लुम्विनी प्रदेश सरकारद्धारा सिकलसेलका बिरामीको निःशुल्क बीमा कार्यक्रम सुरु

सिकलसेलका बिरामीलाई उपचारमा थोरै भएपनि राहात होस् भन्ने उद्देश्यका साथ चालू आर्थिक वर्षदेखि प्रदेश सरकारले सिकलसेल, थालेसिमिया र हेमोफिलियाका बिरामीहरुका परिवारलाई निःशुल्क बीमा कार्यक्रममा जोड्न सुरु गरेको स्वास्थ्य मन्त्री खनालले बताउनुभयो ।


    • प्रियास्मृति ढकाल

  • २५ पुष २०८०, बुधबार

राप्तीसोनारी: लुम्विनी प्रदेश सरकारले सिकलसेल एनिमिया, बिटा थालेसिमिया र हेमोफिलियाका बिरामीहरुका परिवारलाई निःशुल्क बीमा कार्यक्रम सुरु गरेको छ । प्रदेश सरकारले बाँकेको राप्तीसोनारी गाउँपालिका–४ बैजापुरबाट निःशुल्क बीमा कार्यक्रम सुरु गरेको हो । लुम्विनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनाल र सहरी विकास मन्त्री कृष्णा केसीले राप्तीसोनारी गाउँपालिका–३ का आरुस थारुलाई बीमा कार्ड हस्तान्तरण गर्दै बीमा कार्यक्रमको सुरुवात गर्नुभएको हो ।

सिकलसेलका बिरामीलाई उपचारमा थोरै भएपनि राहात होस् भन्ने उद्देश्यका साथ चालू आर्थिक वर्षदेखि प्रदेश सरकारले सिकलसेल, थालेसिमिया र हेमोफिलियाका बिरामीहरुका परिवारलाई निःशुल्क बीमा कार्यक्रममा जोड्न सुरु गरेको स्वास्थ्य मन्त्री खनालले बताउनुभयो । उहाँले स्वास्थ्यमा सहज पहुँच स्थापित गर्न वीमा कार्यक्रममा सबैलाई जोड्न आवश्यक रहेको पनि बताउनुभयो । ‘विपन्न तथा गरिव परिवारलाई बीमा कार्यक्रममा समेट्न झनै आवश्यक छ उहाँले भन्नुभयो–‘नत्र उपचार अभावमै ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना हुन सक्छ ।’

उहाँले थारुबाहुल जिल्लाहरुमा वंशाणुगत सिकलसेल र थालेसिमिया रोगको अवस्था जटिल जनस्वास्थ्य समस्या भएकाले यसको नियन्त्रणका लागि प्रदेश सरकारले जनचेतनामुलक कार्यक्रमलाई पनि प्रभावकारी ढंगबाट लैजाने प्रतिबद्धता जनाउनुभयो । सिकलसेलका बिरामीको उपचारका लागि बर्दियामा सिकलसेल अस्पताल निर्माणाधिन अवस्थामा रहेकाले त्यसलाई प्रदेश सरकारको मातहतमा रहने गरी संचालन गरिने बताउनुभयो । उहाँले उक्त अस्पतालका लागि प्रदेश सरकारले ३० लाख बजेट विनियोजन गरेको पनि जानकारी दिनुभयो ।

सहरी विकास मन्त्री कृष्णा केसीले सिकलसेल तथा थालेसिमियाका परिवारलाई आर्थिक आर्यआर्जनसँग जोड्न आवश्यक रहेको बताउनुभयो । रोगबाट पीडित परिवारलाई उनीहरुको आयआर्जनमा टेवा पुग्ने खालका कार्यक्रमहरु प्रदेश सरकारले ल्याउन आवश्यक रहेको औल्याउनुभयो । आफ्नै निर्वाचन क्षेत्रबाट बीमा कार्यक्रम सुरु गरिएकोप्रति खुसी व्यक्त गर्नुभएकी मन्त्री केसीले यसलाई प्रभावकारी र अझै व्यवस्थित बनाएर लैजानु पर्ने सुझाव दिनुभयो ।

लुम्विनी प्रदेशसभा सदस्य सञ्जु कुमारी थारुले सिकलसेल तथा थालेसिमिया बिरामीलाई उपचार र बीमासँगै आर्थिक आयआर्जनका कार्यक्रमसँग जोड्ने गरी योजना ल्याउन मन्त्री खनालको ध्यानाकर्षण गराउनुभयो । उहाँले सिकलसेलका बिरामीलाई आजिवन उपचारको व्यवस्था सरकारले गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । राप्तीसोनारीमा ३३ जना सिकलसेलका बिरामीको बीमा गरिएको छ । राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले सिकलसेल तथा थालेसिमिया रोग नियन्त्रणका लागि गाउँपालिकाले रोगीको पहिचान गर्ने र चेतना जगाउने काम गरिरहेको जानकारी दिनुभयो ।

७० हजार जनसंख्या रहेको राप्तीसोनारीमा ३५ हजारको संख्यामा थारु समुदाय हाराहारी रहेकाले उनीहरु सबैको स्क्रिनिङ गरेर रोगीको पहिचान गर्ने अभियानमा पालिका रहेको पनि अध्यक्ष पौडेलको भनाइ छ । उहाँले सिकलसेल जाँचका लागि आवश्यक पर्ने केमिकल महंगो पर्ने भएकाले त्यसका लागि प्रदेश सरकारसँग सहयोगको आग्रह पनि गर्नुभयो । वीमा सुभारम्भ कार्यक्रममा लुम्विनी प्रदेशसभा सदस्य माया पुन, मीना सिद्दिकी, सुशिला नेपाली, गाउँपालिकाका उपाध्यक्ष मनिषासिंह थारु, भेरी अस्प्ताल विकास समितिका अध्यक्ष वीरेन्द्र बहादुर शाह, स्वास्थ्य मन्त्रालयका सचिव डा.जनार्धन पन्थी, स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेशबाबु श्रेष्ठ, राप्तीसोनारी र नरैनापुरका जनप्रतिनिधि लगायतका सहभागिता रहेको कार्यक्रमको संचालन पालिकाका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले गर्नुभएको राप्तीसोनारी गाउँपालिकाका प्रवक्ता मीनराज खड्काले जानकारी दिनुभयो ।

प्रदेशका ६ जिल्ला बाँके, बर्दिया, दाङ, परासी, कपिलवस्तु र रुपन्देहीमा ३ हजार ३ सय देखि चार हजारको हाराहारीमा सिकलसेलका रोगी पुष्टि भएका छन् । ती मध्ये कतिपयलाई स्थानीय सरकारले आफै बीमा गरिदिएको छ । बीमा कार्यक्रममा नसमेटिएका लक्षित वर्गलाई प्रदेश सरकारले वीमा गर्ने नीति लिएको लुम्विनी प्रदेशका स्वास्थ्य निर्देशक डा.विनोद गिरीले जानकारी दिनुभयो ।

३ हजार ५ सय रुपैयाँको वीमा गरेवाफत उनीहरुका ५ जना परिवारले एक लाख रुपैयाँसम्मको उपचार सुविधा पाउनेछन् । सिकलसेल रोगीलाई भने संघीय सरकारले नै उपचार खर्च एक लाख दिँदै आएको छ । सिकलसेलका बिरामीले आजिवन औषधि खानु पर्ने भएकाले यो रकम अपुग हुने गरेको पीडितहरु बताउँछन् ।

  • २५ पुष २०८०, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech