बेलायत रोजगारीमा जना ४५ नर्स छनोट

    • स्वास्थ्य पेज

  • २३ मंसिर २०८०, शनिबार

नेपालगन्ज: बेलायतमा रोजगारीका लागि ४५ जना नेपाली नर्स छनोट भएका छन् । ६० जना नर्स अन्तर्वार्तामा सहभागी भए पनि ४५ जना मात्र छनोट हुन सफल भएका हुन् ।हाललाई प्रयोगका रुपमा नेपालबाट १०० जना नर्सलाई पठाउने गरी बेलायत सरकारसँग सन् २०२२ को अगस्टमा समझदारी भएको थियो ।

सोही समझदारी अनुसार बेलायत जान चाहने नर्सहरूका लागि सरकारले गत जुलाई २० मा सूचना जारी गरी आवेदन माग गरेको थियो । जसमा ७७१ जनाले फारम भरे पनि अधिकांशले आवश्यक सबै कागजपत्र पेश नगरेको पाइएको वैदेशिक रोजगार विभागले जनाएको छ ।आवश्यक कागजात पेश गरेका ७८ जनाको आवेदन स्वीकृत भएकामा योग्यता, क्षमता र अनुभवको मूल्यांकन गरेर अन्तर्वार्ताका लागि ७१ जनाको प्रारम्भिक सूची सार्वजनिक गरिएको थियो ।

जसमध्ये ६० जना अन्तर्वार्तामा सहभागी भएका थिए । उनीहरूको नेपालस्थित बेलायती दूतावासमा अन्तर्वार्ता लिइएको थियो ।‘आवेदन दिएकामध्ये बेलायतले खोजेको मापदण्ड अनुसारका गुणस्तरका नर्स भेटिएनन् । पुराना नर्समा भाषाको समस्या र नयाँ नर्समा कार्यानुभवको समस्याले मागेको जति आवेदन संख्या पनि पुगेन’, विभागका निर्देशक गोपालराज तिमल्सिनाले भन्नुभयो ।

नेपाल र बेलायतबीच भएको समझदारी अनुसार आवेदन दिन कम्तीमा ३ वर्षको नर्सिङ कोर्स पीसीएल नर्सिङ वा बीएन सरहको शैक्षिक योग्यता हासिल गरेको हुनुपर्छ । दुई वर्षको कार्य अनुभव (वर्किङ एक्सपिरियन्स) पनि अनिवार्य रूपमा पेश गर्नुपर्छ ।नर्सहरूले इन्टरनेशनल इङ्लिस ल्याङ्ग्वेज टेस्टिङ सिस्टम (आईईएलटीएस) मा कम्तीमा ७ अंक ल्याउनुपर्छ । लेख्ने, बोल्ने, सुन्ने र पढ्ने चारवटा मापदण्डमा अंक दिइने आईईएलटीएसमा लेख्नेबाहेक सबैमा ७ अंक ल्याउनुपर्छ ।

बेलायतस्थित ह्याम्पसायर हस्पिटल एनएचएस फाउण्डेशन ट्रष्टका नर्सहरूले नेपाली नर्सको अन्तर्वार्ता लिएका थिए ।सफल नर्सहरूलाई छिट्टै उनीहरूको छनोटको बारेमा सूचित गरिने विभागले जनाएको छ । सन् २०२४ को पहिलो त्रैमासदेखि छनोट भएका नर्स बेलायत जान थाल्नेछन् ।छनोट भएर गएका नेपाली नर्सले तीन महिनाको एउटा तालिम लिनुपर्नेछ । उक्त तालिमबाट योग्य बनेपछि मात्र नेपाली नर्सहरूले त्यहाँका स्वास्थ्य संस्थामा काम गर्न पाउने नियम छ ।

त्यस अवधिमा पनि उनीहरूले पारिश्रमिक भने पाउनेछन् ।नेपाली नर्सहरूले पनि बेलायतमा दर्ता भएपछि त्यहाँका दर्ता भएका नर्सले बराबर तलब पाउनेछन् ।सम्झौता अनुसार उनीहरुको तलब वार्षिक २७ हजार पाउन्ड (करिब साढे ४३ लाख रुपैयाँ) देखि ३२ हजार पाउन्ड (करिब साढे ५१ लाख रुपैयाँ) सम्म पाउन सक्छन् । त्यसबाहेक उनीहरूले २७ दिनको वार्षिक र सार्वजनिक बिदा पाउनेछन् ।

  • २३ मंसिर २०८०, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech