के हो अल्सर ? अल्सर भएमा के नखाने ?

    • स्वास्थ्य पेज

  • १६ कार्तिक २०८०, बिहीबार

साधारण भाषामा अल्सर भन्नाले पेटमा घाउ हुनु हो । तर मेडिकल भाषामा यसलाई डुओडेनल अल्सर ,पेप्टिक अल्सर वा ग्याष्ट्रिक अल्सर भनिन्छ । प्याथोलोजिकल्लि हेर्दा पेटमा हुने विभिन्न पत्र पत्रहरु मध्ये एउटा निश्चित पत्र भन्दा भित्र घाउ भएको छ भने त्यसलाई अल्सर भएको भन्ने गरिन्छ । अल्सर पेटमा र सानो आन्द्रामा हुने गर्छ । पेटको अल्सर भए खाना खानेबित्तिकै पेट दुख्ने हुन्छ भने सानो आन्द्राको अल्सर भएमा खाली पेटमा दुख्ने तर खान खाए पछि आराम हुन्छ ।

कस्ता लक्षणहरु देखा पर्छन ?

अल्सरको सुरुवाति लक्षणहरुमा छाती पोल्ने, अमिलो पानि आउने र पेट दुख्ने समस्या देखापर्छ । यस्तो अवस्थामा बिरामिहरुलाई दुई हप्ता लाई औषधि दिने गरिन्छ । त्यस पछि पनि बिरामी लाई आराम नभए  अल्सर पो छकी भनि चेकजाँच गर्नु पर्ने हुन्छ। ५०/५५ वर्ष माथिको अल्सरका बिरामीलाई क्यान्सर हुने सम्भावना बढी हुन्छ। यदि पेट सम्बन्धि केहि समस्या भए एन्डोस्कोपी गरेर हेरिन्छ । एन्डोस्कोपीबाट अल्सर अथवा क्यान्सर भए सुरुकै अवस्थामा थाहा पाउन सकिन्छ । ५० वर्ष माथिको बिरामीलाई घाउ भन्दापनि  क्यान्सर छ कि छैन हेर्न जरुरी हुन्छ ।

लक्षणहरु 

  • पेट दुख्ने
  • पेटको अल्सर भए खाना खानेबितिकै पेट दुख्ने
  • सानो आन्द्राको अल्सर भए रतिमा दुख्ने खाली पेट दुख्ने खान खाए पछि आराम हुने
  • छाती  पोल्ने,
  • अमिलो पानि आउने
  • वान्ता हुने
  • छिटो भोक लाग्नु वा खान मन नलाग्नु
  • तौल घट्नु
  • खान मन नलाग्ने ,
  • हेमोग्लोबिन कम हुनु,
  • कालो दिशा हुन

के खानपानका कारण अल्सर हुन्छ ?

अल्सर खानपानका कारण हुन्छ भन्ने धारणा हाम्रो समाजमा छ , तर यो कुरा भ्रम मात्रै हो । यो हेलिकोब्याक्टर पाइलोरी (H. pylori) नामक किटाणुको कारणले हुन्छ । ९५ प्रतिशत भन्दा बढी अल्सर पेटमा हेलिकोब्याक्टर पाइलोरी नामक ब्याक्टेरियाको संक्रमणले हुन्छ र २ प्रतिशत सन्क्रमितमा क्यान्सर पनि गराउन सक्छ । अर्को कारण भनेको हामीले प्रयोग गर्ने औषधिहरु जस्तै पेन किलरहरु, मुटुको रोगहरुमा रगत पातलो हुने औषधिहरुको प्रयोगले पनि अल्सरलाई निम्त्याउन सक्छ ।

अल्सरको किटाणुहरु हुने प्रमुख कारण सरसफाईको कमि हुनु हो । हामीले खाने पानी, रोड छेउको खाना सरसफाई नगरी बनाइएको छ भने संक्रमण हुने सम्भावना हुन्छ । तर सबै किटाणुले अल्सर गराउँछ भन्ने पनि हुदैन । साधारण भाषामा बुझ्नुपर्दा कडा किसिमको किटाणुहरुले मात्रै अल्सर गराउँछ । घरमा एक जना लाई अल्सर भए अरु लाई पनि हुने सम्भावना ५०  प्रतिशत  हुन्छ । किनकि हाम्रो जीवनशैली, सरसफाई एकै किसिमको हुने भएकाले परिवारमा एक जनालाई भए अर्कोलाई हुने सम्भावना बढ्छ।

कारक तत्वहरु

  • ब्याक्टेरियाको संक्रमण
  • चिकित्सकको सल्लाहबिना लामो समयसम्म दुखाई कम गर्ने अ‍ौषधि वा पेन किलर को प्रयोग
  • दुशित खाना र पानि
  • धूम्रपान, मद्यपान एवं सुर्तीजन्य पदार्थको सेवन,
  • जंकफुड ,अत्याधिक पिरो, अमिलो सेवन,

अल्सर भएमा के नखाने ?

  • अत्याधिक पिरो, अमिलो, चिल्लो कुराले शरिरमा बढि अम्ल उत्पादन हुन्छ, त्यसैले त्यस्तो खानेकुराहरु खानुहुँदैन ।
  • अमिलो, सुन्तला ,जुनार खानु हुदैन
  • चकलेट, मिठाई, बढी गुलियो खानु हुदैन
  • रक्सी, चुरोट
  • चिया कफी
  • फ्राई गरिएका खाने कुरा
  • कोकाकोला, स्प्राइट, जस्ता कार्बोनेट पाइने खाने कुरा
  • कसैलाई दुध खादा गाह्रो हुनेगर्छ

बिरामीले आफ्नो अवस्था हेरेर के खाँदा गाह्रो भएको छ त्यस्तो खाना खानु हुदैन । नियमित भोजनको रुपमा बिरामीलाई सादा भोजन र शरिरलाई आवश्यकपर्ने पौष्टिक तत्व भएको खानेकुरा खानुपर्छ ।

के सबै अल्सर क्यान्सर हुन्छन् ?

सबै अल्सर क्यान्सर हुदैन तर ५० वर्ष माथिको बिरामीलाई अल्सर छ भने क्यान्सर हुने सम्भावना बढी हुन्छ । वंशाणुगत कारणले पनि  हुने सम्भावना बढी हुन्छ। पारिवारिक इतिहासमा कसैलाई क्यान्सर भएको छ भने पनि सम्भावना बढेर जान्छ । हाम्रो जीवनशैली जस्तै चुरोट खाने, जंकफुड अथवा लामो समय सम्म भण्डारन गरेर राखेको खाना , अत्याधिक नुन ,पोलेको खाने कुराहरुले पनि क्यान्सर हुने सम्भावना बढाउँछ ।

यदि युवा अवस्थाको मान्छेलाई पेट दुखेको छ वा अल्सर भएकोछ भने क्यान्सरनै हुन्छ भन्ने हुदैन। तर असामान्य लक्षणहरु जस्तै खान मन नलाग्ने ,तौल घट्ने, वान्ता हुने, हेमोग्लोबिन कम हुनु, कालो दिशा भइराखेको छ भने क्यान्सरको सम्भावना बढ्न जान्छ ।

घरेलु उपायहरु कत्तिको उपयुक्त हुन्छ ?

हाम्रो समाजमा कुनै पनि स्वास्थ्य समस्या भयो भने आफ्नो वरपरका मान्छेबाट सल्लाह लिने प्रचलन बढि देखिन्छ जसले गर्दा समस्या निको हुनुको साटो बढदै जान्छ। त्यसैले कुनै पनि स्वास्थ्य समस्या हुँदा चिकित्सकको सल्लाह लिनु अत्यन्त आवश्यक हुन्छ। तर हाम्रो नेपालको अवस्था हेर्ने हो भने कतिपय  ठाउँमा डाक्टरको सुबिधा छैन यस्तो अवस्थाहरुमा सल्लाह लिन सकिन्छ तर लामो समयका लागि भने होइन । अलार्म लक्षणहरु देखिएमा तुरुन्तै चिकित्सकको सल्लाह लिनु अत्यन्त आवश्यक हुन्छ । ५० नाधेका व्यक्तिले यस्तो कुरामा समय फाल्नु हुदैन।

कस्तो उपचार उपयुक्त हुन्छ ?

अल्सरको उपचार गर्नु अघि अल्सर सामान्य या जटिल कस्तो हो त्यो पत्ता लगाउनु पर्ने हुन्छ। सामान्यनै छ भने मेडिकल विधिले ठिक गर्न सकिन्छ। तर  रगत बगिरहेको छ , आन्द्रा फुट्यो र आन्द्रा रुकावट भयो भने यसलाई जटिल मानिन्छ र यस्तो अवस्थामा सर्जरी नै गर्नुपर्ने हुन्छ।  एन्डोस्कोपीको माध्यमद्धारा सामान्य या जटिल अवस्था बारे थाहा पाउन सकिन्छ ।

प्रायः बिरामीमा गलत बुझाई रहेको छ कि, केहि नखाएर उसिनेको खाने कुरामात्र खाएर अल्सर निको हुन्छ । तर यस्तो खानपानले शरिरलाई आवश्यक न्यूट्रिशन पुग्दैन। हामीले शरीरलाई आवश्यक खाना खानु पर्ने हुन्छ तर जुन कुराले आफुलाई गाह्रो बनाई राखेको छ त्यस्तो खानालाई मात्र छोड्नु पर्छ । चिया कफीमा दुध कम खाने होइन कि चिया कफीनै नखाने गर्नु पर्छ। बिरामीले आफ्नो स्वास्थ्य अवस्था हेरि आवश्यक भोजन गर्नुपर्ने हुन्छ । औषधिहरुको प्रयोगले पनि पेटमा घाउ बनाउँन सक्छ त्यसैले जथाभावी प्रयोग गर्नु हुँदैन ।

  • १६ कार्तिक २०८०, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech