‘डब्लूएचओ’ क्षेत्रीय निर्देशकमा डा. आचार्यको उम्मेदवारः सरकारले प्रभावकारी लबिङ नगरेको गुनासो

    • स्वास्थ्य पेज

  • २२ आश्विन २०८०, सोमबार

नेपालगन्जः‘डब्लूएचओ’ क्षेत्रीय निर्देशकमा उम्मेदवार डा. शम्भु आचार्यको पक्षमा सरकारले प्रभावकारी लबिङ नगरेको गुनासो उठेको छ । क्षेत्रीय निर्देशकको चुनाव अक्टोबर ३० मा दक्षिणपूर्वी एसिया कार्यालय, भारतमा हुनेछ । यसअघि सो पदमा सर्वसम्मत रूपमा नेतृत्व चयन हुँदै आए पनि यस पटक नेपाल र बंगलादेशबिच प्रतिस्पर्धा हुँदैछ । उम्मेदवार आचार्यलाई नेपाल सरकारले उम्मेदवार बनाए पनि दक्षिणपूर्वी राष्ट्र नेपालसहित भारत, भुटान, श्रीलङ्का, माल्दिभ्स, म्यानमार, थाइल्यान्ड, बंगलादेश, इन्डोनेसिया र टिमोर लिस्टे देशहरूसँग भोटका लागि लबिङ नगरेको स्वास्थ्यविद् तथा चिकित्सकहरूको समेत भनाइ छ ।

युनिसेफ उपकार्यकारी निर्देशक तथा प्राडा रीता थापाले निर्देशक पदमा बहुआयामिक व्यक्ति आवश्यक पर्ने भएकाले डाक्टर आचार्यलाई समर्थन गरिएको बताउनुभयो । उम्मेदवार डा.आचार्यलाई समर्थन जुटाउन सरकारको उच्च तहले कूटनीतिक रूपमा सक्रियता देखाउनुपर्ने उहाँको भनाइ छ । दक्ष र अनुभवी व्यक्ति डब्लूएचओको दक्षिणपूर्वी एसियाको क्षेत्रीय निर्देशक पदमा पुग्नु नेपालका लागिमात्र नभएर यो क्षेत्रकै लागि फलदायी हुने डा.थापाको विश्वास छ ।

मुटु रोग विशेषज्ञ डा भगवान् कोइरालाले डा आचार्यको समर्थन गर्दै नेपालको नभएर दक्षिण एसियाकै स्वास्थ्यका विषयमा काम गर्ने भएकाले चुनाव जित्ने माहौल बनाउनुपर्ने सुनाउनुभयो । परिवार नियोजन संघका कार्यवाहक अध्यक्ष डा नरेश प्रताप केसीले आचार्यलाई राजनीतिक पहुँचका आधारमा भन्दा क्षमताका आधारमा छनोट गर्नुपर्ने बताउनुभयो ।

को हुनुहुन्छ डाक्टर आचार्य ?

डब्ल्यूएचओको उच्च ओहोदामा काम गर्ने नेपालीमा डा.आचार्य पर्नुहुन्छ । सन् १९९९ देखि डब्ल्यूएचओको उच्च ओहोदामा रही उहाँले काम गरिसक्नु भएको छ। डब्ल्यूएचओका महानिर्देशकको रणनीतिक सल्लाहकारसमेत भइसक्नु भएका आचार्यले १५३ वटा सदस्य देशका मुख्यालयको व्यवस्थापनलाई रणनीतिक सुझाव दिने काम गर्नुभएको छ । उहाँ अधिकांश मुलुकका राष्ट्रका प्रमुख तथा प्रतिनिधिहरूसँग वार्ता र छलफलमा सहभागी हुने भएकाले सदस्य राष्ट्रका अधिकारीसँग व्यक्तिगत तहमा राम्रो सम्बन्ध छ । त्यसैले नेपाल सरकारले उहाँको पक्षमा कूटनीतिक रूपमा प्रभावकारी भूमिका निर्वाह गरेमा जित निश्चित रहेको डा विश्व पराजुलीको भनाइ छ ।

अहिले डब्लूएचओ दक्षिणपूर्वी एशियाको क्षेत्रीय निर्देशक पदमा भारतकी पुनम क्षेत्रपाल सिंह हुनुहुन्छ । सिंह सन् २०१४ र २०१८ मा निर्विरोध निर्वाचित हुनु भएको हो । दुई छिमेकी राष्ट्रका उम्मेदवारबिचको प्रतिस्पर्धाका कारण यतिबेला भारत पनि कसलाई सघाउने भन्ने संकटपूर्ण अवस्थामा छ । एशियाको क्षेत्रीय निर्देशक पदमा उम्मेदवार डा वाजिद मानसिक स्वास्थ्य र अटिजमको क्षेत्रमा काम गर्दै आउनुभएको छ । उहाँ मानसिक स्वास्थ्य सम्बन्धमा डब्ल्यूएचओको सल्लाहकारसमेत रहनु भएको छ ।

  • २२ आश्विन २०८०, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech