नेपालगन्जः चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीरले अस्पतालमा करारमा कार्यरत २ सय २१ जना स्वास्थ्यकर्मीलाई सेवाबाट हटाएको छ । डाक्टर, नर्स, ल्याब टेक्निसियन, बायो मेडिकल इन्जिनियर, रेडियोग्राफर, इलेक्ट्रिसियनलगायत गरेर वीरमा २ सय २१ स्वास्थ्यकर्मीलाई हटाइएको हो ।
तीमध्ये ४४ जना चिकित्सक र नर्स गरी १ सय ४७ जना छन् । स्वास्थ्य मन्त्रालयलाई करार सेवा निरन्तर दिन र पारिश्रमिक रकम विनियोजन गर्न पटकपटक अनुरोध गर्दा पनि नमानेपछि बाध्य भएर हटाउनुपरेको अस्पतालको भनाइ छ ।
ठूलो मात्रामा स्वास्थ्यकर्मी हटाइएपछि अस्पतालमा सञ्चालित ५९ बेड आईसीयूमध्ये २३ बेड बन्द भएका छन् । यसले देशभरबाट आएका बिरामी उपचार नपाएर मारमा परेका छन् ।