खसीको मासु कसले खानुहुँदैन ?

मुटुसम्बन्धी रोगी, उच्च रक्तचापका बिरामीलाई रातो मासु कम खान उपयुक्त हुने डा.विष्टको सुझाव छ ।


    • स्वास्थ्य पेज

  • १ कार्तिक २०८०, बुधबार

Untitled design - 1

नेपालगन्जः अहिले यसैपनि दशैंको माहौल सुरु भइसकेको छ । दशैंको प्रिय भोजन हो, मासु । त्यसमा पनि खसीको पक्कु । तर, खसीको मासु खाने कि नखाने ? कतिपयमा द्विविधा हुन्छ । खासगरी मुटुको रोग भएका, कोलेस्टोरको समस्या भएकाहरु खसीको मासु खान डराउँछन् । पेट तथा कलेजो रोग विशेषज्ञ डा. अवशेष भण्डारी भन्नुहुन्छ, ‘कुनै पनि रोगको लागि यो खानेकुरा खानै हुन्न भन्ने हुँदैन । जुनसुकै रोगमा पनि सबै कुरा खान मिल्छ तर सन्तुलन मिलाएर र उमेर अनुसार मात्रा मिलाएर चिकित्सकको सल्लाह अनुसार खानुपर्ने हुन्छ ।’

खसीको मासुमा उच्च प्रोटिन, जनवारजन्य बोसो (एनिमल फ्याट)का साथै हाई कोलेस्टेरोल र हाई कार्बोहाइड्रेट पनि हुन्छ । यस्ता बोसोयुक्त रातो मासु अत्यधिक खाँदा विभिन्न रोग निम्त्याउन सक्ने उहाँको भनाइ छ । मासु रातो र सेतो गरी दुई प्रकारको हुन्छ । खसीको मासुलाई रातो मासुमा राखिन्छ । मुटुरोग विशेषज्ञ डा.माधव विष्टको भनाइ छ, ‘सेतो मासुको तुलनामा रातो मासुमा बढी चिल्लो पदार्थ, बोसो र कोलेस्टेरोलको मात्रा बढी हुन्छ ।

जुन धेरै खाँदा मुटुरोग तथा उच्च रक्तचापको जोखिम हुन्छ । किनकि मासुमा भएको बोसो रक्तनली वा धमनी साँघुरो बनाएर रक्तसञ्चारलाई प्रभाव पार्छ ।’ रक्तसञ्चार राम्ररी हुन नपाएपछि मुटुमा चाप पर्छ र रक्तचाप एक्कासि बढ्छ । त्यसैले मुटुसम्बन्धी रोगी, उच्च रक्तचापका बिरामीलाई रातो मासु कम खान उपयुक्त हुने डा.विष्टको सुझाव छ । ‘बरु यसको सट्टामा कुखुरा र हाँसको मासु खान सकिन्छ,’ उहाँको भनाइ छ । मुटुरोग, फ्याटी लिभरको समस्या भएका व्यक्तिले सकेसम्म रातो मासु खान हुँदैन ।

यसमा भएको उच्च कार्बोहाइड्रेट र कोलेस्टेरोलले रोग अरु बल्झाउने सम्भावना हुने डा.भण्डारी बताउनुहुन्छ । रातो मासु धेरै खाँदा मोटोपन र कोलेस्टेरोल बढ्ने सम्भावना अधिक हुन्छ । मासु पच्ने कुरा उमेरमा पनि भर पर्छ । ‘२० वर्षको मानिसले धेरै खाए पनि त्यो सामान्य हुन्छ । किनकि उसको मेटाबालिज्म बलियो हुन्छ । तर ४० वर्षको उमेरमा बढी मासु खाएमा मुटुरोग, उच्च रक्तचाप, प्यारालाइसिस र हृदयघातको जोखिम हुन्छ,’ डा. भण्डारी भन्नुहुन्छ, ‘उमेर बढेसँगै मेटाबोलिजम घट्दै जान्छ ।’

खसीको मासु कसले खानुहुँदैन ?

खसीको मासु पटक्कै खानु हुँदैन भन्ने नभएको डा.भण्डारीको भनाइ छ । तर युरिक एसिडको समस्या भएकाले खसीको मासु कम खानु राम्रो हुने उहाँको सुझाव छ । ‘किनकि खसीको मासुमा प्रोटिन र बोसोको मात्रा धेरै हुन्छ,’ उहाँ भन्नुहुन्छ, ‘युरिक एसिडको समस्या भएकाले प्रोटिन बढी सेवन गर्दा जीउ दुख्ने वा रोग अझ बल्झिने सम्भावना हुन्छ ।’

मिर्गौला फेल भएकाले पनि खसीको मासु कम खानु लाभदायक हुन्छ । मिर्गौलाको काम प्रोटिनलाई छानेर शरीरलाई चाहिने र नचाहिने कुरा छुट्टाउनु हो । यदि मिर्गौला फेल, भएका व्यक्तिको मिर्गौलाले प्रोटिन छान्न नसक्ने भएकाले दैनिक सीमित मात्रामा मात्र प्रोटिन खान डा.भण्डारीको सुझाव छ । यस्तै पायल्स, फिस्टुलाका बिरामीले कब्जियत गराउने खानेकुरा सकेसम्म कम खानुपर्छ ।

‘खसीको मासुमा बोसो र प्रोटिन बढी भएकाले गर्दा पच्न समय लाग्ने गर्छ । यसले कब्जियत भएर दिसा गर्न समस्या हुनसक्छ । त्यसैले पायल्सको बिरामीलाई पनि मासु नखाने नै सल्लाह दिइन्छ,’ डा. भण्डारी भन्नुहुन्छ । यस्तै दीर्घरोगीले सकेसम्म खसीको मासु कम खानु राम्रो हुन्छ ।

किनकि यसमा धेरै फ्याट र प्रोटिन हुन्छ, जसले शरीरमा एसिड र शरीरलाई नचाहिने कोलेस्टेरोलको मात्रा बढाउँछ । खसीको मासुको विकल्पमा गेडागुडी, च्याउ, पनीर, तोफू, भटमास दुग्धजन्य पदार्थ (दूध, दही, चीज), फलफूल जस्ता प्रोटिनका साथै फाइबरयुक्त खानेकुरा सकिन्छ । तर मासुमा पाइने एनिमल फ्याटका लागि भने मासु नै खानुपर्ने डा.विष्टको भनाय छ । यसमा पाइने भिटामिन बी १२ अन्य खानेकुराले पूर्ति गर्न नसक्ने उहाँ बताउनुहुन्छ ।

  • १ कार्तिक २०८०, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech