नर्सिङ निरीक्षक थापालाई ‘इन्टेग्रीटी आइकन–२०२३’

    • स्वास्थ्य पेज

  • १८ पुष २०८०, बुधबार

अकाउन्टबिलिटी ल्याब नेपालले इन्टेग्रीटी आईकन नेपाल २०२३ सार्वजनिक गरेको छ। नारायणी अस्पताल, वीरगञ्जकी नर्सिङ निरीक्षक हेमा थापा पनि इन्टेग्रीटी आइकन २०२३ का लागि छनोट हुनु भएको छ । यस वर्ष इन्टेग्रीटी आईकनका लागि देशभरीबाट ४६६ मनोनयन प्राप्त भएका थिए। प्राप्त मनोनयनहरूबाट निर्णयक समितिले यस वर्षका पाँच जना इन्टेग्रीटी आईकन छनोट गरेको थियो।

को हुनुहुन्छ हेमा ?
हेमा थापाका बुवा पनि सरकारी सेवामै हुनुहुन्थ्यो। उहाँ जताजता सरुवा हुँदै जानुभयो, हेमाको पढाइ पनि उतैउतै भयो। छोटो समयका लागि बनेका साथी छोटो समयमै छुट्टीँदै गए। त्यसैले पनि उहाँका बाल्यकालका साथी धेरै भएनन्। घुम्दै जाँदा एउटा ठाउँको साथी छुट्ने र अर्को ठाउँको नयाँ साथी बन्ने। पढाईमा उहाँका दाई र दिदि अब्बल हुनुहुन्थ्यो भने, उहाँ सामान्य विद्यार्थी मात्र हुनुहुन्थ्यो। तर पनि उहाँका आमा बुवाको चाहना छोरीले डाक्टर वा इन्जिनियर पढोस् भन्ने थियो। हेमालाई भने स्टाफ नर्स पढ्न मन थियो। पारिवारमा कोही पनि नर्सिङ क्षेत्रमा नभएको र राती ड्युटी पर्ने काम छोरीले गर्नु नपरोस् भनेर उहाँका आमा‑बुबाले उहाँलाई नर्सिङ पढ्न दिइरहनु भएको थिएन । उहाँका दाईले भने बहिनीको सेवा भाव बुझनु भएको थियो। दाईले नै आमाबुबालाई मनाउनुभयो र हेमाले नर्सिङ पढ्न थाल्नुभयो ।

छोटो समयमै एनआइसीयूको स्तरोन्नति
हेमा थापा २०५२ सालदेखि नै नर्सको रुपमा वीरगञ्ज अस्पतालमा काम गर्दै आइरहनु भएको छ। उहाँ आफ्नो सुरुवाती सेवाकालदेखि नै इमान्दार कर्मचारीको रुपमा चिनिनुहुन्छ। उहाँको कामको मुल्यांकन गर्दै २०७४ सालमा उहाँलाई एनआइसीयूको इन्चार्ज बनाइयो। त्यहाँ पनि उहाँले आफ्नो क्षमतालाई प्रमाणित गर्नुभयो। उहाँले सरकारी मापदण्द पूरा हुने गरि २ वर्षमा अक्सिजन पाइपलाइनदेखि लिएर कंगारु आमा हेरचाह इकाईसम्म स्थापना गराएर एनआइसीयूमा हुनुपर्ने सबै मापदण्ड पूरा गर्नुभयो। एनआइसीयू विभाग पाँच बेडबाट स्तरोन्नति भएर दश बेडको भयो।

सात महिनामै मापदण्ड पुरा गरेर अधिकतम मुद्दा व्यवस्थापन गर्न सफल
२०७८ साल माघ महिनादेखि हेमा एकद्वार संकट व्यवस्थापन केन्द्रको फोकल पर्सनको रुपमा पनि काम गरिरहनु भएको छ। एकद्वार संकट व्यवस्थापन केन्द्रलाई व्यवस्थित रूपमा कार्यान्वयन गर्न उहाँले पहिले आफैले तालिम लिनुभयो। सञ्चालन कार्यविधि र मापदण्ड तयार गर्नुभयो। आफू मातहतका कर्मचारीलाई पनि सिकाउँदै जानुभयो। एउटा साँघुरो कोठामा सिमित, नाम मात्रको केन्द्रलाई चलायमान बनाउनुभयो। उहाँले नेतृत्व लिएको ७ महिनामा वीरगञ्ज अस्पताल स्थित एकद्वार संकट व्यवस्थापन केन्द्रले पुरा गर्नुपर्ने सरकारले तोकेको मापदण्ड पुरा गर्‍यो। एकद्वार संकट व्यवस्थापन केन्द्रमा प्राय महिला हिंसाका घटनाहरू बढी आउँछन्। ति घटनाको तत्कालिन समाधानका लागि हेमाले नियम कानूनको मद्दत र घटनाको अवस्था हेरेर कदम चाल्ने गर्नुभएको छ। तर, मानसिक आघात पुगेकाहरूलाई मनोसामाजिक परामर्श आवश्यक हुन्छ भन्ने बुझेपछि ६ महिनाको मनोसमाजिक परामर्शको प्रशिक्षण लिनुभयो र आवश्यक परेका पीडितहरूलाई परामर्श दिन थाल्नुभयो। यसले एकद्वार संकट व्यवस्थापन केन्द्रप्रति सेवाग्राहीको विश्वास बढ्न थाल्यो। थोरै समयमा नै सरकारको मापदण्ड अनुसार सबै कुरा भएको र अधिक्तम मुद्दाहरूको व्यवस्थापन गर्न सफल भएकै कारण ७ महिना भित्र अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्रले प्रसंशापत्र पनि पायो।

कोभिड हिरो
कोभिडको समयमा उहाँ दिनरात अस्पतालमै हुनुहुन्थ्यो सबै जना आफ्नो काम सकेर घर फर्किदा पनि उहाँ अस्पतालमै हुनुहुन्थ्यो। उहाँलाई साच्चिकै अप्ठेरोमा परेको बिरामी आउँदा कसले हेर्छ भन्ने चिन्ता हुन्थ्यो। आफन्तले उहाँको जिम्मेवारीलाई जिद्दी ठान्नु भएको थियो। तर परिवारले सधै साथ दियो। श्रीमान उहाँले ड्युटी जानुपर्छ भन्दा पुर्‍याउन तयार हुनुहुन्थ्यो। आमाले दिनमा पाँच पटक फोन गर्नुहुन्थ्यो। कुरा नगरे पनि एक पटक अनुहार देखा भन्नुहुन्थ्यो। परिवारको सहयोगले हेमालाई थप हौसला दियो। उहाँलाई आफ्नो ज्यान भन्दा पनि जिम्मेवारी प्रतिको बफादारिता महत्वपुर्ण लाग्यो। कोभिड विरुद्धको पहिलो सुई कसैले लिन मानेका थिएनन्। यसमा पनि हेमा नै अगाडी सर्नुभयो। धेरैले त उहाँलाई आत्महत्या गर्न जानथालि भने। उहाँलाई कसले के भन्छ भन्नेमा कहिल्यै पर्वाह भएन। पाएको जिम्मेवारी ईमानदारिता पुर्वक पुरा गर्न सक्छु या सक्दिन भन्नेमा बढी चिन्ता भयो।

सुत्केरीको सालनालबाट बायोग्याँस
हेमा थापा सरकारले दिने ६ महिने पर्यवेक्षक प्रशिक्षण कार्यक्रममा सहभागी हुनु भएको थियो । प्रशिक्षण कार्यक्रम अन्तर्गत उहाँले एउटा परियोजना गर्नुपर्ने थियो। नारायणी अस्पतालमा महिनामा ९०० जना जति सुत्केरी हुने गर्दछन्। त्यसबाट जम्मा हुने सालनालको गन्धले अस्पताल परिसरलाई दुर्गन्धित बनाएको थियो। त्यसको व्यवस्थापन के होला भनेर उहाँले सोचिरहनु भएको थियो। उहाँले त्यसको व्यवस्थापनका लागि सालनालबाट चल्ने बायो ग्याँस बनाउने परियोजना अस्पतालका मेसुलाई सुनाउनुभयो। मेसुलाई पनि उनको परियोजना मन पर्‍यो। परियोजना कार्यान्वयन भयो। बस्ति प्रदुषणबाट जोगियो। उत्पादित ग्याँस सदुपयोग भयो।

बोल्न नसक्नेको आवाज अनि असहायको सहारा
जो बोल्न सक्दैनन्, जसको अस्पतालमा पहुँच हुँदैन, जो अस्पतालमा उपचारका लागि आउँछन् तर बेवारिसे जस्तै हुन्छन्। उनीहरूको सहारा हेमा थापा भइदिनुहुन्छ। सुरुमा उनीहरूलाई प्राथामिक उपचार दिएर निको पार्नुहुन्छ। आफन्त भए आफन्त खोजेर जिम्मा लगाउनुहुन्छ। नभए वीरगञ्ज स्थित मानव सेवा आश्रमको जिम्मा लगाइदिन्छिन्। ४ वर्ष अगाडि अस्पताल नजिकै भेटिएकी एक जना बेवारिसे आमालाई उपचार पश्चात मानव सेवा आश्रममा लिएर गएकी थिइन्। त्यस पश्चात बेवारिसे थुप्रै महिला पुरुषलाई उहाँले उपचार गरेर मानव सेवा आश्रमको जिम्मा लगाएउनुभएको छ र त्यहाँ भएका थुप्रै बृद्ध बृद्धालाई उपचारका लागि सहजीकरण गर्नुभएको छ। मानव सेवा आश्रामका दिवस मानवसेवाका अनुसार हेमा घडी हेरेर ड्युटी गर्ने कर्मचारीमा पर्दैनन्। दिवस आफैपनि नर्सिंङ पढ्ने विद्यार्थीलाई तालिम दिन कलेज गइरहन्छन्। त्यहाँ आउने धेरै जसो विद्यार्थीले हेमा दिदिजस्तो मान्छे नर्सिंङ क्षेत्रमा भएको देखेर म पनि नर्सिंङ पढ्न आए भनेको सुनेका छन्।त्यसैले पनि दिवसले भेटेका थोरै सम्मानित व्यक्तिमा हेमा पर्नुहुन्छ ।

  • १८ पुष २०८०, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech