इन्जिनियरको मोह त्यागेर आमाको चाहनामा डाक्टर बन्नुभएका हमाल

    • प्रियास्मृति ढकाल

  • ५ माघ २०८०, शुक्रबार

नेपालगन्जः मिर्गौलाको समस्या प्रायः मधुमेह र उच्च रक्तचापका कारण देखिन्छ । त्यसैले यस्तो दीर्घकालीन स्वास्थ्य समस्यालाई नियन्त्रणमा राखेर मिर्गौलालाई स्वस्थ राख्न सकिन्छ । जथाभावी पेनकिलर तथा औषधि खाँदा मिर्गौलामा समस्या आउन सक्छ । त्यसैले जथाभावी औषधि नखाएर पनि मिर्गौला स्वास्थ राख्न सकिन्छ । कुनै वंशाणुगत रोगको जोखिम छ भने त्यसलाई पहिचान गर्ने मिर्गौलामा हुने नेफ्राइटिस, मिर्गौला संक्रमण र पत्थरी भएमा, प्रोस्टेटको समस्या भएर पिसाब रोकिने समस्या भएमा तुरुन्त उपचार गर्नुपर्छ । मिर्गौला स्वस्थ राख्न स्वस्थ जीवनयापन जरुरी हुन्छ ।

यसको लागि सही खानपान, सही दिनचर्या, सही मानसिक स्थिति हुनुपर्छ । ताजा, पोषिलो र सन्तुलित खाना खाने, नियमित व्यायाम गर्ने, योग गर्ने गर्नुपर्छ । ‘कम्तिमा प्रत्येक ६ महिनामा एकपटक स्वास्थ्य परिक्षण गराउने, अनुशासित जीवन बिताउने, सन्तुलित स्वास्थ्य आहार खाने, नियमित व्यायाम गर्ने र जाँड, रक्सी, चुरोट, बिँडीजस्ता सुर्तिजन्य पदार्थ सेवनबाट टाढै बस्ने हो भने मिर्गौलालाई धेरै हदसम्म सुरक्षित गर्न सकिन्छ’ भेरी अस्पतालका मिर्गौला रोग विशेषज्ञ डा. सौरभसिंह हमालले भने । केही व्यक्तिमा विभिन्न कारणले दीर्घकालीन रूपमा मिर्गौला खराब हुन्छ भने कसैमा भने एक्कासि मिर्गौला खराब हुन सक्छ ।

मिर्गौलाको समस्या देखा परेमा कुन अवस्थामा छ भनेर विशेषज्ञ चिकित्सकबाट चेकजाँच गर्नुपर्ने मिर्गौला रोग विशेषज्ञ डा. हमाल बताउनुहुन्छ । ‘मिर्गौलाको समस्या सुरुकै अवस्थामा पत्ता लाग्यो भने औषधि खाएर नै ठीक हुन्छ । खराब हुँदै गएको मिर्गौलालाई पहिचान गरेर उपचार गरिएन भने हरेक वर्ष १० प्रतिशतले बिग्रिंदै जान्छ । तर उपचार गरियो भने बिग्रिने क्रमलाई घटाएर दुईदेखि तीन प्रतिशतमा झार्न सकिन्छ’ डा. हमालको भनाइ छ ।

मिर्गौला खराब हुँदा पाँच चरण हुन्छन् । चौथो चरणसम्मका बिरामीलाई औषधिले नै ठीक हुन्छ । पहिलो चरणमा छ भने दोस्रोमा जान नदिने दोस्रोमा भए तेस्रोमा जान नदिने गर्दै औषधिले रोक्दै रोक्दै जान्छ । त्यसपछि औषधि नियमित खानुपर्छ । तर अन्तिम अर्थात् पाँचौं चरणमा भने डायलाइसिस र मिर्गौला प्रत्यारोपण मात्र विकल्प हुन्छ । थकाइ र कमजोरी महशुस हुनु, राती बढी पिसाब लाग्नु, हात गोडा सुन्निनु, महिनावारी गडबडी, निदाउन कठिनाइ पर्नु, आँखा वरीपरी सुन्निनु, मांसपेशी बाउँडिनु लगायतका लक्षण देखिएपछि मिर्गौलामा समस्या भयो की भनेर बुझ्नु पर्ने डा. हमालको भनाइ छ ।

को हुनुहुन्छ डा. सौरभ सिंह हमाल ?

वि.स २०४२ सालमा जन्मिनुभएका डा.सौरभ सिंह हमाल नेपालगन्ज निवासी हुनुहुन्छ । वि.स २०५८ सालमा मोडेन पब्लिकबाट उत्कृष्ट अंक लिएर एसएलसी गर्नुभएका उहाँले प्लस टु भने काठमाडौंबाट गर्नुभयो । वि.स २०६१ सालमा प्लस टु गरेपछि उहाँले नेपालगन्ज मेडिकल कलेजबाट वि.स २०६९ सालमा एमबीबीएस पूरा गर्नुभयो । एमबीबीएस सकेपछि करिव डेढ वर्ष मेडिकल कलेज कोहलपुरमा काम गर्नुभयो । केही समय उहाँले अन्नपूर्ण न्यूरो अस्पतालमा पनि सेवा गर्नुभयो । नेपाल मेडिकल कलेज जोरपाटी काठमाडौंमा वि.स २०७२ मा एमडी अध्ययनका लागि भर्ना हुनुभयो ।

वि.स २०७५ मा एमडी पूरा गरेपछि उहाँले करिव १५ महिना नेपाल मेडिकल कलेजमै काम गर्नुभयो । त्यसैक्रममा उहाँको डिएममा नाम निस्कियो । टिचिङ हस्पिटलबाट डिएम पूरा गरेपछि गत साउनमा भेरी अस्पताल नेपालगन्जमा आउनुभएको हो । बुटवल पश्चिममा उहाँ एक्लो मिर्गौला रोग विशेषज्ञ हुनुहुन्छ । डा. सौरभको चाहना इन्जिनियर बन्ने थियो । तर आमा अरुणालाई छोरा डाक्टर बनाउने चाहना थियो । अध्ययनमा सधैं प्रथम हुने भएकाले पनि स्वभाविकरुपमा आमा अरुणालाई छोरो डाक्टर बनेको हेर्न मन लाग्यो । अनि सौरभले पनि आमाको आग्रह टार्न सक्नु भएन् ।

त्यतिबेला आमा शिक्षण पेशामा संलग्न हुनुहुन्थ्यो । ‘इन्जिनियर बन्ने आफ्नो चाहना आमाका कारण डाक्टरमा रुपान्तरण बन्यो उहाँ भन्नुहुन्छ–‘तर म सन्तुष्ट छु ।’ बुवा भोला सिंह हमाल । बाँकेमा चलेका अधिबक्ता । दाई शक्ति पनि लयर्स । तर आमाको चाहनाले डाक्टर बन्नु भएका सौरभ अव नेपालगन्जमै बसेर यसक्षेत्रका मिर्गौलाका बिरामीको सेवा दिने प्रण गर्नुभएको छ ।

‘आफ्नै ठाउँमा बसेर बिरामीलाई सेवा गर्ने अठोटका साथ गृहनगर फर्किएको हुँ नेपालगन्जका एक्ला मिर्गौला रोग विशेषज्ञ डा. हमाल भन्नुहुन्छ–‘कम्तिमा यहाँका बिरामीलाई उपचारका लागि भारत वा काठमाडौं जान नपरोस् ।’ नेपालगन्जमा मात्र हैन नेपालमै मिर्गौला रोग विशेषज्ञको अभाव छ । मेडिकल काउन्सिलमा दर्ता भएका मिर्गौला रोग विशेषज्ञको संख्या ७५ को हाराहारीमा छ ।

(पश्चिम नेपालका एक्ला मिर्गौला रोग विशेषज्ञ डा.सौरभ हमाल भेरी अस्पताल नेपालगन्जसँगै एबी नेफ्रोलोजी तथा पेडियाट्रिक क्लिनिकमा कार्यरत हुनुहुन्छ)

 

  • ५ माघ २०८०, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech