नेपाली चिकित्सा  क्षेत्रमा दुर्लभ मानिने दुई अंगको सफल प्रत्यारोपण,पति र भाउजूले दिए अंग

    • स्वास्थ्य पेज

  • २४ आश्विन २०८०, बुधबार

नेपालगन्ज: किस्ट शिक्षण अस्पतालमा दुई अंगको एकसाथ आज सफल प्रत्यारोपण  गरिएको छ।  उक्त अस्पतालमा शरीरका दुई महत्वपूर्ण अंग (कलेजो र मिर्गौला) को  एकसाथ सफल प्रत्यारोपण गरिएकोे हो। यस खालको शल्यक्रिया नेपाली चिकित्सा क्षेत्रमा पहिलो पटक  गरिएको हो।

दुवै अंग कलेजो र मिर्गौलाको एक साथ प्रत्यारोपणका लागि शल्यक्रिया गर्न १८ घण्टा लागेको थियो। अस्पतालका निर्देशक प्राडा सुरज बज्राचार्यका अनुसार, हिजो बिहान ११ बजेदेखि सुरु गरिएको शल्यक्रिया आज बिहान ५ बजेसम्म भएको थियो। चितवन भरतपुरकी ३४  वर्षीया सोनाकुमारी थापा भुजेलले दुवै अंग (कलेजो र मिर्गौला) ग्रहण गर्नु भएको छ ।

उहाँलाई अहिले पोस्ट अपरेटिभ केयर युनिटमा राखिएको छ। यसखालको जटिल र दुर्लभ स्वास्थ्य समस्याप्रति १० लाख जनसंख्यामा एकजनामा हुन सक्ने र यसको उपचार समेत केही सीमित अस्पतालमा मात्र हुने जनाइएको छ। उहाँलाई ३५ वर्षीय श्रीमान् नीरचन्द्र भुजेलले कलेजो दान गर्नुभएको छ। त्यस्तै ३२ वर्षीया भाउजू मञ्जुकुमारी क्षेत्रीले मिर्गौला दान गरेको अस्पतालले जनाएको छ। अंगदाता र ग्रहणकर्ताको तीनैजनाको एकसाथ शल्यक्रिया गरिएको हो।

अंग ग्रहणकर्ता महिलाको दुवै मिर्गौला बिग्रेको थियो। उहाँलाई एकप्रकारको जन्मजात रोगका कारण मिर्गौला र कलेजोमा समस्या देखिएको अस्पतालले जनाएको छ। जसका कारण मिर्गौला बिग्रे पछि उहाँले डायलासिस सेवा लिइरहनु भएको थियो।  शल्यक्रियामा किस्ट अस्पतालका वरिष्ठ शल्यचिकित्सक डा. मुकुन्दराज जोशीको नेतृत्वमा शल्यक्रिया भएको हो।

कलेजो ट्रान्सप्लान्ट सर्जन डा. एकानन्द सिंह, कलेजो ट्रान्सप्लान्ट हेपाटोलोजिस्ट डा. बरुण श्रेष्ठ, मिर्गौला ट्रान्सप्लान्ट सर्जन डा. नारायण भुषाल, मिर्गौला ट्रान्सप्लान्ट नेफ्रोलोजिस्टद्वय डा. सन्दीप क्षेत्री र डा. कश्यप दाहाललगायतको वरिष्ठ चिकित्सकहरूको  सहभागिता रहेको थियो। किस्ट अस्पतालले यसअघि १ सय १५ जनाभन्दा बढी व्यक्तिमा अंग प्रत्यारोपण गरिसकेको छ।

  • २४ आश्विन २०८०, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech