कलेजोको क्यान्सर किन हुन्छ, उपचार के हो ?

    • प्रा डा रमेशसिंह भण्डारी /कलेजो प्रत्यारोपण सर्जन

  • १ मंसिर २०८०, शुक्रबार

क्यान्सर शरीरको जुनसुकै भागमा पनि हुन सक्छ। कलेजोमा हुने क्यान्सर भन्ने बित्तिकै हामीले के बुझ्छौं भने एउटा कलेजोकै तन्तुबाट निस्केको क्यान्सर हुन्छ। अर्को पाचन प्रणालीसँग सम्बन्धित अंगमा भएको क्यान्सर  फैलिएर कलेजोसम्म पुग्न सक्छ। पाचन प्रणालीमार्फत् सबै रगत कलेजोमा पुग्छ। त्यसले गर्दा कलेजोमा अन्य सबैतिरबाट क्यान्सर फैलिन सक्छ।

बच्चा र अन्य उमेर समूहका व्यक्तिमा हुने क्यान्सर फरक हुन्छ। हेपटाइटिसको संक्रमण भएका व्यक्तिमा क्यान्सर हुने खतरा रहन्छ। त्यस्तै रक्सी धेरै पिउने व्यक्तिमा सिरोसिस भएर क्यान्सर हुन सक्छ। त्यसबाहेक दुर्लभ खालका क्यान्सर पनि देखिन्छ। कलेजोको क्यान्सर सानो बच्चादेखि वृद्धसम्म हुन सक्छ। तर यसको जोखिम भने फरक हुन्छ। जन्मँदै थोरै तौल भएका अनि समयभन्दा अघि जन्मिएका बच्चालाई कलेजो बिग्रिने खतरा रहन्छ।

कलेजोको क्यान्सर सुरूआती चरणमा पत्ता लगाउन गाह्रो हुन्छ। किनकि सुरूआती चरणमा यसका लक्षण थाहा हुँदैन। विगतमा जस्तो क्यान्सर हुनसाथ सक्कियो भन्ने अवस्था छैन। क्यान्सरको उपचारमा धेरै प्रगति भएको छ। कलेजोको क्यान्सरको पनि उपचार असम्भव छैन। रगतको परीक्षण अनि सिटी स्क्यान र एमआरआई गरेपछि कलेजोको क्यान्सर हो कि होइन भनेर पत्ता लगाउन सकिन्छ।

कहिलेकाहीँ यति गर्दा पनि थाहा नहुन सक्छ। त्यस्तो अवस्थामा बायस्पी समेत गरिन्छ। क्यान्सर पत्ता लगाएपछि कलेजो काटेर फाल्ने या अरू उपायबाट उपचार गर्ने निर्णय गरिन्छ। कतिपय अवस्थामा अपरेसन गर्न नमिलेमा किमोथेरापीको माध्यमबाट उपचार गर्नुपर्छ।

कतिपय अवस्थामा कलेजोको प्रत्यारोपण समेत गर्नुपर्छ। त्रिवि शिक्षण अस्पतालमा हामीले गरेका १० वटा प्रत्यारोपणमध्ये एक जनालाई कलेजोको क्यान्सरका कारण प्रत्यारोपण गरिएको थियो। कलेजोको क्यान्सर भएमा सकेसम्म अपरेसनबाट काटेर निकाल्ने प्रयास गर्छौं। त्यो पनि भएन भने औषधीबाट नियन्त्रण गर्न सकिन्छ कि भनेर हेर्छौं।
त्यसपछि समेत भएन भने कलेजो प्रत्यारोपणमा जानुपर्छ। त्यसको लागि बिरामीको उमेर, दाता अनि खर्च गर्ने क्षमतालाई समेत ध्यान दिनुपर्छ। कलेजोको क्यान्सर हुनबाट जोगिन कलेजोको सिरोसिसको अवस्थामा जान दिनु हुँदैन। यदि भयो भने पनि समयमै उपचार गर्ने अनि चिकित्सकको निगरानीमा बस्नुपर्छ।

  • १ मंसिर २०८०, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech