दाँत दुख्यो भने घरायसी उपचारका लागि सुर्ती र ल्वाङ चपाउने चलन छ यो कति उपयुक्त हो ?

    • स्वास्थ्य पेज

  • १३ माघ २०८०, शनिबार

नेपालमा सबैभन्दा बेवास्ता गरिने भनेको मुखको स्वास्थ्य हो । मुख समस्या भन्ने वित्तिकै दाँत, गिजा आदी । मानिसहरु अन्तिम अवस्थामा नै विशेषज्ञ चिकित्सक कहाँ पुग्ने गरेको चिकित्सकहरु सुनाउँछन् । त्यसैले कम्तीमा पनि हरेक ६–६ महिनामा दाँतको जाँच गराउनु राम्रो हुने चिकित्सकहरुको सुझाव छ । यसै सन्दर्भमा स्वास्थ्य पेजका लागि दन्तरोग विशेषज्ञ डा.प्रतिक श्रेष्ठसँगको कुराकानीः

दाँत तथा गिजालाई स्वस्थ राख्न के गर्नुपर्छ ?
आधारभूत दुईवटा काम भनेको बिहान र राती खाना खाइसकेपछि ब्रस गर्नुपर्छ । कतिपयले कुनै खानेकुरा खाने वित्तिकै दाँत ब्रस गरिहाल्नु हुन्छ । यहाँसम्मकी दैनिक १० पटक सम्म ब्रस गरेका बिरामी समेत हाम्रोमा भिजिट गर्नुभएको छ ।

राम्रोसँग ब्रस कसरी गर्ने र दुई पटक भन्दा धेरै ब्रस गर्दा के हुन्छ ?
ब्रस गर्दा कतिको बल लगाएर गर्दै हुनुहुन्छ त्यसमा भर पर्छ । एकदमै बेस्सरी घोट्दै हुनुहुन्छ भने त्यसले राम्रो गर्दैन । खाना कतै नअड्कियोस् भनेर हल्का ब्रसमात्र घुमाउनु भएको छ भने त्यो ठिक हुन्छ तर पनि दुई पटकभन्दा धेरै दाँत ब्रस नगर्न मेरो सल्लाह छ । १२ घण्टा प्रोटेक्सन र २४ घण्टा प्रोटेक्सन भनेर दुई खालका मन्जनहरू पाइन्छ । यदि १२ घण्टा प्रोटेक्सन भएको मन्जन प्रयोग गर्दै हुनुहुन्छ भने दिनमा दुई पटक र २४ घण्टा प्रोटेक्सन भएको मन्जन प्रयोग गर्दै हुनुहुन्छ भने एकपटक मात्र गर्दा राम्रो हो । तर पनि बिहान र बेलुका खाना खाइसकेपछि दाँत ब्रस गर्नु उपयुक्त हुन्छ ।

ब्रसचाहिँ कस्तो खालको प्रयोग गर्दा दाँत र गिजाका लागि राम्रो हुन्छ ?
ब्रस नरम खालको प्रयोग गर्दा राम्रो हो । नरम पनि सबैको लागि फरक हुन सक्ने हुनाले आफूले दाँत माझ्दा गिजामा दुखाई महसुस नहुने खालको ब्रस प्रयोग गर्नुपर्छ ।

दाँत दुख्यो भने घरायसी उपचारका लागि सुर्ती र ल्वाङ चपाउने चलन छ यो कति उपयुक्त हो ?
हाम्रो समाजमा दिनमा एक–दुईवटा ल्वाङ चपायो भने दुख्न कम हुन्छ भन्ने चलन पनि छ । त्यसले दाँत र गिजालाई पनि स्वस्थ राख्छ । तर नसामार्फत दुखाइ दिमागसम्म तीव्र गतिमा पुग्ने हुनाले दाँत दुखेको बेलामा ल्वाङ चपायो भने त्यो दुखाइ दिमागमा ढिलो पुग्ने हुनाले ल्वाङको प्रसङ्ग जोडिने गरेको छ । तर, ल्वाङको तेल वा ल्वाङ आफैले पनि दुखाई कम गर्ने भने होइन । त्यसैले चिकित्सकलाई नदेखाई त्यसको प्रयोग नगर्न सुझाव दिन्छु । यदि दाँत दुखेको छ भने डाक्टरसँग परामर्श गर्नु नै राम्रो हुन्छ ।

दाँतमा किरा लाग्ने कारणहरू चाहिँ के–के हुन् ?
किरा लाग्ने मुख्य कारण भनेको हामीले दाँतमा भएको हानिकारक ब्याक्टेरियाहरूलाई बस्ने ठाउँ दिएर हो । हामीले खाने खाना ब्याक्टेरियाहरूको बस्ने ठाउँ हो । हामीले ब्रस गर्दा पनि कुनै कुनै ठाउँमा खाना अड्किरहेको हुन्छ र त्यही ठाउँमा ब्याक्टेरियाहरू बस्छन् । किराले त्यो खाना आफू खान्छ र उनीहरूको उपउत्पादनहरू एकदम एसिडिक हुन्छ जसले दाँतलाई गलाउँदै जान्छ र त्यो ठाउँ किरा लागेको जस्तो देखिन्छ ।

मानिसहरूले दाँत सफा गर्न डेन्टल वा डेन्टिस्ट कहाँ नै आउनुपर्ने अवस्था चाहिँ कुन बेला हो ?
सकेसम्म ६–६ महिनामा डाक्टरकोमा आएर चेकअप गराउनु सबैभन्दा राम्रो हो । आफूले जति राम्ररी सफा गरे पनि पुरै दाँत सफा गर्न सम्भव हुँदैन । फोहोरहरू जमेर बसेको हुन्छ । त्यो सफा गर्न भए पनि डेन्टिस्ट कहाँ आउनु पर्छ । अर्को उमेर अनुसार गिजामा पनि समस्या आउने हुन्छ । कोही महिला गर्भवती हुनुहुन्छ भने ‘हर्मोनल चेन्ज’ले गर्दा गिजामा समस्या आउँछ । त्यसैले ६र६ महिनामा डाक्टरकोमा आएर चेकअप गराउनु राम्रो हुन्छ ।

अन्त्यमा के भन्न चाहानुहुन्छ ?
हरेक ६–६ महिनामा दाँतको चेकअप गराउनु राम्रो हुन्छ । दाँत दुखेको छैन भन्दैमा दाँतमा समस्या नै छैन भन्ने हुँदैन । दाँत दुख्यो भने त दाँत बचाउने अन्तिम अवस्थामा पुगिसक्नुभएको हुन्छ । दाँत धेरै नै दुखेर फेरि दुख्नै छोड्यो भने दाँतको नशा नै मरिसकेको हुन्छ । मानिसले सामान्य आँखाले देख्न नसक्ने कुरा डाक्टरले देखेको हुन्छ, त्यसैले समय समयमा चेकअप गराइरहनु राम्रो हुन्छ ।

(दन्त रोग विशेषज्ञ डा. प्रतिक श्रेष्ठ गणपति डेन्टल क्लिनिक नेपालगन्जमा कार्यरत हुनुहुन्छ)

  • १३ माघ २०८०, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech