नसर्ने रोग न्यूनीकरणमा सरोकारवालाहरुको जोड

    • स्वास्थ्य पेज

  • १२ मंसिर २०८०, मंगलवार

नेपालगन्जः नसर्ने रोगबाट मृत्यु हुनेको संख्या भयावह बन्दै गएको भन्दै यसको न्यूनीकरणमा राज्यले प्रभावकारी कदम चाल्नुपर्नेमा सम्बद्ध सरोकारवालाहरुले जोड दिएका छन् । नसर्ने रोगबाट मृत्यु हुनेको अनुपात ५१ प्रतिशतबाट बढेर अहिले ७१ प्रतिशत पुगेको भन्दै यसलाई न्यूनीकरण गर्न राज्यले समयमै प्रभावकारी कदम चाल्नुपर्नेमा सरोकारवालाको जोड छ । मुटु, मधुमेह रोगलाई ८० प्रतिशतसम्म तथा क्यान्सरलाई ४० प्रतिशतसम्म रोकथाम गर्न सकिने सरोकारवालाको भनाइ छ । अस्पतालमा उपचारका लागि पुग्ने ९० प्रतिशत विरामीहरु नसर्ने रोगका छन् ।

नेपालगन्ज उपमहानगरपालिकाको आयोजना तथा विश्व स्वास्थ्य समन्वय नेपाल, सुरक्षित मातृत्व संजाल महासंघ नेपालको सहयोगमा मंगलवार नेपालगन्जमा आयोजित नसर्ने रोगहरुको रोकथाम र नियन्त्रणमा बहुक्षेत्रीय कार्यशाला गोष्ठिका सहभागी सरोकारवालाहरुले सूर्तिजन्य पदार्थको प्रयोग, मदिरा सेवन, बदलिदो जीवनशैली लगायतका कारणले नसर्ने रोगको प्रभाव बढ्दै गएको बताए ।

सुरक्षित मातृत्व संजाल महासंघ नेपालका अध्यक्ष समेत रहनु भएका प्रतिनिधिसभा सदस्य डा. आर्जु राणा देउवाले नसर्ने रोग रोकथामका लागि राज्यले चेतनामूलक कार्यक्रमलाई प्रभावकारी ढंगले कदम चाल्नु पर्ने बताउनुभयो । उहाँले फेरिदो जीवनशैलीका कारण मानिसहरु नसर्ने रोगबाट मृत्युवरण गर्न बाध्य भएको बताउनुभयो । उहाँले संजालले नेपालगन्ज उमहानगरपालिकासँग सहकार्य गरेर नसर्ने रोग नियन्त्रणका लागि काम गर्न आफु प्रतिबद्ध रहेको बताउनुभयो ।

नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले नसर्ने रोग न्यूनीकरणका लागि पालिकाले चेतना जगाउने र कार्यक्रमलाई अगाढि बढाइने बताउनुभयो । नसर्ने रोग न्यूनीकरणका लागि पालिकाले सुगर जाँच, सचेतीकरण कार्यक्रमहरु गर्दै आएको उहाँको भनाइ छ ।कार्यक्रममा स्वास्थ्य कार्यालय बाँकेका नसर्ने रोग फोकल पर्सन नरेश श्रेष्ठ, सुजन जोशी र सुनिल श्रेष्ठले छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेल, भेरी अस्पतालका निमित्त मेसु डा.दिनेश चौधरी, नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दलगायतले नसर्ने रोग न्यूनीकरणका लागि सबैको सहकार्य र समन्वय जरुरी रहेको बताउनुभयो । उपमहानगरपालिका स्वास्थ्य महा शाखाकाका जन स्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले संचालन गर्नुभएको उक्त कार्यक्रमको स्वागत मन्तव्य उपप्रमुख कमरुद्दिन राइले गर्नुभएको थियो । कार्यक्रममा वडाअध्यक्षहरु, स्वास्थ्यकर्मी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

  • १२ मंसिर २०८०, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech