के हो नसर्ने रोग ? कारण, जोखिम र यस्ता छन् रोकथामका उपाय

    • स्वास्थ्य पेज

  • २८ माघ २०८०, आईतवार

एक व्यक्तिबाट अर्कोमा प्रायः नसर्ने रोगलाई नसर्ने रोग भनिन्छ । यस्ता रोगहरू शरीरको आन्तरिक प्रक्रियामा गडबडी वा असन्तुलन हुँदा देखा पर्छन् । नसर्ने रोगहरू प्रायः व्यक्तिको जीवनशैली, आनीबानी, व्यवहार, मानसिक असन्तुलन, हार्मोनको असन्तुलन, खानपिन जस्ता विभिन्न कारणले देखा पर्छन् ।

यस्ता रोगहरू कहिलेकाहीं वंशाणुगत कारणले सर्ने गर्छन् । नसर्ने रोगहरू प्रायः दीर्घ (क्रोनिक) प्रकारका हुन्छन् । जस्तै- क्यान्सर, मधुमेह, ग्यास्ट्राइटिस, अम्लपित्त, पत्थरी, उच्च रक्तचाप, मुटुका रोगहरू, मिर्गौलाका रोगहरू, हाडजोर्नी तथा नसासम्बन्धी रोगहरू, बाथ, मानसिक रोगहरू, चोटपटक र दुर्घटनाका कारण हुने अशक्तता आदि नसर्ने रोगका उदाहरण हुन् ।

अहिले संसारमा सर्ने रोगको समस्या कम हुँदै गइरहेको र नसर्ने रोगको व्यापकता तथा जोखिम निरन्तर बढ्दै गइरहेको अवस्था छ । नेपालमा समेत विभिन्न समयमा भएका अध्ययन तथा अनुसन्धानले नसर्ने रोगको व्यापकतासँगै भयावह अवस्था आउन सक्ने चेतावनी दिएका छन् । सबैभन्दा बढी समस्या मुटुसम्बन्धी समस्या वा हृदयघात, दोस्रोमा क्यान्सर, तेस्रोमा श्वासप्रश्वाससम्बन्धी समस्या र चौथोमा मधुमेह रोगको समस्या नेपालका पनि प्रमुख नसर्ने रोगका चुनौती हुन् भनिएको छ ।

नसर्ने रोगका कारण वा जोखिम 

नसर्ने रोग जीवनशैलीगत रोगहरू हुन् । जुन मानिसको लापरवाह खानपान, अस्तव्यस्त जीवनशैली, विकृत मनोवृत्ति र शारीरिक अभ्यासको कमीका कारण हुनेगर्छ । यीबाहेक नसर्ने रोगका मुख्य कारण र जोखिम तत्वहरूलाई यसप्रकार उल्लेख गर्न सकिन्छ ।

-धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन

-मद्यपान सेवन

-अस्वस्थकर जीवनशैली र खानपिनका व्यवहारहरू

-विशेष किसिमका पेशा

-वातावरणीय प्रदूषण

-दबाब वा तनावको सामना

-आनुवंशिक प्रभाव वा गडबडी

नसर्ने रोग रोकथामका तह

कुनै पनि नसर्ने रोगको मुख्य उपचार विधि नै यस्ता रोग उत्पन्न हुन नदिनु वा रोकथाम गर्नु भएकाले नसर्ने रोग रोकथाममा आजैदेखि सबै जना लाग्नु जरुरी छ । यसका लागि विभिन्न रोकथामका उपाय अपनाउनुपर्ने हुन्छ । कुनै पनि रोगको रोकथाम र नियन्त्रणका लागि तल उल्लिखित उपाय अपनाउन सकेमा सकभर रोगको चपेटामा पर्नुपर्ने हुँदैन ।

.  प्राथमिक रोकथामका उपाय

रोग लाग्नुभन्दा अगाडि नै रोग लाग्नबाट बच्ने तरिका नै कुनै पनि रोगको प्राथमिक रोकथाम हो । रोगको सम्भाव्य खतराबाट बच्नका लागि स्वस्थ जीवनयापन गर्नु र स्वस्थकर आनीबानी वा स्वस्थकर जीवनशैली अपनाउँदा कुनै पनि रोग लाग्नबाट प्रायः बाँच्न सकिन्छ ।

प्राथमिक रोकथाम अन्तर्गत निम्न उपाय अपनाएमा कुनै पनि रोग लाग्नबाट बच्न सकिन्छ ।

-स्वस्थकर व्यवहार वा जीवनपद्धति अवलम्बन गर्ने

-पर्याप्त खाना खाएर शक्तिको आपूर्ति गर्ने तर जथाभावी र बढी खाना नखाने

-नियमित शारीरिक अभ्यास वा योग, ध्यान, प्राणायाम गर्ने

-शरीरको उचाइअनुसार उचित तौल नियन्त्रण गरी मोटोपनबाट बच्ने

-धुम्रपान, मद्यपान, लागूपदार्थ तथा विभिन्न अम्मलहरू त्याग्ने

-सबैलाई शिक्षाको अवसर दिने वा व्यवस्थापन गर्ने

-रोजगार तथा स्वस्थकर आवासको व्यवस्था गर्ने

-पर्याप्त स्वास्थ्य सेवा उपलब्ध गराउने

-वातावरणीय तथा पेशागत स्वस्थता कायम गर्ने

-विद्यालयमा विशेष स्वास्थ्य शिक्षा दिने र नियमित विद्यालय स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने

. द्वितीय रोकथामका उपायहरू

प्राथमिक रोकथामका उपाय अपनाउँदा अपनाउँदै पनि यदि रोगले आक्रमण गरिहालेमा रोगलाई सुरुको अवस्थामा पहिचान गरी, रोग जटिल अवस्थामा प्रवेश गर्नुअघि वा अशक्त हुनुअघि नै विशेष उपचार गरी रोग निको बनाउने र निवारण गर्ने प्रक्रियालाई दोस्रो चरणको रोकथाम भनिन्छ ।

यसलाई अर्को तरिकाले प्रष्ट पार्दा यदि कुनै पनि रोगका प्रष्ट चिन्ह र लक्षण देखा नपर्दै विभिन्न परीक्षणका आधारमा वा स्क्रिनिङ गरी रोग पहिचान गरी उपयुक्त उपचार गर्नु दोस्रो तहको रोकथाम हो । जस्तै, समय-समयमा रक्तचाप, रगत सुगर, स्तन परीक्षण, पाठेघर परीक्षण, मिर्गौला तथा मुटुको परीक्षण गर्नु दोस्रो तहको रोकथाम हो ।

. तृतीय रोकथामका उपाय

प्राथमिक तथा द्वितीय तहको रोकथामका प्रक्रिया असफल भई व्यक्तिमा रोग देखापरिसकेको अवस्थामा पूर्णरुपले उपचार गर्ने प्रक्रिया तृतीय रोकथामको उपाय हो । रोगका कारण व्यक्तिको मृत्यु नहोस् र आरामपूर्वक बाँच्न सकोस् भनी यो तहको रोकथाम गरिन्छ ।

नसर्ने तथा दीर्घरोगका लागि सुविधा सम्पन्न अस्पतालमा विशेषज्ञ चिकित्सकको परामर्शअनुसार विभिन्न तरिका अपनाएर वा औषधि उपचारबाट रोग निको बनाउने प्रयास यस तहमा गरिन्छ । यो तहमा पुगिसकेपछि रोगीलाई लामो समय पूर्ण स्वस्थताका साथ बचाउन नसकिने भएकाले प्रथम र द्वितीय तहको रोकथाम नै बढी राम्रो र भरपर्दो हुन्छ ।

  • २८ माघ २०८०, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech