गण्डकीमा डेंगीबाट सातजनाले ज्यान गुमाए, साढे ११ हजार संक्रमित

    • स्वास्थ्य पेज

  • १७ कार्तिक २०८०, शुक्रबार

नेपालगन्जः स्याङ्जामा पाँचजना र तनहुँमा दुई गरी सातजनाले डेंगीकै कारण ज्यान गुमाइसकेका छन । गण्डकीमा ११ जिल्लामध्ये मनाङ, मुस्ताङसहितका सबै जिल्लामा डेंगी पुगेको छ । महामारी तथा स्वास्थ्य विपद्सम्बन्धी दैनिक संक्षिप्त विवरण प्रकाशन गर्दै आइरहेको प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका अनुसार गण्डकीमा डेंगीबाट संक्रमित हुनेको संख्या ११ हजार ३४२ पुगेको छ । यही तथ्यांकभित्र परेका सातजनाको ज्यान गएको हो ।

मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार डेंगी संक्रमण सुरु भएको ४८औँ हप्तामा आएर बल्ल संक्रमण दर घट्न थालेको छ । चाडपर्वको समयमा उत्कर्षमा पुगेको डेंगी संक्रमण चिसो बढेसँगै घट्दै गएको तथ्यांकले देखाउँछ । डेंगीबाट सबैभन्दा बढी तनहुँ प्रभावित बन्यो । तनहुँमा मात्रै ६ हजार ६९९ जना डेंगीबाट संक्रमित भएका छन् । यो भनेको कुल संख्याको ५९ प्रतिशत हो । डेंगीको हटस्पट बनेपछि तनहुँमा प्रदेश सरकारको विभागीय मन्त्रायदेखि निर्देशनालय, स्वास्थ्य कार्यालय अस्पतालहरूले ध्यान केन्द्रित गरे । मन्त्रालयका प्रवक्ता सुरज गुरौका अनुसार तनहुँमा ‘खोज र नष्ट’ अभियान चलाइएको छ ।

तनहुँमा ३४ स्वास्थ्य संस्थाबाट डेंगीको परीक्षण गरिएको छ । त्यसमध्ये सबैभन्दा बढी दमौली अस्पतालमा परीक्षण गरिएको छ । डेंगी संक्रमित बढेसँगै अस्पताल तथा मेडिकलमा बिरामीको चाप बढ्दो छ ।तनहुँपछि प्रदेश राजधानी रहेको कास्कीमा संक्रमणको दर निकै फैलिएको छ । मन्त्रालयका अनुसार कास्कीमा दुई हजार ६२५ जना डेंगीबाट संक्रमित बनेका छन् । हिमाली जिल्ला मनाङमा १०, मुस्ताङमा २, म्याग्दीमा १०८ जना संक्रमित बनेका छन् ।

पर्वतमा १९, बागलुङमा ३८३, स्याङ्जामा ४७६, नवलपुरमा १२१, लमजुङमा २१४ र गोरखामा ६८५ जनालाई डेंगी संक्रमण भएको छ । मन्त्रालयले सार्वजनिक गरेको यो विवरण वैशाखयताको हो । मन्त्रालयले साप्ताहिकरूपमा संक्रमण दरको ग्राफ सार्वजनिक गर्ने गरेको छ । जसअनुसार ३८ देखि ४१ औँ हप्तामा सबैभन्दा बढी डेंगी संक्रमण भेटिएको हो । यो भनेको गत भदौको अन्तिमदेखि असोज अन्तिम साताको विवरण हो । त्यतिबेला संक्रमणको दर ९४२ बाट एक हजार ४२३ सम्म पुगेको थियो ।

  • १७ कार्तिक २०८०, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech