थालेसिमियाका बिरामीलाई तीन शैयाको ‘डेकेयर’ सेवा सुरु

    • स्वास्थ्य पेज

  • २४ पुष २०८०, मंगलवार

नेपालगन्जः भरतपुर अस्पतालमा थालेसिमियाका बिरामीलाई लक्षित गरी ‘डेकेयर’ सेवा सुरु गरिएको छ । थालेसिमियाका बिरामीलाई समय समयमा रगत चढाउनुपर्ने भएपछि डेकेयर सेवा सुरु गरिएको अस्पतालले जनाएको छ । हाललाई तीन शय्याको छुट्टै डेकेयर सुरु गरिएको छ । भर्ना गरेर उपचार गर्नुपर्ने बिरामीलाई वार्डमै भर्ना गरिने अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा श्रीराम तिवारीले जानकारी दिनुभयो ।

अस्पतालका बाल रोग विशेषज्ञ डा नारायणबहादुर थापाले डेकेयरमा रगत चढाइ सकेपछि कतिपयलाई शरीरमा आइरन बढेर पुनःआइरन घटाउन औषधि दिनुपर्ने बताउनुभयो। आइरन घटाउने औषधि काठमाडौँको कान्ति बाल अस्पतालमा मात्रै निःशुल्करुपमा पाइने भएकाले कतिपय बिरामी काठमाडौँ नै जाने गरेको पनि उहाँले बताउनुभयो ।

थालेसिमिया वंशाणुगत रुपमा एउटा पिँढीबाट अर्को पिँढीमा सर्ने रोग भएकोले आमा वा बुबा वा दुवैमा थालेसिमिया भएमा बच्चालाई हुने सम्भावना धेरै हुने डा थापाको भनाइ छ । यो रोगका कारण शरीरमा हेमोग्लोविन (रातो रक्त कोषिका) निर्माण हुन समस्या हुने र निर्माण भएको कोशिका पनि लामो समय रहँदैन । जसले गर्दा बिरामीलाई बारम्बार रगत चढाउनुपर्ने अवस्था आउँने डा थापाले भन्नुभयो ।

थालेसिमिया खासगरी बालबालिकालाई लाग्ने गर्छ । यो रोग लागेपछि नियमित रगत नचढाए बालबालिकाको ज्यानै जान सक्छ । जन्मेको दुईदेखि तीन महिनामा यो रोग देखापर्ने उहाँले बताउनुभयो। डा थापाले भन्नुभयो-‘बच्चा फुस्रो हुँदै गयो, जण्डिस जस्तो देखियो भने शङ्का गरेर परीक्षण गर्नुपर्छ । परीक्षणका क्रममा रगतमा हेमोग्लोबिन कम हुन्छ ।’

  • २४ पुष २०८०, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech