भूकम्पको सकसः दूधे बच्चासँगै सुत्केरीहरू समेत चिसो भुइँमा बस्न बाध्य

उनीहरू पुराना पाल, त्रिपाल, तरकारीका टनेलको सहयोगमा छाप्रा र टहरा बनाएर बसेका छन् । यस्तो बेलामा सुत्केरी, गर्भवतीलाई पोषण र मायाममता पनि उत्तिकै खाँचो पर्छ ।


    • स्वास्थ्य पेज

  • २० कार्तिक २०८०, सोमबार

नेपालगन्जः जाजरकोट र रुकुम पश्चिममा भूकम्पका कारण दूधे बच्चासँगै सुत्केरीहरू समेत चिसो भुइँमै बस्न बाध्य भएका छन् । शुक्रबार मध्यरातको भूकम्पले कतिपयका घर भत्किएका छन् भने कतिपयका घर चर्किएपछि उनीहरू बारीमा पाल टाँगेर बस्न बाध्य छन् । पहिलो पटक सुत्केरी हुनु भएकी १८ वर्षीया पवित्रा विकले छोरी जन्मिएपछि तीन दिनमात्रै घरको बास पाउनु भएन ।

भूकम्पले घरै चर्किएपछि उहाँ बारीमा पाल टाँगेर बस्न बाध्य हुनु भएको छ । राति शीत परेर चुहिन्छ । शीतले भिजाउँछ । चिसोले गर्दा उहाँकी छोरीको नाइटो पाकेको छ । आँखा पाकेका छन् । भूकम्प गएको तेस्रो दिनसम्म प्रभावितहरूसम्म राहत नपुगेपछि सुत्केरी, गर्भवती, केटाकेटीसहित महिला, ज्येष्ठ नागरिक, अपांगता भएका, अशक्त तथा असहायहरूलाई रात कटाउन मुस्किल छ ।

उनीहरू पुराना पाल, त्रिपाल, तरकारीका टनेलको सहयोगमा छाप्रा र टहरा बनाएर बसेका छन् । यस्तो बेलामा सुत्केरी, गर्भवतीलाई पोषण र मायाममता पनि उत्तिकै खाँचो पर्छ ।

जिल्ला विपद् व्यवस्थापन समितिमार्फत छिटोभन्दा छिटो राहत पुर्‍याउन समन्वय गरिरहेको जाजरकोट स्वास्थ्य सेवा कार्यालय प्रमुख डा.प्रतीक्षा भारतीले बताउनुभयो। भेरी नगरपालिकाका अनुसार गत वर्ष नगर क्षेत्रमा मात्रै ९ सय ८३ जना सुत्केरी भएका थिए ।

  • २० कार्तिक २०८०, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech