भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १५७ पुग्यो, कुन अस्पतालमा कति छन?

    • स्वास्थ्य पेज

  • १८ कार्तिक २०८०, शनिबार

नेपालगन्जः जाजरकोटमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १ सय ५७ पुगेको छ । यसमध्ये ९९ जना महिला र ५८ जना पुरुष रहेका छन् । सबैभन्दा धेरै भूकम्पको केन्द्रबिन्दु रहेको जाजरकोटमा १ सय ५ जनाको मृत्यु भएको छ । जसमा ७२ जना महिला र ३३ जना पुरुष रहेका छन् । त्यस्तै, रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ । जसमध्ये २७ जना महिला र २५ जना पुरुष रहेका छन् । यसै गरी हालसम्म जाजरकोटमा ८१, रुकुम पश्चिममा ७९ तथा दैलेख र जुम्लामा ३–३ जना गरी १६६ जना घाइते भएका छन् । घाइते मध्ये ५ जना डिस्चार्ज भएका छन् ।

भेरी अस्पतालमा २९ घाइतेको उपचार हुँदै, ३ जनाको अवस्था गम्भीर

भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुममा घाइते भएका हेलिकप्टरबाट २९ जना भेरी अस्पतालमा आइपुगेका छन् । २९ जनामध्ये तीन जनाको अवस्था गम्भीर छ ।भेरी अस्पतालमा ८० जनासम्म बेडमा राखेर उपचार गर्ने क्षमता छ । घइते बिरामी आउने क्रम चलिरहेको छ । एक जना बिरामी बाटो आउँदा आउँदै मृत्यु भएको छ । ‘अस्पतालका सबै स्वास्थ्यकर्मीलाई परिचालन गरिएको छ ।

रुकुम पश्चिमबाट ७ घाइतेलाई काठमाडौँ लगियो

शुक्रबार राति भूकम्पका कारण घाइते भएका रुकुमका सात जनालाई थप उपचारका लागि काठमाडौँ लगिएको छ । नेपाल वायुसेवा निगमको ट्विनअटर जहाजमार्फत शनिबार उनीहरुलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको छ ।

कर्णाली प्रदेश अस्पतालमा २५ जनाको उपचार हुँदै, अपरेशन भोलि

भूकम्पमा परी घाइते भएका २५ जनाको सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ । एक जनाको घाइते निको भएर डिस्चार्ज भएको र एक जनालाई भेन्टिलेटरमा राखेर उपचार गरिरहेको अस्पतालका निर्देशक डा.डम्बर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार ६ जनाको हातखुट्टा भाँचिएका छन् । अन्यको भने सामान्य चोटपटक छ । ‘बिरामीको स्वास्थ्य अवस्था सामान्य हुँदै गएपछि अप्रेशन गर्नुपर्ने बिरामीलाई भोलि वा पर्सी गछौं’ डा.खड्काले भन्नुभयो, ‘अब धेरै बिरामी आउने सम्भावना छैन ।’ अस्पतालको संरचनाले पर्याप्त भएकाले अहिले भएका बिरामीलाई सहज रुपमा उपचार गर्न सकिने उहाँले बताउनुभयो ।

  • १८ कार्तिक २०८०, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech