पाठेघरको क्यान्सर निर्मूल पार्न प्राथमिकतामा राख्दै बजेट ल्याइने अर्थमन्त्री महतको भनाइ

    • स्वास्थ्य पेज

  • १९ आश्विन २०८०, शुक्रबार

काठमाडौँः अर्थमन्त्री प्रकाशशरण महतले सरकारले पाठेघरको मुखको क्यान्सर उन्मूलनको कार्यक्रम प्राथमिकतामा राखिएको बताउनुभएको छ । पिपुल्स एक्सेस टू एडिक्वेट नेचुरल इन्फ्रास्ट्रक्चर्स(पानी)ले सन् २०३० सम्ममा पाठेघरको मुखको क्यान्सर उन्मूलन: सार्वजनिक निजी साझेदारीमार्फत नेपालमा एचपीभी खोपलाई प्रवर्द्धन विषयमा शुक्रबार आयोजित कार्यशालामा बोल्दै उहाँले पाठेघरको क्यान्सर निर्मूल पार्ने सरकारको प्राथमिकताभित्र पर्ने भएकाले सोहीअनुसार बजेट विनियोजन गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो–‘ठूलो संख्यामा किशोरी तथा महिलाहरु यो क्यान्सरबाट प्रभावित बनेका छन् । व्यापक रूपमा खोपको पहुँच बढाउनुपर्ने छ । रोकथाम गर्नु महत्त्वपूर्ण कुरा हो । स्रोत र साधन कम छ । निजी क्षेत्रको साझेदारीमा काम गर्दा राम्रो हुन्छ ।’ कार्यक्रममा बोल्दै स्त्री क्यान्सर रोग विशेषज्ञ डा. शीला वर्माले सरकारले यो कार्यत्रमको सुरुवात गरिसकेको र यसलाई निरन्तता दिइ सबैमा पहुँच पुर्‍याउनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो- ‘केही नहुनुभन्दा सरकारले सुरुवात त गर्यो । उच्च पदस्थ पदाधिकारीहरुले नै यो कार्यक्रमलाई निरन्तरतामा राख्न प्राथमिकता दिनुपर्छ । विश्व स्वाथ्य संगठनले सन् २०३० सम्ममा यसलाई उन्मूलन गर्न भनेका छ यसका लागि सबैले मिलेर काम गर्नुपर्छ ।’ उहाँले अझै पनि क्यान्सरसम्बन्धी जनचेतना नपुगेको भन्दै स्क्रिनिङमा पनि एकरूपता नरहेको बताउनुभयो । त्यसैगरी क्यान्सर रोग विशेषज्ञ डा.अरुण शाहीले एचपीभी भाइरसले ४० भन्दा बढी रोगको शिकार बनाउने भन्दै अझै पनि यो रोगको समस्याबारे महिलाले पीडा लुकाउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो-‘कोही पनि महिला पाठेघरको क्यान्सरबाट मर्नु हुँदैन । खोपले नै क्यान्सरबाट बचाउँछ ।’ उहाँले खोप लगाए पनि नियमित स्क्रिनिङ आवश्यक रहेको जनाउनुभयो । ‘सरकारसँग सीमित साधन स्रोत छ । हाम्रा स्वास्थ्यका आवश्यकता धेरै र साधन स्रोत न्यून छन् । थोरै स्रोत साधनलाई सदुपयोग गरेर प्राथमिकता साथ काम गर्नुपर्दछ । निजी र अन्तर्राष्ट्रिय क्षेत्रसँगको सहकार्य गर्नुपर्छ,’ त्यसैगरी पानी संस्थाकी कार्यक्रम अधिकृत दिकिशा भण्डारीले खोप लगाउने देशमा पाठेघरको मुखको क्यान्सर न्युन देखिएको भन्दै सरकारले यो कार्यक्रमलाई निरन्तरता दिनुपर्ने जनाउनुभयो ।

  • १९ आश्विन २०८०, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech