आधा दर्जनबढी ठूला अस्पताल भएको नेपालगन्जमा मातृ मृत्युदर उच्च

    • स्वास्थ्य पेज

  • २३ मंसिर २०८०, शनिबार

नेपालगन्जः नेपालगन्ज पश्चिम नेपालको स्वास्थ्यको केन्द्र विन्दु मानिन्छ । यहाँ आधा दर्जनबढी ठूला अस्पताल छन् । विशेषज्ञ चिकित्सक बस्ने मेडिकल छ्याप्छ्याप्ती छन् । पश्चिम नेपालका २४ जिल्लाका मानिसको उपचारको थलो नै हो नेपालगन्ज । नेपालगन्जको भेरी अस्पताल, नेपालगन्ज र कोहलपुरको मेडिकल कलेज पश्चिम नेपालका विरामीको रिफरल सेन्टरको रुपमा रहेका छन् । सुविधा सम्पन्न स्वास्थ्य संस्थाको पहुँच भएको नेपालगन्जमा मातृ मृत्युदर जिल्लाकै अन्य पालिकाभन्दा धेरै रहेको छ । गर्भवती÷सुत्केरी मृत्युमा दूरदराजका पालिकाभन्दा नेपालगन्ज किन अगाडि रहेको छ ? यसको जवाफ कसैले खोजेका छैनन् । नेपालगन्ज उपमहानगरपालिकाभित्र चालु आर्थिक वर्षमा तीन जना आमाको मृत्यु भइसकेको छ । गतवर्ष यहाँ पाँच जना आमाको मृत्यु भएको स्वास्थ्य कार्यालय, बाँकेका सूचना अधिकारी नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

नेपालगन्जमा बाहिरी जिल्लाबाट उपचार गराउन आउँदा मृत्यु हुनेको संख्या पनि कम छैन । गतवर्ष बाहिरी जिल्लाबाट उपचार गर्न आएका सात जना गर्भवती/सुत्केरीको नेपालगन्जमा मृत्यु भएको थियो । नेपालगन्जपछि नरैनापुरमा धेरै आमाको मृत्यु भएको छ । गतवर्ष नरैनापुरमा चार जना गर्भवती/सुत्केरीको मृत्यु भएको थियो । खजुरा गाउँपालिकामा तीन जना, राप्तीसोनारी गाउँपालिकामा दुई जना, कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका, जानकी गाउँपालिका, डुडुवा गाउँपालिकामा एक÷एक जना गर्भवती÷सुत्केरीको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय, बाँकेका फोकलपर्सन विष्णु श्रेष्ठले आर्थिक वर्ष २०७९-८० मा बाँकेमा १८ जना गर्भवती÷सुत्केरीको मृत्यु भएको जानकारी दिनुभयो । यो वर्ष बाहिरी जिल्लाबाट आएका ११ जना आमाको बाँकेमा मृत्यु भएको थियो ।

आर्थिक वर्ष २०७८-७९ मा बाँके र बाहिरी जिल्लाका गरी ३२ जना र आर्थिक वर्ष २०७७-७८ मा बाँके र बाहिरी जिल्लाका गरी बाँकेमा ४७ जना गर्भवती-सुत्केरीको मृत्यु भएको थियो । बाँकेको नेपालगन्ज र कोहलपुरमा ठूल्ठूला अस्पताल छन् । अन्य पालिकामा पनि सुविधा सम्पन्न स्वास्थ्य संस्था छन् । बजार होस् या गाउँ बाटोको पहुँच छ । सवारी साधन जतिबेला भने पनि पाइन्छ । त्यसका बाबजुद गर्भवती/सुत्केरीको मृत्युदर कम हुन सकेको छैन । बजारमै गर्भवती/सुत्केरीको मृत्यु बढी हुनुमा अपवादबाहेक घरपरिवार नै जिम्मेवार देखिन्छन् । घरपरिवारले सकेसम्म घरमै सुत्केरी गराउने प्रयास गर्ने र अन्तिम अवस्थामा पुगेपछि मात्रै अस्पतालमा लैजाने गरेकाले आमाको मृत्यु भइरहेको सम्बद्ध जानकारहरु बताउँछन् ।

नियमित गर्भ जाँच गर्न भनिएपनि लापरबाही गर्ने गरिएको पाइन्छ । सरकारले नियमित गर्भ जाँच गर्नेलाई पैसा दिने गर्दछ । पैसाको सुविधा दिँदा पनि नियमित गर्भ जाँच गरिँदैन । नियमित गर्भ जाँच नगरेपछि बच्चा र आमाको अवस्था थाहा हुँदैन । त्यसमा घरमै सुत्केरी गराउने अधिकतम प्रयास गरिन्छ । यसकारणले गर्दा गर्भवती/सुत्केरीको मृत्यु हुने गरेको छ । स्वास्थ्य कार्यालय, बाँकेका सूचना अधिकारी श्रेष्ठले नियमित गर्भ जाँच गर्ने र समयमै स्वास्थ्य संस्थामा पुर्याउँदा गर्भवती÷सुत्केरीको मृत्यु हुने संभावना नरहने बताउनुभयो । बाँकेमा आमामात्रै होइन, नवजात शिशुको मृत्यु दर पनि उच्च रहेको छ ।

आर्थिक वर्ष २०७९-८० मा बाँके र बाहिरी जिल्लाका गरी बाँकेमा १ सय ४२ जना नवजात शिशुको मृत्यु भएको छ । नेपालगन्जमा ९७ जना, कोहलपुरमा ३३ जना, नरैनापुर र डुडुवा गाउँपालिकामा ४-४ जना, खजुरा र राप्तीसोनारी गाउँपालिकामा २-२ जनाको मृत्यु भएको छ । आर्थिक वर्ष २०७८-७९ मा बाँके जिल्ला र बाहिरी जिल्लाका गरी बाँकेमा २ सय ५० जना नवजात शिशुको मृत्यु भएको थियो । नेपालगन्जमा १ सय ६० जना, कोहलपुरमा ६२ जना, राप्तीसोनारीमा ९ जना, जानकी गाउँपालिकामा ७ जना, बैजनाथ र खजुरा गाउँपालिकामा ५-५ जना र नरैनापुरमा २ जना रहेका छन् ।

आर्थिक वर्ष २०७७-७८ मा बाँके जिल्ला र बाहिरी जिल्लाका गरी २ सय ३७ जना नवजात शिशुको बाँकेमा मृत्यु भएको थियो । नेपालगन्जमा १ सय २७ जना, कोहलपुरमा ७० जना, डुडुवामा ११ जना, नरैनापुरमा १० जना, राप्तीसोनारीमा ६ जना, बैजनाथमा ५ जना, खजुरा र जानकी गाउँपालिकामा ४-४ जना रहेका छन् । बाहिरी जिल्लाका विरामीलाई नेपालगन्ज र कोहलपुरका अस्पतालमा उपचार गराउन ल्याउने भएकाले यहाँ नै बढी मृत्यु भएको देखिएको छ । त्यसो त, बाँकेमै नवजात शिशुको मृत्युदर उच्च रहेको छ ।

  • २३ मंसिर २०८०, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech