राप्तीसोनारीमा निःशुल्क आँखा शिविरः १४ सय स्थानीयले सेवा लिए

    • स्वास्थ्य पेज

  • २१ मंसिर २०८०, बिहीबार
राप्तीसोनारीमा निःशुल्क आँखा शिविरः १४ सय स्थानीयले सेवा लिए

राप्तीसोनारी: बाँकेको राप्तीसोनारीमा भएको आँखा शिविरमा ठूलो संख्यामा स्थानीयले लाभ लिएका छन् । चार वटा वडाका पाँच स्थानमा संचालन गरिएको शिविरमा एक हजार चार सय जनाको आँखा चेकजाँच गरिएको छ । आँखाका बिरामीलाई लक्षित गरि आयोजना गरिएको निःशुल्क मोतिबिन्दु छनौट तथा आँखा शिविरमा उनीहरुको आँखा चेकजाँच गरिएको हो । आँखा चेकजाँच गर्दा एक सय ४९ जनामा मोति बिन्दु रोग देखिएको छ ।

राप्तीसोनारी गाउँपालिकाको आयोजना र तिलगङ्गा आँखा प्रतिष्ठान, तिलगङ्गा सर्जिकल आँखा केन्द्र राप्ती –५, सिसहनिया दाङको प्राविधिक सहयोगमा विहीबार राप्तीसोनारी गाउँपालिका वडा नं.२ कचनापुर स्वास्थ्य चौकी र वडा नं.५ बिनौना स्वास्थ्य चौकीमा गरिएको निःशुल्क मोतिबिन्दु छनौट तथा आँखा शिविरमा मात्रै चार सय ७९ जनाले सेवा लिएको स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले जानकारी दिनुभयो । उहाँका अनुसार वडा नं.२ मा दुई सय ४७ जनाको आँखा चेकजाँच गर्दा ३८ जनामा मोतिबिन्दुको समस्या देखिएको छ । ४३ जनालाई ल्याव सेवा प्रदान गरिएको उहाँले बताउनुभयो ।

यसैगरी बिनौना स्वास्थ्य चौकीमा गरिएको शिविरमा दुई सय ३२ जनाको आँखा चेकजाँच गरिएको छ । तीमध्ये ३० जनामा मोतिविन्दुको समस्या देखिएको स्वास्थ्य शाखा प्रमुख केसीले बताउनुभयो । २९ जनालाई चस्माको सहायता पर्ने अवस्था देखिएका बिरामी समेत फेला परेका छन् । पहिलो दिन वडा नं. ८ को पेरानी आधारभूत स्वास्थ्य सेवा केन्द्र तथा वडा ९ को महादेवपुरी स्वास्थ्य चौकीमा सञ्चालन गरिएको शिविरमा पाँचसय २५ जनाको आँखा चेकजाँच गरिएको छ ।

जसमध्ये ७० जनामा मोतिबिन्दुको समस्या देखिएको थियो । वडा नं. ८ पेरानी आधारभूत स्वास्थ्य केन्द्रमा दुई सय ४५ जनाको आँखा जाँच गरिएको र जसमध्ये ४३ जनामा मोतिबिन्दु देखिएको उहाँको भनाइ छ । उहाँका अनुसार वडा नं. ९ को महादेवपुरी स्वास्थ्य चौकीमा दुई सय ८० जनाको आँखा चेकजाँच गरिएकोमा २७ जनामा मोतीबिन्दुको समस्या देखिएको छ । राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले आँखाको समस्याले पीडित बनेका पालिकावासीहरुलाई घरदैलोमै सेवा प्रवाह गर्ने उद्देश्यका साथ शिविर गरिएको जानकारी दिनुभयो ।

उहाँले गुणस्तरीय र प्रभावकारी सेवा दिने उद्देश्यका साथ तिलगंगा अस्पतालसँगको सहकार्यमा शिविर गरिएको भन्दै तत्काल अव राप्तीसोनारी अस्पतालबाट आँखा उपचार सेवा समेत दिन थालिएको जानकारी दिनुभयो । राप्तीसोनारी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा केहि दिन अघि राप्तीसोनारी वडा नं. ९ स्थित जनता माध्यमिक विद्यालयमा विशेषज्ञ सहितको एक दिने निःशुल्क स्वास्थ शिविर समेत गरिएको थियो । राप्तीसोनारी गाउँपालिकाले चालू आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रमा विशेष प्राथमिकता दिएर काम गरिरहेको जनाएको छ ।

  • २१ मंसिर २०८०, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech