रैथाने परिकार : पौष्टिकताले भरिपूर्ण कोदो

    • स्वास्थ्य पेज

  • २३ आश्विन २०८०, मंगलवार

नेपालगन्जः उच्च हिमाली जिल्ला हुम्लामा रातो कोदो, कालो कोदो, डल्ले कोदो, अवले, तेमासे, लाट्या, नंग्य्रा र देशी कोदो पाइन्छन् । संयुक्त राष्ट्रसंघले सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदो वर्षका रूपमा मनाउन अह्वान गरेअनुसार बिहीबार हुम्लामा कोदो बाली विकास एवं प्रवद्र्धन कार्यक्रम गरियो । कर्णालीका कृषिमन्त्री भीमप्रकाश शर्माले ‘खाद्य पोषण सुरक्षा, वातावरण तथा ग्रामीण रूपान्तरणका लागि कोदो बाली’ भन्ने नाराका साथ कोदो दिवस मनाइएको बताउनुभयो ।

पछिल्लो समय कृषकले परम्परागत रैथाने बालीहरू उत्पादन गर्न छाडेको र आयातित खाद्यान्नमा आकर्षित भएको मन्त्री शर्माले बताउनुभयो । उहाँले रैथाने बालीको संरक्षणका लागि सरकारले सहयोग गर्ने भन्दै कर्णालीका ११ वटै जिल्लामा कोदोखेती गर्न किसानलाई आग्रह गर्नुभयो । नाम्खा गाउँपालिका–१ की टिडोल्मा लामाले कोदोबाट हलुवा, रोटी, ढिँडो, पुवा, थुप्कातुम्बालगायत विभिन्न परिकार बन्ने बताउनुभयो ।

कोदोका फाइदा
कोदोबाट हलुवा, रोटी, ढिँडो, सातु, लिटो, खोले, पुवालगायत विभिन्न परिकार बन्छन् । कोदोमा क्याल्सियम, आइरन, जिंक, फोस्फोरस, म्याग्नेसियम, पोटासियम, फाइबर, भिटामिन बी–६ लगायत हुन्छ । कोदो सेवन एसिडिटीको समस्या कम गर्नका लागि लाभदायक हुने विज्ञहरू बताउँछन् । यसले रोगप्रतिरोधी क्षमता बढाउँछ । यसमा रहेको भिटामिन बी–३ ले शरीरको मेटाबोलिजमलाई सन्तुलित राख्ने काम गर्छ । टाइप १ र टाइप २ डायबिटिजको समस्याका लागि पनि कोदो फाइदाजनक छ ।

आस्थमाका बिरामीका लागि पनि कोदो लाभदायक छ । यसले शरीरलाई डिटक्सिफाई गर्ने काम गर्छ । यसमा एन्टिअक्सिडेन्ट गुण प्रचुर हुन्छ । यसले शरीरलाई तताउने काम गर्छ । त्यसैले चिसो समयमा यसको सेवन निकै लाभदायक छ । यसमा रहेका फाइबर, प्रोटिन, मिनरल्स र भिटामिनले शरीरमा स्फूर्ति बढाउँछ ।

  • २३ आश्विन २०८०, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech