डाक्टर केसीसहित नौं जना पक्राउ

    • स्वास्थ्य पेज

  • २१ पुष २०८०, शनिबार

नेपालगन्जः डाक्टर गोविन्द केसीसहित नौं जनालाई प्रहरीले पक्राउ गरेको छ । निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै डा केसी, प्रेम चलाउने, पवन थापा, पुकार बमसहित नौ जना प्रदर्शनकारीलाई काठमाडौंको माइतीघरबाट पक्राउ गरेर महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको प्रहरीले जनाएको छ ।

देशमा दण्डहीनता बढेको, द्वन्द्वकालका पीडितलाई झनै पीडित बनाउने तयारी भएको, विश्वविद्यालयहरुमा राजनीतिक भागभण्डा भइरहेको लगायतका घटनाको विरोधमा उनीहरु प्रदर्शनको लागि माइतीघरमा पुगेका थिए ।

आज बिहान विज्ञप्ति निकालेर डा केसीले सत्ताले विरोधीको मुख थुन्नको लागि निषेधित क्षेत्र तोकेको भन्दै माइतीघरको निषेधित क्षेत्र तोड्न आग्रह गर्नुभएको थियो । यसअघि सरकारले गएको मंसिर ५ गते माइतीघर–बानेश्वरलगायत काठमाडौंका विभिन्न क्षेत्रमा सभा, जुलुस, प्रदर्शनलगायतका गतिविधि गर्न रोक लगाएको थियो । केसीले चिकित्सा शिक्षा आयोगका निर्देशकहरुको नियुक्ति अदालतबाट रोकिएकोमा तत्काल अदालतले नै बाटो खोलेर नियुक्ति अघि बढाउन माग गर्नुभएको छ ।

उहाँले कैलालीको गेटामा तत्काल स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा ल्याउन र चिकित्सा शिक्षा ऐनमा उल्लेख भए अनुसार सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज खोल्न पनि माग गर्नुभएको छ ।

  • २१ पुष २०८०, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech