बिपी कोइराला स्वास्थ्य प्रतिष्ठानका १४० चिकित्सकले दिए राजीनामा

    • स्वास्थ्य पेज

  • २५ आश्विन २०८०, बिहीबार

नेपालगन्ज: सरकारका कारण वृत्ति विकास रोकिएको भन्दै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका १४० जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन् । ७ वर्षदेखि बढुवा रोकिएको भन्दै आन्दोलनरत चिकित्सकहरूले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई मन्त्रालयमै भेटेर सामूहिक राजीनामा पत्र बुझाएका हुन् ।

चिकित्सकहरूले स्वास्थ्य मन्त्री बस्नेतलाई भेटी प्रतिष्ठानको अवस्था र चिकित्सक शिक्षकको बढुवा रोकिएको गुनासो सहित मङ्गलवार ज्ञापन पत्र बुझाएका थिए । तर आफूहरूको मागप्रति मन्त्री बस्नेत गैर जिम्मेवार बनेपछि राजीनामा दिनुपरेको प्रतिष्ठानका सहप्राध्यापक डा. एसपी रिमालले जानकारी दिनुभयो।

प्रतिष्ठानका पदाधिकारीबाट माग सुनवाइ हुन नसकेपछि सामूहिक बिदा लिएर मन्त्रीलाई ध्यानाकर्षण गराउन काठमाडौँ पुगेका १ सय ७७ जना चिकित्सकमध्ये १ सय ४० जनाले राजीनामा दिएको सहप्राध्यापक रिमालले बताउनुभयो ।

उनीहरूले प्रतिष्ठानमा चिकित्सकको धेरै दरबन्दी खाली भएर पनि विगत सात वर्षदेखि बढुवा प्रक्रिया अवरुद्ध भएको र दुई वर्षयता मात्र ५० भन्दा बढी दक्ष चिकित्सकहरूले प्रतिष्ठान छाडेको बताएका छन् । यस्तै विभिन्न विभागमा प्रोफेसर तहका चिकित्सक अभाव भएर प्रतिष्ठानको पठनपाठनमा असर परेको बारेमा मन्त्री बस्नेतलाई जानकारी गराएका थिए । तर मन्त्री बस्नेत जिम्मेवार भएर प्रस्तुत नभएको डा. रिमालले बताउनुभयो ।

चिकित्सकको टोलीले राजीनामाबारे प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समेत जानकारी दिएका थिए । प्रतिष्ठानस्थित शिक्षक कल्याण समाजका अध्यक्ष डा. सेराज अहमद खानले प्रधानमन्त्रीले समस्या समाधान गरिदिने आश्वासन दिएको बताउनुभयो ।भेटमा प्रधानमन्त्रीसँग चिकित्सकहरूले विगत दुई वर्षमा ५० भन्दा बढी योग्य चिकित्सकले प्रतिष्ठान छाडेको जानकारी गराएका छन् ।

प्रतिष्ठानका विभिन्न विभागमा प्राध्यापक तहका चिकित्सक नहुँदा चिकित्सा अध्ययनसमेत प्रभावित भएको चिकित्सकहरूले बताएका छन् । चिकित्सकसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले मुख्य सचिव डा. वैकुण्ठ अर्याललाई लोकसेवासँग समन्वय गरी समस्या समाधान गर्न निर्देशन दिनुभयो ।

  • २५ आश्विन २०८०, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech