इलेक्ट्रो कार्डियोग्राम (ईसीजी) भनेको मुटुमा हुने विभिन्न गतिविधि र अवस्थालाई विद्युतीय उपकरणको माध्यमबाट ग्राफमा व्यक्त गर्ने अत्यन्तै महत्त्वपूर्ण परीक्षण हो । यसरी ग्राफमा व्यक्त भएको जानकारीबाट मुटुमा देखिएको समस्याको संकेत प्राप्त हुन्छ ।
ईसीजीलाई ‘इकेजी’को नामबाट पनि चिनिन्छ ।
कसरी काम गर्छ ?
सबैभन्दा पहिला बिरामीलाई बेडमा सुताइन्छ । त्यसपछि छातीको अगाडिको देब्रे भागमा केही इलेक्ट्रोडको सहायताले केही तार टाँसिन्छ । त्यस्तै हातको नाडी र खुट्टामा पनि त्यसरी तारहरू टाँसिन्छ ।
त्यसले मुटुमा हुने गतिविधिलाई संकेत गरेर ग्राफमा व्यक्त गर्छ । जसबाट मुटुको धड्कनको समस्या, मुटुको कार्यको अवस्था, मुटुको गतिलगायत मुटुको विविध विषयमा समष्टिगत जानकारी प्राप्त हुन्छ ।
कतिको सुरक्षित छ ?
यो पीडारहित र सुरक्षित परीक्षण माध्यम हो । ईसीजी परीक्षण गराउँदा शरीरलाई हानि गर्ने खालको विकिरण आउँदैन । यो परीक्षण सामान्यतया मध्यम–उमेर र वृद्ध बिरामीका लागि प्रयोग गरिन्छ ।
कहाँ गराउने ? कति लाग्छ खर्च ?
मुटुमा समस्या भएको शंका लागेमा नजिकैको अस्पताल वा स्वास्थ केन्द्रमा ईसीजी गराउन सकिन्छ । यो परीक्षण तालिमप्राप्त सामान्य स्वास्थ्यकर्मी (पारामेडिक्स)ले पनि गर्न सक्छन् र विज्ञले रिपोर्ट हेरेर रोगको पहिचान गर्नुपर्ने हुन्छ । ग्रामीण भेग जहाँ परीक्षण उपकरण छ । तर विज्ञ छैनन् भने त्यस्तोमा परीक्षण गराएको रिपोर्ट विज्ञको राय लिन भाइबर, ह्वाट्सअप जस्ता माध्यमबाट पठाउन सकिन्छ ।
त्यस्तै, परीक्षण शुल्क औसतमा तीनदेखि चार सय रुपैयाँ पर्छ । यद्यपि, अस्पतालअनुसार शुल्कमा केही तलमाथि हुनसक्छ ।
यी अवस्थामा चिकित्सकले इसीजी परीक्षणको लागि सिफारिस गर्न सक्छन् ।
-मुटुको चाल बढ्नु वा कम हुनु ।
-सास फेर्न कठिन हुनु, हिंड्दा स्वाँस्वाँ आइराख्नु र पटक-पटक हिंड्न खोज्दा चक्कर लाग्नु ।
-जन्मबाटै मुटु सम्बन्धित समस्या हुनु वा शंका लाग्नु ।
-मुटुको झिल्ली र मांसपेशीमा समस्या भएको पनि ईसीजी परीक्षणले संकेत गर्छ ।
-छाती दुखिरहेको छ भने प्रारम्भिक हृदयघातको जोखिम पहिचान गर्न पनि ईसीजी गराइन्छ ।
-घाँटीको नसा फुलेको छ, खुट्टा सुन्निएको वा मिर्गौला फेल भएको छ भने पनि मुटुमा सम्भावित जोखिम हुनसक्छ । यस्तोमा पनि ईसीजी परीक्षण गराउनुपर्छ ।
-प्रेसर बढेमा मुटुको तल्लो बायाँ कोठा (लेफ्ट भेन्ट्रिकल) सुन्निएको हुनसक्छ । त्यसैले प्रेसर बढेमा पनि ईसीजी परीक्षण गरिन्छ ।
-मुटुको समस्या भएका, मधुमेह, उच्च कोलेस्टेरोल र उच्च रक्तचाप भए चिकित्सकको सल्लाहमा बेलाबखतमा ईसीजी गराउनु उपयुक्त हुन्छ, ताकि मुटुको समस्याको समयमै कम गर्न सकियोस् ।
-परिवारमा कसैलाई पहिला मुटुरोग देखिसकेको छ भने पनि परिवारको सदस्यले वर्षमा एक पटक ईसीजी परीक्षण गराउनुपर्छ ।
-छाती दुखेर बेहोस भई अन्तिम अवस्थामा अस्पतालको इर्मेजेन्सीमा ल्याइएको बिरामीको पनि तत्काल ईसीजी परीक्षण गरिन्छ । ईसीजीबाट मृत्यु भइसकेको वा नभएको पत्ता लाग्छ ।
ईसीजीपछि के हुन्छ ?
ईसीजी परीक्षणको रिपोर्ट आएपछि चिकित्सकले मुटुको अवस्था हेरेर त्यसको व्याख्या गर्छन् । त्यसमा केही समस्या आएको देखिएमा उपचार प्रक्रिया अगाडि बढाउनुपर्ने हुन्छ । कहिलेकाहीं थप परीक्षण जस्तै- इको, रगत परीक्षण र एन्जियोग्राम (मुटुको रक्तनलीको चित्रण) गर्नुपर्ने अवस्था हुनसक्छ ।
इतिहास
ईसीजी उपकरण सन् १८८७ मा ब्रिटिश फिजियोलोजिस्ट अगस्टस वालरले आविष्कार गरेका हुन् । उनले त्यतिबेला मुटुको गतिविधि रेकर्ड गर्न इलेक्ट्रोमिटरको प्रयोग गरे । जसमा पहिलोपटक मुटुको गतिविधि विद्युतीय माध्यमबाट पत्ता लागेको थियो । जुन चिकित्सा क्षेत्रमा चमत्कार भन्दा कम थिएन ।
केही वर्षपछि उनले र नोबेल पुरस्कार विजेता विल्लेम आईन्डहोभेनले इलेक्ट्रोमिटरलाई थप सुधार गरेपछि यसलाई इलेक्ट्रोकार्डियोग्राम (ईसीजी) नाम दिइयो ।
सन् १९०० को पहिलो दशकमा ईसीजीलाई मुटुको रोग निदानको लागि औपचारिक रुपमा प्रयोग गर्न सुरु गरिएको थियो ।