जसले हुन सक्छ बालबालिकामा डिप्रेसन

    • विजय ज्ञवाली/मनोविद्

  • ३० आश्विन २०८०, मंगलवार

वयस्क र वृद्ध उमेरका व्यक्तिलाई मात्र डिप्रेसन हुन्छ, बालबालिकामा कुनै किसिमको तनाव नहुने र रमाउने उमेर हुने हुँदा यसको जोखिम हुँदैन भन्ने सोच धेरैमा रहेको पाइन्छ । जसकारण डिप्रेसन व्यवस्थापनसम्बन्धी बहस पनि वयस्क र वृद्ध उमेर समूहलाई नै आधारित रहेर हुने गरेको छ । तर बालबालिकामा पनि डिप्रेसन हुन सक्ने विभिन्न कारण हुन्छन् । जसमध्ये पाँच कारणबारे यहाँ चर्चा गरिन्छ ।

वंशाणुगत

वंशाणुगत कारणले बालबालिकालाई डिप्रेसन हुन सक्ने सम्भावना हुन सक्छ । बाबुआमामध्ये कसैलाई डिप्रेसन छ भने बच्चामा पनि हुन सक्छ । यसलाइ बायोलोजिकल डिप्रेसन भनिन्छ ।

पारिवारिक वातावरण

बालबालिकामा डिप्रेसन गराउन सक्ने अर्को कारण हो पारिवारिक वातावरण । आमाबाबुबीचको दिनँहु झगडा हुने, बाबुआमा लामो समय विदेशमा र सन्तान नेपालको होस्टेलमा वा आफन्तकहाँ बसेर पढेका छन् भने बच्चामा डिप्रेसनले सताउन सक्छ ।

त्यस्तै, बाबुले जाँडरक्सी खाएर आमालाई कुटपिट गर्ने, बाबुले घरको जिम्मेवारी नलिने, सन्तानलाई समय नदिने जस्ता तनावरहित वातावरणमा हुर्किेरहेका बालबालिका प्रत्यक्ष-अप्रत्यक्ष रुपमा डिप्रेसनको सिकार हुन सक्छन् ।

यस्तोमा उनीहरुमा पहिले तनाव हुन्छ र तनाव आक्रोशमा बदलिएर व्यवहार पनि परिवर्तन देखिन थाल्छ । जस्तै, एकोहोरो हुने, झर्किने, चर्को स्वरमा बोल्ने, भनेको नमान्ने, पढाइमा ध्यान दिन नसक्नेलगायत समस्या देखिन सक्छ ।

बाबुआमाको सम्बन्ध विच्छेद

सम्बन्ध विच्छेदका घटना पछिल्लो समय निकै बढिरहेका छन् । यसले बालबालिकालाई प्रत्यक्ष–अप्रत्यक्ष रुपमा असर पारिरहेको हुन्छ । सम्बन्ध विच्छेद हुनुअघि आमाबुवाबीचको झगडा देखेर छोराछोरी डिप्रेसनमा पर्छन् । सम्बन्ध विच्छेदपछि छोराछोरीले कोसँग बस्ने भन्ने बुझ्दैनन् । किनभने आमासँग बस्दा बाबुको माया पाउँदैनन् भने बाबुसँग बसेमा आमाको मायाबाट अलग हुन्छन् । बच्चाको चाहना अनुसार एकसाथ बाबुआमाको माया नपाउँदा र साथीभाइको परिवार मिलेको देख्दा उनीहरुमा बिस्तारै डिप्रेसन हुन सक्छ ।

वातावरणीय प्रभाव

धेरैलाई लाग्न सक्छ, वातावरणीय कारणले पनि डिप्रेसन हुन्छ र ? तर वातावरणीय कारणले पनि बच्चामा डिप्रेसन हुन सक्छ ।

उदाहरणका लागि बच्चा भक्तपुरबाट कलंकीसम्म पढ्न जानुपर्ने बाध्यता छ भने उनीहरुमा लामो यात्राको थकाइ, बसमा यात्रा गर्दा भीडभाड, कोलाहल, सिट नपाएर उभिनुपर्ने, धुवाँधुलो, समयमा पुग्न अनिद्रामै निस्कन पर्ने जस्तो दैनिकीले उनीहरुमा निराशापन, थकाइको तनाव हुन सक्छ । यस्तोमा उनीहरुलाई सो वातावरण स्वभाविक नै हो भन्ने पर्न सक्छ । र, कम उमेरमै भागदौड दैनिकीले डिप्रेसन हुन सक्छ ।

जथाभावी औषधि सेवन

कुनै पनि बालबालिकाले जथाभावी रुपमा कम उमेरमै औषधि खाइरहेका छन् भने पनि उनीहरुमा डिप्रेसनको जोखिम हुन सक्छ । अहिले देखासिकी गरेर आफ्नो सन्तानलाई सबै कुरामा अरुभन्दा उत्कृष्ट बनाउन उचाई बढाउन, मोटोपन भए घटाउन र तौल कम भए बढाउन परीक्षण नगराई वैज्ञानिक आधार नभएको औषधि खुवाउने चलन बढेको छ । त्यति मात्र होइन सामान्य दुखाइमा पनि जथाभावी एन्टीबायोटिक औषधि दिइन्छ, यसले पनि बालबालिकामा डिप्रेसन गराउन सक्छ ।

स्कुलमा भेदभावपूर्ण वातावरण

स्कुलमा पनि भेदभावपूर्ण वातावरण छ भने बच्चामा मानसिक समस्या देखिन सक्छ । जस्तो, परीक्षामा राम्रो अंक ल्याउने विद्यार्थीहरुलाई एउटा सेक्सनमा र पढाइमा कमजोर हुनेलाई छुट्टै पढाउने परिपाटी धेरैजसो स्कुलमा पाइन्छ । पढाइ राम्रो हुनेलाई तारिफ गर्ने र नराम्रो गर्नेलाई होच्च्याउने, खिस्याउने र राम्रो नम्बर ल्याउन लागि दबाब दिने गर्दा हीनताबोध हुने, आफूलाई कमजोर ठान्ने, आत्मबल कमजोर हुने हुँदै उनीहरुमा बिस्तारै मानसिक समस्याले सताउँछ, जसले गर्दा उनीहरु आफ्नो व्यक्तित्व पनि विकास गर्न सकिरहेका हुँदैनन् ।

यौन दुर्व्यहार

सानोमै यौन दुर्व्यहार भएको छ भने पनि बालबालिका डिप्रेसनमा पुग्न सक्छन् । आफन्त वा अपरिचित व्यक्तिबाट यौन दुर्व्यवहार भइरहेको हुन्छ तर उनीहरुले भन्न सकिरहेका हुँदैनन् । भन्न खोज्दा धम्काउने गरेका हुन सक्छन् जसले उनीहरु भित्रभित्रै त्यो कुरा गुम्साएर राख्न पुग्छन् र  डिप्रेसन हुन सक्छ ।

व्यवस्थापन कसरी ?

डिप्रेसनमा पुग्ने अवस्था आउन नदिन बालबालिकासँग सञ्चार गर्नु अत्यन्त आवश्यक छ । उनीहरुको मनको कुरा बुझ्ने प्रयास गर्ने, उनीहरुसँग समय बिताउने, इच्छाआंकाक्षाबारे सोध्ने र राम्रो काममा समर्थन दिने गर्नु जरुरी छ । स्कुलको वातावरणबारे सन्तानसँग बुझ्ने र आफू पनि बेलाबखतमा स्कुलबारे जानकार भइरहनुपर्छ । राख्ने शारीरिक क्रियाकलापमा अभ्यस्त गराउने, खुल्ला वातावरणमा खेलकुद गराउने, आठ घण्टा सुत्ने वातावरण मिलाउने र पोषणयुक्त खानेकुरा खान दिने गर्नुपर्छ ।

  • ३० आश्विन २०८०, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech