पक्षाघातबाट कसरी जोगिने ? यस्ता छन् उपाय

    • स्वास्थ्य पेज

  • २२ कार्तिक २०८०, बुधबार

नेपालगन्जः एक जटिल शारीरिक अवस्थाको रूपमा रहेको पक्षाघात मष्तिष्कको कुनै भागमा रक्तसञ्चार नभएमा हुने गर्दछ । मष्तिष्कमा अक्सिजन तथा पोषक तत्वको कमी भएमा रक्त धमनीमा रगत जम्मा भएर अवरोध हुँदा मष्तिष्कले आफ्नो नियन्त्रण गुमाउँछ । यसलाई नै पक्षाघात भनिन्छ । समयमै यसको उपचार नगरे मष्तिष्क सधैँका लागि खराब हुनाका साथै व्यक्तिको मृत्युसमेत हुनसक्छ । सन्तुलन गुम्नु, अनुहार बाङ्गो हुनु, आँखाको ज्योति गुम्नु पक्षाघातका लक्षण हुन् । नेपाल पक्षाघात सङ्घका अध्यक्ष डा.राजु पौडेल विश्वभर बर्सेनि १ करोड ३० लाखभन्दा बढी व्यक्तिमा पक्षाघात हुने गरेको बताउँनुहुन्छ ।

हरेक ६ सेकेन्डमा एकजना र चार जनामा एक जनालाई पक्षाघात हुने गरेको छ । पक्षाघातको उपचारका लागि नेपाल पक्षाघात सङ्घले विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा तालिम प्रदान गर्नाका साथै उपचारका लागि अन्तर्राष्ट्रिय मापदण्ड तय गर्दै आएको डा.पौडेल बताउँनुहुन्छ । उक्त सङ्घले जर्मनीको युनिभर्सिटी हस्पिटल हाइडलवर्गको सहयोगमा नेपाल पक्षाघात परियोजनासँग सहकार्य गरी काम गर्दै आएको छ । सन् २०१७ मा स्थापना भएको संघले नेपालको पक्षाघातको वर्तमान अवस्था र त्यसको उपचारका लागि गरिने उपायको खोजी गर्दै आएको छ । यस्तै, जिआइजेड, विश्व स्वास्थ्य सङ्गठनलगायत संस्थासँगको सहकार्यमा नेपालको पक्षाघातसम्बन्धी गाइडलाइन तय गर्ने काम गर्दै आइएको उक्त सङ्घले पक्षाघातसम्बन्धी निर्देशिका चाँडो निर्माण गरी सरकारलाई हस्तान्तरण गर्ने तयारी गरेको छ ।

देशभरका १५ अस्पतालको पक्षाघातको अवस्थाबारे सूचीकरण गर्ने, बिरामीको अवस्थाबारे जानकारी राख्नेलगायतका काम पनि संघले गर्दै आएको छ । वरिष्ठ न्यूरोलोजिस्टसमेत रहनुभएका डा पौडेल पक्षाघात भएकामध्ये एकतिहाइले अकालमा ज्यान गुमाउनुपरेको भन्दै यसलाई भयावह हुन नदिन सरकारले विशेष ध्यान दिनुपर्ने बताउँनुहुन्छ । ‘विश्वमा हरेक चार जनामा एक जनालाई र ६ सेकेन्डमा एक जनालाई पक्षाघातको सम्भावना रहेको हुन्छ, यसबाट सजग हुनुपर्छ’, उहाँले भन्नुभयो । नेपालजस्तो अल्पविकसित र विकासोन्मुख देशमा पक्षाघातको दर बढी भएकाले सरकारले समयमै ध्यान दिनु जरुरी रहेकामा डा. पौडेल जोड दिनुहुन्छ ।

नेपालमा अहिले पक्षाघात भएकामध्ये १० प्रतिशतको मृत्यु हुने गरेको तथ्याङ्क छ । डा पौडेलका अनुसार उच्च रक्तचाप, मधुमेह, मोटोपन, धुमपान, निष्क्रिय जीवन पद्धति, असन्तुलित आहार र मुटुको चाल गढबढ हुँदा पक्षाघातको सम्भावना हुने भएकाले त्यसप्रति सतर्क रहनुपर्छ । सन्तुलन गुम्नु, अनुहार बाङ्गो हुनु, आँखाको ज्योति अचानक गुम्नु, बोली लरबराउनु, हातखुट्टा लुलो हुनु पक्षाघातको लक्षण भएको र यस्ता लक्षण देखिए साढे चार घण्टाभित्रै अस्पताल पुग्न सकेमात्र उपचार सम्भव रहेको डा.पौडेलको भनाइ छ ।

पक्षाघात हुँदा शरीरमा रगत जम्ने भएकाले रगत पातलो बनाउने औषधि प्रयोग गरेर बिरामीको उपचार गर्नुपर्ने र यसका अलावा बिरामीलाई फिजियोथेरापी गर्नुपर्ने हुन्छ । नेपालमा भौगोलिक विकटता, सीमित स्रोत साधन र दक्ष जनशक्तिको अभावका कारण पक्षाघातको उपचारमा चुनौतीपूर्ण हुँदै गएको छ । समयमै रोग पहिचान गरेर उपचार गर्न सके उपचार सम्भव रहेको डा।. पौडेलको भनाइ छ ।

  • २२ कार्तिक २०८०, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech