छाला स्वस्थ राख्न यस्तो जीवनशैली अपनाउ

    • स्वास्थ्य पेज

  • २ मंसिर २०८०, शनिबार

छाला स्वस्थ राख्नका लागि हामीले आफ्नाे जीवनशैलीमा सुधार ल्याउन जरुरी छ । महँगा प्रडक्टको प्रयोगले मात्रै छाला स्वस्थ रहन्छ भन्ने होइन । शारीरिक सक्रियता, पोषणयुक्त खानपान र व्यवस्थित जीवनशैलीले हाम्रो छालामा चमक ल्याउने काम गर्छ । यसका लागि केही कुरा ख्याल गर्न जरुरी छ :

शारीरिक सक्रियता : शारीरिक रूपमा सक्रिय रहन जरुरी छ । शरीरबाट पसिना निस्किएमा छाला स्वस्थ रहन्छ । तसर्थ, बिहान उठ्नेबित्तिकै शारीरिक अभ्यास गर्न जरुरी छ । मन परेका खेल खेल्ने, पसिना निस्कने गरी हिँड्ने, दौडने वा जिम सेन्टर जाने पनि गर्न सकिन्छ । कम्तीमा घरमै केही राउन्ड लगायो भने पनि शरीरबाट पसिना निस्किन्छ र छाला स्वस्थ रहन्छ ।

ब्रेकफास्टमा पोषणयुक्त आहार : छाला स्वस्थ राख्नका लागि व्यवस्थित खानपान जरुरी छ । यसका लागि समयमै ब्रेकफास्ट लिनुपर्छ । सकभर घरमै पकाएका खानेकुरा खानुपर्छ । सिजनअनुसार उपलब्ध फलफूल लिन सकिन्छ । स्थानीयस्तरमा उत्पादित यस्ता अर्गानिक र विषादीरहित खानेकुरा स्वास्थ्यका लागि लाभदायक हुन्छ । जंकफुडबाट टाढै बस्नुपर्छ । दैनिक कम्तीमा दुईदेखि तीन लिटरसम्म पानी पिउनुपर्छ ।

सनस्क्रिन क्रिमको प्रयोग : प्रत्येक तीन–तीन घन्टामा सनस्क्रिन क्रिमको प्रयोग गर्नुपर्छ । यसले छालालाई सूर्यको विकिरणबाट जोगाउने काम गर्छ । छालालाई घामबाट डढ्न नदिने, छालामा दाग–धब्बा बस्न नदिनेलगायत विभिन्न काम गर्छ । तसर्थ, घरबाहिर निस्कँदा होस् वा घरमै बस्दा, अनिवार्य रूपमा सनस्क्रिन क्रिम लगाउनुपर्छ । बच्चालाई पनि तीन–तीन घन्टाको फरकमा सनस्क्रिन क्रिम लगाइदिनु राम्रो हुन्छ ।

बेलुकी : बेलुकी मुख धोइसकेपछि मोस्चराइजर लगाउन बिर्सनुहुँदैन । यसले छालालाई सुक्खा हुन दिँदैन र मुलायम राख्छ । त्यस्तै, सुत्नुअघि मोबाइल तथा इलेक्ट्रोनिक डिभाइस अत्यधिक प्रयोग गर्ने बानी कतिपयको हुन्छ । स्क्रिन टाइमलाई कम गर्दै लैजानुपर्छ । अन्यथा, डार्क सर्कल देखिने, छालामा रिंकल बस्नेलगायत विभिन्न समस्या देखिन सक्छन् । यसले निद्रा पनि बिगार्छ ।

चाउरीपन रोक्न…
बढ्दो उमेरसँगै छाला चाउरिने तथा छालामा धर्साहरू देखिने गर्छ । यो स्वाभाविक पनि हो । तर, कतिपयमा युवा अवस्थामै यस्ता लक्षण देखिन्छन् । छालामा बुढ्यौली देखिने यस्तो प्रक्रियालाई ढिला गर्नका लागि स्वस्थ जीवनशैली, पर्याप्त निद्रा, खानपान, पानीको मात्रालगायत जरुरी हुन्छ । पोषक तत्वले चाउरीपन तथा सुक्खापन हटाएर छालालाई मुलायम राख्छ र तपाईंलाई बढ्दो उमेरमा पनि युवाजस्तै देखाउँछ । तसर्थ, स्थानीयस्तरमा उत्पादित सिजनल फलफूल तथा हरियो सागसब्जीको प्रयोगमा जोड दिनुपर्छ ।

भिटामिन सीले हाम्रो शरीरको रोगप्रतिरोधात्मक क्षमता बढाउँछ । भिटामिन सी छालाका लागि पनि उत्तिकै फाइदाजनक छ । यसले कोलाजन बढाउँछ र त्यसको प्रभावस्वरूप छाला स्वस्थ रहन्छ । हाम्रो उमेरसँगै कोलाजन कम हुँदै जाने भएकाले छालामा चाउरीपन तथा विभिन्न धर्सा देखिन्छन् । अमला, कागती, सुन्तलालगायत सिट्रस (अम्लीय) फलको प्रयोगले यसलाई नियन्त्रण गर्न सहयोग गर्छ । हाम्रो छालाका कोषहरूका लागि आवश्यक एन्जाइमको मात्रालाई भिटामिन बीले बढाउँछ ।

माछा–मासु, अन्डा, दूध, दही, हरियो सागसब्जी, ब्रोकाउलीलगायत खानेकुरामा भिटामिन बी पाइन्छ । त्यसैगरी, जिन्कले कोषिकाहरूको झिल्लीलाई बलियो बनाएर छालालाई स्वस्थ राख्छ । दूधजन्य पदार्थ, गेडागुडी, मकै, आल्मोन्डलगायतमा जिन्कको मात्रा प्रचुर हुन्छ । छाला स्वस्थ राख्नका लागि भिटामिन ए, लाइकोपिन, रेस्वेराट्रोल, करक्युमिनलगायत पोषक तत्व पाइने खानेकुरा लिनुपर्छ । गोलभेँडा, तरबुजा र अम्बामा लाइकोपिनको मात्रा प्रचुर हुन्छ । त्यसैगरी, बदाम, पास्ता, अंगुर र डार्क चकलेटमा रेस्वेराट्रोल प्रचुर मात्रामा पाइन्छ ।

  • २ मंसिर २०८०, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech