बाल क्यान्सरको उपचारका लागि ३५ प्रकारका निःशुल्क औषधि आइपुग्न ढिलाइ

    • स्वास्थ्य पेज

  • २८ आश्विन २०८०, आईतवार

नेपालगन्जः सरकारले निःशुल्क दिन लागेको बाल क्यान्सरको उपचारमा प्रयोग हुने ३५ प्रकारका औषधि आइपुग्न केही ढिलाइ हुने भएको छ । विश्व स्वास्थ्य संगठनको ‘ग्लोबल इनिसिएटिभ फर चाइल्डहुड क्यान्सर’ (जीआईसीसी) कार्यक्रमअन्तर्गत नेपाललाई ३५ प्रकारका औषधि निःशुल्क उपलब्ध गराउन लागेको हो ।

यसअघि सेप्टेम्बर २०२३ बाट उपलब्ध गराउने गरी औषधि ल्याउने भनिएको थियो । तर, पर्याप्त प्राविधिक तयारी नपुगेकाले केही महिना ढिलाइ हुने भएको हो ।दाता जीआईसीसीको तयारी हेर्दा २०२४ को जनवरीसम्म मात्रै औषधि नेपाल आइपुग्ने सम्भावना रहेको कान्ति बाल अस्पतालका वरिष्ठ वरिष्ठ बाल हेमाटोलोजिस्ट तथा ओन्कोलोजिस्ट डा.सुधिर सापकोटाले बताउनुभयो । डा. सापकोटा कान्ति अस्पतालको तर्फबाट निःशुल्क औषधिको प्राविधिक टोलीमा रहेर काम गरिरहनु भएको छ । उहाँका अनुसार नेपालको तर्फबाट सबै तयारी पूरा भएपनि दाता जीआईसीसीले प्राविधिक तयारी अझै बाँकी रहेको जनाएको छ ।

औषधि ल्याउने मिति टुंगो लागेसँगै औषधि व्यवस्था विभागले विशेष सिफारिस प्रदान गर्ने र आयात प्रक्रिया अघि बढ्ने विभागका महानिर्देशक नारायणप्रसाद ढकालले बताउनुभयो । अमेरिकाको सेन्ट ज्युड चिल्ड्रेन्स् रिसर्च हस्पिटलको सहयोगमा नेपालसँगै मंगोलिया, जिम्बाबे, युगाण्डा र उज्बेकिस्तानलाई ६ वटा क्यान्सरको उपचारमा प्रयोग हुने औषधि प्रदान गरिँदै छ ।निःशुल्क प्रदान गर्न लागिएका औषधिहरू रक्त क्यान्सरका विभिन्न प्रकारसहित, आँखामा हुने (रेटिनोब्लास्टोमा), मस्तिष्कसम्बन्धी (न्यूरोब्लाष्टोमा) लगायतका ६ वटा क्यान्सरको केमोथेरापीमा प्रयोग अत्यावश्यक औषधि हुन् ।

जीआईसीसीले उपलब्ध गराएको औषधि नेपाल ल्याउने जिम्मा युनिसेफले लिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रंमुख डा.कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । जीआईसीसीले विभिन्न चरणमा ती औषधि नेपाललाई उपलब्ध गराउनेछ । त्यसका लागि गत अप्रिल १४ मा अमेरिकाको सेन्ट ज्युड चिल्ड्रेन्स् रिसर्च हस्पिटल पुगी स्वास्थ्य मन्त्रालयका सचिव देवकुमारी गुरागाईं नेतृत्वको टोलीले जीआईसीसीसँग सम्झौता गरेको थियो ।

३५ प्रकारका औषधि कान्ति बाल अस्पताल, भरतपुर र भक्तपुर क्यान्सर अस्पतालबाट निःशुल्क औषधि प्रदान गरिनेछ । ती औषधि आवश्यकताअनुसार अस्पतालमा वितरण गरिनेछ । नेपालमा बर्सेनि एक हजारदेखि एक हजार पाँच सयजना बालबालिकालाई क्यान्सर हुने अनुमान छ । तर तीमध्ये झन्डै पाँच सयजनामा मात्रै पहिचान हुने गरेको छ । सरकारले सबै प्रकारका क्यान्सरमा प्रतिव्यक्ति एक लाख रुपैयाँसम्म उपचार खर्च छुट गरेको छ । यसबाहेक प्रदेश सरकारले ५० हजारदेखि दुई लाखसम्म थप राहत दिँदै आएका छन् । तर, यो रकम क्यान्सरका बिरामीको उपचारका लागि पर्याप्त नहुने कान्ति बाल अस्पतालका पूर्वनिर्देशक डा.युवनिधी बसौलाको भनाइ छ ।

  • २८ आश्विन २०८०, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech