सेनाले भन्यो- उद्धार तथा स्वास्थ्यकर्मीको चार टोली प्रभावित क्षेत्र पुग्यो

    • स्वास्थ्य पेज

  • १८ कार्तिक २०८०, शनिबार

नेपालगन्जः जाजरकोटको बारेकोट गाउँपालिका १ रामीडाँडा केन्द्रविन्दु बनाएर शुक्रबार राति गएको भूकम्पलगत्तै नेपाली सेनाले उद्धार कार्य तीव्र बनाएको जनाएको छ । शनिबार एक विज्ञप्ति जारी गर्दै सेनाले रातिबाटै प्रभावित क्षेत्रमा उद्धार टोली परिचालन गरेको बताएको छ । जाजरकोट र पश्चिम रुकुममा परिचालित फौजले अन्य सुरक्षा निकाय र स्थानीयको सहकार्यमा खोज तथा उद्धार कार्य जारी राखेको जनाएको छ ।

परिचालित फौजले घाइतेहरुको उद्धार गरी अस्पताल पठाइरहेको छ भने मृतकहरुको शव समेत निकालिरहेको जनाएको छ । काठमाडौं, सुर्खेत र नेपालगन्जमा डाक्टर र स्वास्थ्य सामाग्रीसहितको टोली थप उद्धार कार्यको लागि स्ट्याण्डबाइ राखिएको तथा घाइतेहरुको थप उपचारका लागि सैनिक अस्पताल नेपालगन्ज र वीरेन्द्र अस्पताल छाउनीमा डा.अधिकृतको टोली तयारी हालतमा रहेको जानकारी दिएको छ ।

सेनाका अनुसार भूकम्प प्रभावित जिल्लाहरूमा खोज तथा उद्धारका लागि हेलिकप्टरबाट काठमाडौंबाट चौरजहारीमा ३ जना डाक्टरसहित १६ जना, स्काइ ट्रकमार्फत चौरजहारीमै काठमाडौंबाट थप १६ जना, हेलिकप्टरबाट सुर्खेत लामिडाँडामा ३ जना र हेलिकप्टरबाट काठमाडौंबाट चौरजहारीमा अरु २६ जना मेडिकल टिम सहितका फौजहरू परिचालन भएका छन् । ‘परिचालित फौजले अन्य सुरक्षा निकाय र स्थानीयको सहकार्यमा खोज तथा उद्धार कार्य निरन्तर जारी राखेको छ,’ सेनले भनेको छ ।

  • १८ कार्तिक २०८०, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech