कोहलपुरमा चार महिनामा ५२ जना क्षयरोगी फेला, पोषण सुधारका लागि ‘फुड वास्केट’

    • स्वास्थ्य पेज

  • २५ मंसिर २०८०, सोमबार

कोहलपुरः कोहलपुर नगरपालिकाले क्षयरोगका बिरामीहरुलाई पोषण सामाग्री ‘फुड वास्केट’ वितरण गरेको छ । १५ वटा वडा रहेको कोहलपुर नगरपालिकामा चालू आर्थिक वर्षको चार महिनामा क्षयरोगीका ५२ जना बिरामी फेला परेका छन् । साउन, भदौ, असोज र कार्तिक महिनामा यी बिरामी फेला परेका हुन् ।

तीमध्ये गरिव र विपन्न समुदायका २३ व्यक्तिहरुलाई पोषण सामाग्री वितरण गरिएको छ । १२ वटा वडामा पाँच वर्ष मुनिका ५ जना र त्योभन्दा माथि उमेर समूहका १८ जना रहेको नगरपालिकाका क्षयरोग कार्यक्रम संयोजक राजु केसीले बताउनुभयो । उहाँका अनुसार चामल २0  किलो, दाल २ किलो, तेल एक लिटर, बदाम साढे एक किलो, अण्डा १ क्यारेट र सर्वोत्तम पिठो १ किलोगरी रु ३ हजार मूल्य बराबरको फुट बास्केट वितरण गरिएको उहाँले बताउनुभयो । फुड वास्केटमा पाँच वर्ष मुनिका बालबालिकाको सवालमा भने सर्वोतम पिठोको सट्टा लिटो राखिएको छ ।

वडा नं.२, ६, ८ र ९ मा दुई–दुई जना, वडा नं.३, ५, ७, १० र १३ मा एक–एक जना, वडा नं.४ र १२ मा तीन–तीन जना र वडा नं. ११ मा चार जना विपन्न तथा गरिव समुदायका क्षयरोगीलाई पोषणमा सहयोग पुर्याउने उद्देश्यका साथ फुड वास्केट वितरण गरिएको हो । ‘गरिव तथा विपन्न समुदायका रोगी व्यक्तिहरुलाई वडाकै सिफारिसमा फुड वास्केट वितरण गरिएको हो’ उहााले भन्नुभयोे । गतवर्ष कोहलपुरमा १८९ जना क्षयरोगीका बिरामी फेला परेका थिए । तीन जना क्षयरोगीको मृत्यु भएको तथ्याङ्क छ । त्यसैगरी चालू आर्थिक वर्षमा एकजना क्षयरोगीको मृत्यु भएको छ ।

स्थानीय जनप्रतिनिधिहरुको समन्वय र सहकार्यमा क्षयरोगी निवारणका कार्यक्रमहरु भइरहेको पनि संयोजक केसीले बताउनुभयो । कोहलपुर नगरपालिकाले पालिकालाई क्षयरोग मुक्त पालिका निर्माणका लागि विशेष अभियानका साथ कार्यक्रम संचालन गर्दै आएको कार्यक्रम संयोजक केसीको भनाइ छ । उहाँका अनुसार कोहलपुरका डट्स सेवा सुरु गरिएको छ । गत आर्थिक वर्षमा चार वटा ठाउँमा मात्र डट्स सेवा संचालन भएकोमा चालू आर्थिक वर्षबाट भने सबै वडाका स्वास्थ्य संस्था र नेपालगन्ज मेडिकल कलेज कोहलपुरबाट पनि यो सेवा सुरु भएको उहाँले बताउनुभयो ।

क्षयरोगीलाई नियमित र पूरा अवधिसम्म औषधि खानु पर्ने, घर वाहिर कतै जानु पर्दा औषधि लिएर जानु पर्ने, पोषिलो खानेकुरा खानुपर्नेजस्ता कुरामा राम्ररी परामर्श, स्वास्थ्य प्रवर्धन गर्ने काम भइरहेको उहाँले बताउनुभयो । ‘क्षयरोग नियन्त्रण कार्यक्रममा स्वास्थ्य प्रणाली लगायत समुदायस्तरसम्म अभिमूखीकरण र तालिम, शंकास्पद क्षयरोगीको परीक्षण, परामर्श तथा उपचार व्यवस्थापनमा हामी केन्द्रीत छौं’ उहाँले भन्नुभयोे ।

स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा रोगीहरुलाई औषधि सेवन गराउने गरिएको पनि उहाँले बताउनुभयो । नियमितरुपमा बीचमा नछुटाईकन ६ देखि ८-९ महिनासम्म सेवन गरेमा क्षयरोग पूर्णरुपमा निको हुन्छ । घरवाट टाढा जानु परेमापनि औषधि लिएर गई सेवन शुरु गरेपछि विरामीलाई आराम हुदै जान्छ,। तर विचैमा औषधि खान छोड्नु हुदैन । स्वास्थ्यकर्मीको सल्लाह अनुसार क्षयरोगको औषधिसंगै अन्य रोगका औषधि पनि सेवन गर्न सकिन्छ ।

  • २५ मंसिर २०८०, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech