के हुन्छ, लामो समयसम्म एकै ठाउँमा बस्दा ?

    • प्रा.डा. लोचन कार्की/ जनरल फिजिसियन

  • १४ पुष २०८०, शनिबार

तपाईं अहिले ल्यापटप चलाइरहनुभएको वा मोबाइल हेरिरहनुभएको छ । सोफामा ढल्किएर टेलिभिजन हेरिरहनुभएको छ वा कुनै पुस्तक पढिरहनुभएको छ । जे–जसो काम गरिरहेकाे भएपनि तपाईंले ख्याल गर्नुपर्ने एउटा कुरा हो, ‘म कति बेलादेखि यही एउटै आसनमा बसिरहेको छु ?’

हुन त बस्ने कुरा हामीलाई सामान्य लाग्छ । तर, बसाईको स्थिती र अवधिले शरीरमा प्रत्यक्ष प्रभाव पार्छ । खासगरी रक्तसंचार प्रणाली, मांसपेशी, हड्डी, नसा आदिमा । त्यसबाहेक अप्रत्यक्ष रुपमा अन्य अंगहरुलाई पनि असर गर्छ । ढाडको नसा च्यापिनेदेखि मधुमेहको जोखिमसम्म बढाइदिन्छ ।

नसामा रगत जम्ने जोखिम

जब हामी एकै ठाउँमा लामो अवधि बसिरहन्छौं, हाम्रो शरीरको कतिपय भागकाे रक्तसंचार राम्ररी हुन पाउँदैन । यसले गर्दा डीप भेन थ्रोम्बोसिस (डिभिटी) हुन्छ । यसकाे मतलब लामाे समयसम्मकाे बसाईले मुख्यतः पिँडाैलाकाे नसामा रगतको ढिक्का बन्नु हो । यस्तो ढिक्का तिघ्राको रक्तनसामा पनि बन्न सक्छ ।

यसरी बनेकाे रगतको ढिक्काकाे केही अंश उछिट्टएर फोक्सो र मुटु बीचकाे रक्तनलीमा अड्किन सक्छ, जसलाई पल्मोनरी एम्बोलिज्म भनिन्छ । पल्मोनरी एम्बोलिजम भनेको फोक्सो र मुटुको बीचको पल्मोनरी धमनीमा अवरोध आउनु हो । यसले गर्दा एक्कासी छाती दुख्ने, सास फेर्न कठिन हुने मात्र होइन कहिलेकाहीँ अनाहकमा मृत्युको मुखमा पुर्‍याउन सक्छ ।

कहिले काहीँ हामी सुन्छौं, लामो समयसम्म यात्रा गरेर आएको मान्छे अचानक मृत्यु भयो । त्यस्तो मृत्युको कारणमा डीप भेन थ्रोम्बोसिस पनि हुनसक्छ।  यस्तो खाले जोखिम चाहिँ लामो समयसम्म बाध्यतावश एकै ठाउँमा अस्थिर बस्नुपर्ने व्यक्तिलाई पनि हुनसक्छ । जस्तो कि हातखुट्टा भाँचिएर, पक्षघात भएर थला परेका व्यक्ति ।

त्यसबाहेक एकै ठाउँकाे लामाे बसाईले मेरुदण्डमा दवाब पर्छ । यसले गर्दा नसा च्यापिने, हड्डी खिइने जोखिम हुन्छ । ढाड दुख्ने, जोर्नीको समस्या हुने, मांसपेशी दुख्ने, मोटोपना बढ्ने समस्या पनि हुनसक्छ । लामो समयसम्म एकै ठाउँमा बसिरहेकाे कारणले शारीरिक गतिविधि हुन पाउँदैन र शरीरको उर्जा खर्च हुँदैन । यसले गर्दा मोटोपना बढ्न सक्छ । मोटोपनाकै कारण मुटुको समस्यादेखि मधुमेहसम्म ल्याउन सक्छ ।

त्यसैगरी हामी बस्दा सही आसनमा बस्दैनौं । अलि खुम्चिएर, ढल्किएर, अडेसिएर बस्छौं । यस किसिमको बसाईले शरीरका भित्री अंगहरुको कार्य सम्पादन राम्ररी हुन पाउँदैन । यसले गर्दा फोक्सोदेखि पाचन प्रणालीसम्मलाई असर गर्छ ।

हुन त कतिपय पेशा, व्यवसाय वा परिस्थिति नै यस्तो हुन्छ जहाँ लामो समयसम्म बस्नुपर्ने हुन्छ । जस्तो तपाईं गाडी चालक हुनुहुन्छ वा लामो यात्रामा हुनुहुन्छ भने एकै ठाउँमा लामो समय बस्नुपर्ने बाध्यता आईलाग्छ । चाहे बैंकका कर्मचारी होस् वा अस्पतालकै, लामो समयसम्म एकै ठाउँ बसेर सेवा दिनुपर्ने हुनसक्छ । यसलाई हामी व्यवसायजन्य जाेखिमका रुपमा लिन सक्छौं ।

यद्यपि लामो समयसम्म एकै ठाउँमा बस्दा पनि शरीरलाई नियमित अन्तरालमा चलायमान गराई राख्न सकिन्छ । शारीरिक गतिविधि गर्न सकिन्छ । शरीरलाई तन्काउने, खुम्च्याउने गर्न सकिन्छ । बसाईको स्थिती बदल्न सकिन्छ ।

कति अवधि बस्ने ?

कति अवधि बस्ने भनेर ठ्याक्कै भन्न सकिदैन । सामान्यतः ३० मिनेटको अवधिमा आसन बदल्ने, शरीरलाई चलाउने, तन्काउने । एकछिन हिँडडुल गर्ने ।

सामान्य शारीरिक काम गर्ने । कतिपय योग आसन पनि हुनसक्छ, जो बसीबसी गर्न सकिन्छ, त्यसले शरीरलाई गतिशिल बनाउन सक्छ ।

बस्ने कसरी ?

बस्ने आसन पनि सही हुनुपर्छ । तपाईं जुन अवस्थामा जसरी बसिरहनुभएको छ पक्कैपनि तपाईंले आफ्नो बसाई कति सहज वा असहज छ भनेर पत्ता लगाउन सक्नुहुन्छ । धेरै खुम्चेर, झुकेर बस्नुभएको वा एकातिर ढल्किएर बसिरहनु भएको छ भने यी सबै आसन सही खालकाे हुन्न ।

बस्दा मेरुदण्डलाई सोझो बनाएर बस्नुपर्छ । टाउको झुकाउनु हुन्न । ल्यापटप वा कम्प्यटुर चलाइरहनुभएको छ भने त्यसको स्क्रिन तपाईंको आँखाको समानान्तर हुन जरुरी छ ।

  • १४ पुष २०८०, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech