डर लाग्दो गरी बढ्दै छ निःसन्तान समस्या

टेष्टट्युब बेबीमार्फत बच्चा जन्माउने दम्पती पनि पछिल्लो समयमा धेरै छन् । तर आमजनताले उक्त प्रक्रियाबाट पनि सन्तान प्राप्त गर्न सक्दैनन् । किनकी उक्त प्रक्रियाबाट सन्तान जन्माउन महँगो पर्छ । एउटा सन्तान जन्माउन करिब रु तीनदेखि चार लाखसम्म खर्च लाग्ने भएकाले सबै नेपाली नागरिक त्यो प्रविधिबाट बच्चा जन्माउन पहुँचमा पुग्न सक्दैनन् ।


    • स्वास्थ्य पेज

  • ३ फाल्गुन २०८०, बिहीबार

पौष्टिक र गुणस्तरीय आहार नखानु, अत्यधिक गर्मीमा काम गर्नु, खानपिनमा भन्दा व्यक्तित्व विकासमा प्राथमिकता दिनु, मोटोपना बढ्नु, शरीर राम्रो देखाउन थोरै खाना खानु तथा रसायनयुक्त तरकारी र फलफूल खाने गर्नाले धेरै मानिसमा पछिल्लो समयमा निःसन्तान हुने समस्या बढ्दै गएको पाइएको छ । आहारविहारका अतिरिक्त विवाह ढिला गर्ने र सन्तान जन्माउने कामलाई प्राथमिकता नदिइ आफू आर्थिकरुपमा सक्षम भएपछि मात्र बच्चा जन्माउँछु भन्ने गर्नाले पछिल्लो समय धेरै दम्पती सन्तानविहीन बन्दै गएका चिकित्सकहरू बताउँछन् ।

‘खानपिनमा ध्यान नदिने, कामको चाप बढी हुँदा पर्याप्त निद्रा नपाउने र आजकाल धेरै दम्पती पहिला व्यक्तित्व विकास गर्ने चिन्ताले उमेरमै सन्तान जन्माउनेबारे सोच्दैनन्’, प्रजनन तथा हर्मोन विशेषज्ञ डा उमा श्रीवास्तवले भन्नुभयो, ‘बढी तातोमा काम गर्ने, ढिला विवाह गर्ने, आवश्यक पौष्टिक आहार पर्याप्तमात्रामा नखाने तर ‘जङ्कफुड’ खानेजस्ता कारणले पनि दम्पती निःसन्तान हुँदै गएका छन् ।’ कोभिड–१९ को महामारी, युद्ध या विविध कारणले विश्वव्यापीरुपमा भइरहेको आर्थिक मन्दीका कारण पनि मानिसलाई जीविका चलाउन गाह्रो हुँदै गएको छ । यस्तो अवस्थामा जीविकाका अतिरिक्ति आफ्नो व्यक्तित्व विकास पनि मानिसको आधारभूत आवश्यकता जस्तो हुँदै गएको छ । यो पनि मानिसमा निःसन्तान बन्दै जाने एक कारण देखिएको छ ।

निःसन्तान केन्द्रमार्फत निःसन्तानका लागि उपचार सेवा दिइरहेकी डा. श्रीवास्तवका अनुसार महिला र पुरुष दुवैमा बराबर निःसन्तानको समस्या देखिएको छ । ‘नेपालमा निःसन्तान पुरुषका बारेमा कम अध्ययन गरिएको छ, तसर्थ महिलामा बढी समस्या भएको जस्तो लाग्छ । महिलाको समस्यामध्ये करिब ४० प्रतिशतमा डिम्बाशयको फोकेरोग अथवा पोलिसिस्टिक रोगका कारण निःसन्तानको समस्याले पीडित हुन्छन् भन्ने कुरा हामीले केही अनुसन्धानमार्फत पुष्टिसमेत गरेका छौँ’, उहाँले थप्नुभयो, ‘त्यसो त सुरुमा महिला मात्रै आउँथे, पुरुष कम आउँथे र महिलामा बढी समस्या छ जस्तो लाग्थो । तर अहिले आएर दम्पतीसँगै आएका केसमा ५०र५० प्रतिशत नै महिला र पुरुषमा निःसन्तान हुने समस्या देखिन थालेको छ ।’

विश्वको तथ्याङ्क हेर्दा सन्तान प्राप्तिका लागि टेष्टट्युब बेबीमार्फत बच्चा जन्माउने दम्पती पनि पछिल्लो समयमा धेरै छन् तर यो उपचार निःसन्तानसम्बन्धी जाँचमार्फत प्रारम्भिक उपचार पद्धतिबाट पूर्ण तवरले असफल पुष्टि भएपछि मात्र अपनाउनुपर्छ । निःसन्तान केन्द्रकी सञ्चालक डा श्रीवास्तवका अनुसार उक्त केन्द्रको उपचार सेवाबाट मात्र आठ हजारभन्दा बढी बच्चा जन्मिएका छन् । यसबाट दम्पतीलाई सन्तान सुख मिलेको छ । तीमध्ये करिब १० प्रतिशत मात्र टेष्टट्युब बेबी छन् । उक्त केन्द्रले विसं २०५९ देखि नै सन्तान नभएका दम्पतीलाई आवश्यक उपचार सेवा प्रदान गर्दै यस प्रक्रियाबाट सन्तान जन्माउन सघाउने काम गर्दै आएको छ ।

तर आमजनताले उक्त प्रक्रियाबाट पनि सन्तान प्राप्त गर्न सक्दैनन् । किनकी उक्त प्रक्रियाबाट सन्तान जन्माउन महँगो पर्छ । एउटा सन्तान जन्माउन करिब रु तीनदेखि चार लाखसम्म खर्च लाग्ने भएकाले सबै नेपाली नागरिक त्यो प्रविधिबाट बच्चा जन्माउन पहुँचमा पुग्न सक्दैनन् । ‘टेष्टट्युब बेबीका लागि हर्मनल सुई महँगो पर्छ, तर ती सुईहरु भारतमा सस्तो पर्छ । त्यस किसिमको उपचार गराउँदा पनि सन्तान प्राप्तिको सफलता धेरै छैन ।

ती हर्मनल सुईहरु किन्न नपर्दा करिब एकडेढ लाखसम्ममा बच्चा जन्माउन सकिन्छ’, उहाँ भन्नुहुन्छ, ‘जर्मनी, स्वीट्जरल्यान्ड बाट ल्याइएको हर्मोन सुईको प्रयोग गर्दा एउटा बच्चा उत्पादन गर्न धेरै महँगो पर्छ ।” अनि त्यति खर्च गरेपछि पनि टेष्टट्युब बेबी प्रक्रियाबाट एक महिनामा नै सफल हुने दम्पती करिब ३० देखि ५० प्रतिशत मात्र हुन्छन् । यसरी असफल भएकालाई पुनः उपचार सुरु गर्नुपर्छ र फेरि त्यति नै खर्च लाग्ने गर्दछ ।’

नेपाल सरकारले निःसन्तानका लागि हर्मनल सुईहरु परिवार नियोजनका साधन जस्तै निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेमा त्यसको खर्च करिब डेढदेखि दुई लाख रुपैयाँमा उक्त प्रविधिबाट बच्चा जन्माउन सकिने उनको भनाइ छ । ‘निःसन्तान हुनुमा पुरुष वा महिलामा के कमजोरी वा रोग छ भनेर अध्ययन गरिसकेपछि पुरुषहरुको विर्यमा शुक्रकिट शून्य भएको अवस्थामा दाताबाट लिनुपर्छ । त्यसैगरी ३५ वर्षमाथिका महिलाको पनि डिम्ब उत्पादन कम भएकालाई दाताबाट डिम्बदान लिनुपर्ने हुन्छ’, डा श्रीवास्तवको भनाइ छ ।

  • ३ फाल्गुन २०८०, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech