जातीय विभेद हुँदा स्वास्थ्यकर्मीले छाडिन डेरा

    • स्वास्थ्य पेज

  • ७ पुष २०८०, शनिबार

नेपालगन्ज: मुगु जिल्लाको सोरु गाउँपालिका–९ स्थित खनाया स्वास्थ्यचौकीमा कार्यरत तुल्साकुमारी विश्वकर्माले दलित भएकै कारण डेरा छाड्नु परेको छ। दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिका–११ की तुल्साकुमारी खनाया स्वास्थ्यचौकीमा अनमीका रूपमा कार्यरत हुनुहुन्छ। मुगु कार्यक्षेत्र परेपछि २०७९ माघमा सोरु पुग्नुभएकी तुल्साकुमारी स्वास्थ्य चौकी इन्चार्ज सुरजकुमार शाहीको घरमा डेरा लिएर बस्नुभएको थियो। अहिले आएर दलित भएको भन्दै डेराबाट निकालिएको तुल्साकुमारीले बताउनुभएको छ।

उहाँले दलित भएकै कारण बसिरहेको डेरा छोड्नु परेको बताउनुभयो। सो घटनाका सम्बन्धमा तुल्साकुमारीले उजुरी नदिए पनि स्थानीय केही व्यक्तिले विभेदविरुद्ध जाहेरी दिन सघाउनुको साटो घटनाको ढाकछोप गर्नतिर लागेको बताइन्छ। स्वास्थ्यकर्मी सुरजको परिवारले नै दलित भएको भन्दै डेराबाट निकालेको तुल्साकुमारी बताउनुहुन्छ। उहाँका अनुसार सुरजकुमार शाहीका परिवारले नै दलित भएको थाहा पाएपछि घर छोड्न दबाब दिएका हुन्। जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारीसहित सरोकारवालासमक्ष तुल्साकुमारीले बुधबार भन्नुभयो, “घरबेटीले कोठा छोड्न भनेपछि अन्य घरमा कोठा मागेँ तर दलित भएको भन्दै कसैले पनि कोठा दिन मानेनन्।”

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले पीडितको निवेदन दर्ता भएसँगै कानुनी प्रक्रिया अघि बढ्ने जानकारी दिनुभयो। मुगुका प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले जातीय विभेदको घटनाबारे सूक्ष्म अध्ययन भइरहेको जानकारी दिनुभयो। यसबारे सरोकारवालासँग बसेर छलफल गरिएको भन्दै केसीले पीडितले किटानी जाहेरी दिए कानुनी प्रक्रिया थालिने बताउनुभयो। उहाँले भन्नुभयो, “पीडितले प्रहरीमा जाहेरी दिनुभएको छैन। सामान्य जानकारी मात्र दिनुभएको छ। हामीले सबैसँग बुझिरहेका छौँ।”

कर्णाली प्रदेशमा हरेक वर्ष यस्ता विभेदका घटना भइरहेका छन् तर प्रहरीको तथ्याङ्कमा जातीय विभेदका मुद्दा कम दर्ता भएको पाइएको छ। प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार आर्थिक वर्ष २०७७/७८ मा पाँच वटा मात्र जातीय विभेदका मुद्दा दर्ता भएका थिए। आव २०७८/७९ मा कुनै पनि मुद्दा दर्ता नै भएनन्। आव २०७९/८० मा चार वटा मुद्दा दर्ता गरिएका थिए। चालु आवको यो अवधिसम्म दुई वटा मात्रै जातीय विभेदका मुद्दा दर्ता भएका छन्। जातीय विभेदका थुप्रै घटना हुने गरे पनि तीमध्ये निकै कम घटनाको उजुरी आउने गरेको प्रहरीले जनाएको छ। समाजमा जातीय छुवाछूत र विभेद कायमै रहेको दलित अधिकारकर्मी मञ्जु सुनारले बताउनुभयो।

  • ७ पुष २०८०, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech