रहरै रहरमा डाक्टर बनेका पश्चिम नेपालका एक्ला ग्यास्ट्रो तथा हेपाटोविलियरी सर्जन नेपालगन्जमा

    • प्रियास्मृति ढकाल

  • १४ पुष २०८०, शनिबार

पेटका समस्या भएका बिरामीको जटिल खालका शल्यक्रियाहरु नेपालगन्जमा हुन थालेका छन् । ग्यास्ट्रो तथा हेपाटोविलियरी सर्जन डा.कृष्ण मोहन अधिकारी नेपालगन्जमा भित्रिएसँगै जटिल खालका शल्यक्रियाहरु हुन थालेपछि बिरामीहरुलाई राहात महसुस हुन थालेको छ । नेपालगन्जमा पेट सम्वन्धी विशेषज्ञ चिकित्सक अभावमा बिरामीहरु भारतको लखनउ र काठमाण्डौं जान बाध्य थिए । करिव दुई महिना अघि भेरी अस्पतालमा आउनुभएका डा. अधिकारीले भेरीसँगै कान्ति आरोग्य हस्पिटलबाट समेत सेवा दिन थाल्नुभएको छ ।

डा.अधिकारी चितवन पश्चिम लुम्विनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकमात्र ग्यास्ट्रो तथा हेपाटोविलियरी सर्जन हुनुहुन्छ । डेढ वर्ष अघि ग्यास्ट्रो सर्जन डा.ध्रुव नारायण शाहको भेरी अस्पतालबाट सरुवा भएपछि पेट सम्वन्धी बिरामीहरुले नेपालगन्जमा विशेष चिकित्सक पाउन सकेका थिएनन् । डा.अधिकारी आएसँगै भेरी अस्पतालमा जटिल खालका आधादर्जन बढी शल्यक्रिया भइसकेका छन् भने कान्ति आरोग्मा पनि ३÷४ वटा जटिलखालका शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको डा. अधिकारीले बताउनुभयो । ठूलो आन्द्राको क्यान्सर, पित्तथैलीको क्यान्सर पेटमा फैलिएको, मलद्धार बाहिर खसेको जस्ता जटिल खालका शल्यक्रिया सफलतापूर्वक गरिएको डा.अधिकारी बताउनुहुन्छ ।

‘पेट सम्बन्धी समस्या भएका बिरामीलाई अव काठमाडौं र लखनउ जानु पर्दैन उहाँले भन्नुभयो–‘हाम्रो स्रोतसाधनले थेग्न सक्ने र बिरामीको अवस्था समेतलाई हेरेर नेपालगन्जमै उपचार सम्भव छ ।’ सिकलसेल क्राइसिस भएका बिरामीको समेत सफलतापूर्वक शल्यक्रिया गरिएको उहाँको भनाइ छ । अस्वस्थ खानपिन, फेरिदोजीवनशैली लगायतका कारण पछिल्लो समय पेट सम्वन्धी समस्या भएका बिरामीको संख्या समेत बढ्दै गएको उहाँको भनाइ छ ।

उहाँले समस्या देखिए विशेषज्ञ चिकित्सकसँग परामर्श लिन सुझाव दिनुहुन्छ । ‘सामान्य लाग्ने समस्या पनि पछि जटिल हुन सक्छन् उहाँ भन्नुहुन्छ–‘समयमै विशेषज्ञ चिकित्सकको परामर्श लिने हो भने समस्या बल्झिने जोखिम कम हुन्छ ।’ विशेषज्ञ चिकित्सकको सेवा प्रवाहसँगै यसक्षेत्रका बिरामीहरुको लागत खर्च समेत जोगिएको छ ।

‘विशेषज्ञ चिकित्सक नहुँदा लखनउ वा काठमाडौं लैजानु पर्दा महंगो पथ्र्यो, झनझट पनि उस्तै हुन्थ्यो ।तर नेपालगन्जमै सेवा पाउँदा सहज पनि भयो पैसा पनि जागियो’ सासुआमाको पित्तथैलीको शल्यक्रिया पछि सुर्खेत भेरीगंगा नगरपालिका–१२ छिन्चुका टेकबहादुर घर्तिले भन्नुभयो ।

को हुनुहुन्छ डा. कृष्ण मोहन अधिकारी ?

ग्यास्ट्रो तथा हेपाटोविलियरी सर्जन डा.कृष्ण मोहन अधिकारी

वि.स २०४२ साल पोखरा नगरपालिका–३० खुदीमा डा. कृष्ण मोहन अधिकारीको जन्मभयो । बुवा मार्कण्ड अधिकारी र आमा ताराको कोखबाट दोस्रो सन्तानको रुपमा जन्मिनु भएका डा.अधिकारी पढ्नमा अत्यन्तै अब्बल हुनुहुन्थ्यो । कक्षा ६ सम्म उहाँले गाउँकै सरकारी विद्यालयमा पढ्नुभयो । ७, ८, ९ र १० भने वोर्डिङ स्कुलमा पढनुभयो । वि.स २०५७ सालमा एसएलसी गरेपछि वि.स २०५९ मा प्लस टु नोवेल एकेडेमी काठमाडौंबाट उत्कृष्ट अंकमा गरेसँगै उहाँले नेपाल सरकारको छात्रावृत्तिमा एमबीबीएसका लागि नाम निकाल्नुभयो ।

सन २०११ मा चिनबाट एमबीबीएस पूरा गरेर उहाँ लमजुङ जिल्ला अस्पताल र चन्द्रेश्वर स्वास्थ्य चौकीमा दुई वर्ष काम गर्नुभयो । उहाँले सन २०१५ मा नेपालगन्ज मेडिकल कलेजम एमएस अध्ययनका लागि भर्ना हुनुभयो । एमएस पूरा गरेपछि उहाँले एक वर्ष नेपालगन्ज मेडिकल कलेज र कोहलपुर मेडिकल कलेजमा जागिर समेत गर्नुभयो ।

सन २०२० मा एमसीएचमा नाम निस्कियो । टिचिङमा तीन वर्षीय एमसीएच अध्ययन पूरा गरेपछि करिव दुई महिना अघि डा. अधिकारीको नेपालगन्ज भेरी अस्पतालमा पोष्टिङ भएको हो । बुवाआमा खेती किसानी गर्ने र सामान्य परिवारमा जन्मिएका डा. अधिकारी पढ्नमा अव्वल भएकै कारण अधिकांश शिक्षा छात्रावृत्तिमै पूरा गर्नुभयो ।

‘डाक्टर नै बन्ने मेरो लक्ष्य र रुचि थिएन् तर रहरै रहरमा डाक्टर भए’ उहाँले स्वास्थ्यपेजसँग भन्नुभयो । रहरै रहरमा डाक्टर भएपनि आफ्नो पेशासँग सन्तुष्ट रहेको उहाँको भनाइ छ ।

  • १४ पुष २०८०, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech