम्म दिसाजन्य लेदोलाई खुला ठाउँ र खेतवारीमा फाल्ने गरेको थियो । उपमहानगरपालिकाले अव भने फोहोर व्यवस्थापनमा कडाइ गरेसँगै दिसाजन्य लेदो व्यवस्थापनमा पनि कडाइ गर्ने योजना बर्नाएको छ ।

  • १४ फाल्गुन २०८०, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech