कतिपय मानिस बिहान चाँडो उठ्न चाहन्छन् । त्यसका लागि राति नै अलार्म राखेर सुत्छन् । तर, बिहान अलार्म बजेपछि त्यसलाई बन्द गरेर फेरि सुत्छन् र कोही उठाउन आयो भने पनि रिसाउँछन् । यस्तो अवस्थाबाट धेरै मानिस गुज्रिएका हुन्छन् । इच्छाशक्ति बलियो बनाउने र स्वस्थकर जीवनशैली जिउने हो भने यस्तो समस्याबाट टाढा रहन सकिन्छ ।
राति सातदेखि नौ घन्टाको पूरा निद्रा लिन जरुरी छ । रातको समय चाँडै सुत्नुभयो भने अझै राम्रो हुन्छ । यसले गर्दा तपाईं पर्याप्त निदाउन सक्नुहुन्छ र निद्रा पूरा भएपछि उठ्ने संकेत शरीर आफैँले दिन्छ ।
कोही मानिस बिहान उठ्न धेरै मुस्किल छ भन्ने सोच्छन् । यस्तो डरले तपाईंको दैनिक रुटिन खराब भइरहेको हुन्छ । केही दिनसम्म मुस्किल भए पनि बिस्तारै सहज हुँदै जान्छ भन्ने याद गर्नुस् । दुई हप्तामा तपाईंको शरीर बिहान उठ्नका लागि मज्जाले तयार भइसकेको हुन्छ । त्यसैले धैर्य राख्नुस् ।
यदि आठ घन्टाभन्दा लामो समय सुतेर उठ्दा पनि तपाईंको शरीर थाकेको हुन्छ, वा तपाईंलाई भारी महसुस हुन्छ भने कुनै स्वास्थ्य समस्या देखिएको हुन सक्छ । यस्तो अवस्थामा तुरुन्त डाक्टरसँग सम्पर्क गर्नुस् ।