बिस्तारै चिसो बढ्दै छ, घरलाई न्यानो बनाउन के गर्ने ?

    • स्वास्थ्य पेज

  • १२ मंसिर २०८०, मंगलवार

बिस्तारै चिसो बढ्दै छ । कोठा चिसो हुँदा घरभित्रै पनि सास्ती महसुस हुन्छ । धेरैले कोठा तातो बनाउन हिटर प्रयोग गर्छन् । तर, यो धेरै हानिकारक छ । लामो समय हिटर ताप्दा विभिन्न स्वास्थ्य समस्या पनि देखिन्छन् । केही उपाय अपनाएर कोठालाई प्राकृतिक रूपमै पनि न्यानोे र आरामदायी बनाउन सकिन्छ ।

बाक्लो पर्दा र कार्पेट 
खासगरी घरमा चिसो पस्ने झ्यालबाट नै हो । हिजोआज अधिकांश घरका झ्यालका खापा सिसाका हुन्छन् । जसले घरभित्रको तापक्रम जोगाउन सक्दैन । जाडोमा झ्यालमा मोटो र गाढा रङको पर्दा राख्नु राम्रो हुन्छ । त्यस्तै, भुइँमा रंगीन तथा बाक्लो कार्पेट ओछ्याउन सकिन्छ । जसले घरको सौन्दर्य मात्रै बढाउँदैन, न्यानो बनाउन पनि भूमिका खेल्छ । यदि कोठामा पार्केटिङ छ भने तुलनात्मक रूपमा कोठा तातो हुन्छ । तर, सिमेन्टको भुइँ छ भने घरमा बस्दा पनि न्यानो हुने चप्पल वा जुत्ता लगाउनु राम्रो हुन्छ ।

वार्म लाइट जडान गर्ने 

जाडोमा घरलाई न्यानो राख्नका लागि बत्तीको महत्वपूर्ण हुन्छ । त्यसैले जाडो मौसममा एलइडी र सिएफएलको साटो घरमा वार्म लाइट प्रयोग गर्न सकिन्छ । यसले धेरै मात्रामा तातो ऊर्जा जारी गर्छ र कोठालाई न्यानो बनाउन सहयोग गर्छ ।

झ्यालमा बबल र्‍याप राख्ने 
झ्यालबाट चिसो हावा छि‍र्‍यो भने कोठा सधैँ चिसो हुन्छ । यसबाट बच्न घरको झ्याल आवश्यक पर्दा मात्रै खोल्नुपर्छ । जाडोमा प्रायः ढोका पनि बन्द राख्नुपर्छ । झ्यालमा बबल र्‍यापको प्रयोग गर्न सकिन्छ । यसको प्रयोग गर्दा घामको प्रकाश छिर्छ, तर चिसो हावा छिर्न पाउँदैन । त्यसैले कोठा उज्यालो देखिन्छ र न्यानो पनि रहन्छ ।

  • १२ मंसिर २०८०, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech