बाजुराका आमाहरू कहिलेसम्म बाटोमै सुत्केरी हुने ?

    • स्वास्थ्य पेज

  • २५ मंसिर २०८०, सोमबार

बाजुराः बाजुराको बुढीनन्दा नगरपालिका ४ कुरुकी ३१ वर्षीया पानसरा रोकायाले मंसिर १९ गते मंगलबार बाटोमै बच्चा जन्माउनुभयो । सुत्केरी व्यथा लाग्ने बित्तिकै पानसरा एक्लै आधारभूत स्वास्थ्य केन्द्र कुरु जाँदै गर्दा बाटोमा छोरी जन्माएको स्वास्थ्य केन्द्रकी प्रमुख धर्मा चँदाराले बताउनुभयो । उहाँको यो भन्दा पहिला एक छोरा र एक छोरी छन् । पानसराले तीनवटै सन्तान बाटोमै जन्माउनुभयो । बाजुराकै बडिमालिका ७ की मनीषा विक आफूहरूले राम्रो गर्भ जाँचको सुविधा नपाएको गुनासो गर्नुहुन्छ । ‘अस्पतालमा गएर सोधेपनि हामीलाई थाह छैन भन्छन् । हामीलाई धेरै पीडा छ,’ मनीषाले भन्नुभयो । यसरी असुरक्षित सुत्केरी हुँदा नवजात शिशुसँगै आमामा पनि सङ्क्रमणको जोखिम उच्च हुने चिकित्सक बताउँछन् ।

बाटोमै जन्मिने शिशुहरूमा फोहोरको कारण हुने सङ्क्रमण, चिसोको कारण कठ्याङ्ग्रिएर, टिटानस भएर ज्यान जाने जोखिम रहेको हुन्छ । बाजुरामा धेरैजसो सुत्केरी बाटोमै हुने गरेको स्वास्थ्यकर्मी रश्मी हमाल बताउनुहुन्छ । रश्मी भन्नुहुन्छ, ‘सुत्केरी बाटोमै हुनुको कारण चाहिँ प्राय स्वास्थ्यकर्मीले भनेको कुरा वा सुझावहरू मान्नु हुन्न । यस्तै उहाँहरूले परम्परागत विश्वास नछोडेर अस्पताल आउन मान्नु भएको छैन । त्यही भएर धेरै जनाले बाटोमै बच्चा जन्माएको अवस्था छ ।’

बाजुरामा ४ बर्ष यता १२ जना सुत्केरीको मृत्यु भइसकेको छ । गर्भवती भएपछि नियमित गर्भजाँचको कमी र समयमै सुत्केरी गराउन स्वास्थ्य संस्था नपुग्दा धेरैको ज्यान गएको बडिमालिका नगरपालिका स्वास्थ्य शाखा प्रमुख टेकबहादुर खड्काले बताउनुभयो । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७५-७६ देखि दुर्गम हिमाली तथा पहाडी जिल्लामा गर्भवती तथा सुत्केरीलाई समयमा नै उपचार सेवा पुर्‍याउन हवाई उद्धार कार्यक्रम सुरु भएको छ। तर अप्ठेरो परेको बेला तत्काल सेवा प्रवाहमा समस्या छ ।

भौगोलिक विकटता, स्वास्थ्य संस्थामा पहुँच नहुनु, दक्ष स्वास्थ्यकर्मीको अभावका कारण मातृ मृत्युदरमा सुधार ल्याउन समस्या भइरहेको छ । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार नियमावलीमा २०७७ मा प्रसूति सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाले चौबिस घण्टा आकस्मिक सेवा प्रदान गर्नुपर्ने व्यवस्था गरेको छ ।

  • २५ मंसिर २०८०, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech