ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण

    • स्वास्थ्य पेज

  • १९ आश्विन २०८०, शुक्रबार

गुल्मी: गुल्मीको पश्चिमी ग्रामीण भेगमा पर्ने मदाने गाउँपालिका –१ अग्लुङ्गले ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । ज्येष्ठ नागरिकहरुको घरमै पुगेर निःशुल्क स्वास्थ्य परीक्षण, परामर्श र आवस्यक औषधि वितरणलगायतका सेवा उपलब्ध गराइएको वडा अध्यक्ष सुशील चन्दले जानकारी दिनुभयो ।

ज्येष्ठ नागरिकहरु समाजका अगुवा भएको र उहाँहरुबाट नयाँ पुस्ताले धेरै कुरा सिक्न सकिने भन्दै ज्येष्ठ नागरिकमा सेवा गर्न आफ्नो कर्तव्य जिम्मेवारी भएको उहाँले बताउनुभयो । स्वास्थ्य परीक्षण गर्न स्वास्थ्यकर्मीसहित वडा अध्यक्ष चन्द स्वयम आफै ज्येष्ठ नागरिकहरुको घरमा पुग्नुभयो ।

पहिलो पटक आफ्नो घरमै स्वास्थ्य परीक्षण गराउन पाउँदा यहाँका ज्येष्ठ नागरिक धेरै खुसी हुनुभयो । यो उमेरसम्म कहिल्यै यसरी चेकजाँच गराएर औषधि नलिएको भन्दै पहिलो पटक घरमै बसी निःशुल्क स्वास्थ्य परीक्षण र औषधि प्राप्त गर्दा निकै खुसी भएको उहाँहरुले बताउनुभयो ।

पछिल्लो पटक युवाहरु रोजगारीको सिलसिलामा देश बाहिर तथा छोरी, बुहारीहरु अध्ययनका लागि सहर पसेपछि गाउँमा वृद्धवृद्धाहरु एक्लै पर्न थालेका छन् । घर–घरमै पुगेर स्वास्थ्य परीक्षण तथा औषधि वितरणलगायतका सेवा प्रवाह गर्दा ज्येष्ठ नागरिकलाई धेरै सहज हुने वडा कार्यालयले जनाएको छ ।

  • १९ आश्विन २०८०, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech