बाँके आउनु भएका स्वास्थ्यमन्त्रीले भन्नुभयो-‘निजी अस्पतालले १० प्रतिशत बेड पूर्ण निःशुल्क नगरे अस्पतालको नवीकरण हुँदैन’

    • स्वास्थ्य पेज

  • १६ आश्विन २०८०, मंगलवार

नेपालगन्जः स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतले निजी अस्पतालले १० प्रतिशत बेड पूर्ण निःशुल्क नगरे अस्पतालको नवीकरण नगरिने चेतावनी दिनु भएको छ । काँग्रेस बाँके क्षेत्र नं.३ ले आज खजुरामा आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । सरकार आधारभूत स्वास्थ्य सेवा निःशुल्क गर्ने अभियानमा रहेको पनि मन्त्री बस्नेतको भनाइ छ । स्वास्थ्य सेवालाई सबैको पहुँचमा पुर्याउने सरकारको योजना छ उहाँले भन्नुभयो सर्वसुलभ र गुणस्तरीय सेवा प्रवाह गर्नु यो सरकारको प्रमुख प्राथमिकता हो ।

उहाँले हाल धेरै अस्पतालमा जनशक्ति अभाव रहेको पाइएकाले त्यसको व्यवस्थापनमा सरकार जुटिसकेको पनि उहाँको भनाइ छ । अवको ६ महिनाभित्र ठूलो दरवन्दी बढ्ने पनि मन्त्री बस्नेतले विश्वास दिलाउनुभयो । स्वास्थ्यमा जनशक्ति बढाउने र उपकरण थप्ने आफ्नो लक्ष्य रहेको मन्त्री बस्नेतको भनाइ छ । उहाँले भेरी अस्पतालको ओपिडी विहान ८ बजेदेखि सुरु गर्न पनि निर्देशन दिनुभएको छ । अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र बहादुर शाह र मेसु पवनजंग रायमाझी समेत सहभागी उक्त कार्यक्रममा उहाँले भेरीको ओपिडी सेवा विहान ८ बजेदेखि सुरु गर्न निर्देशन दिनुभएको हो ।

यस्तै लुम्विनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले प्रदेश र संघीय अस्पतालहरुलाई सुविधासम्पन्न अस्पताल निर्माण गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो । उहाँले गठबन्धनको सरकार भएकाले अन्य दलको निमित्त पनि काम गर्नुपर्ने अवस्था रहेकाले सोचे जस्तो परिणाम आउन नसकेको उल्लेख गर्नुभयो । मन्त्री बस्नेत र खनालसहितको टोलीले आजै खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको समेत अनुगमन गरेको छ । त्यसक्रममा मन्त्री बस्नेत र खनालले क्यान्सर अस्पतालको सेवा विस्तारका लागि सक्दो पहल गर्ने बताउनुभयो ।

पश्चिमका क्यान्सर पीडित विरामीहरुको उपचारको एकमात्र थलो क्यान्सर अस्पताल भएकाले यसको श्रीवृद्धिका लागि सरकार गम्भीर रहेको उहाँहरुको भनाइ थियो । कार्यक्रममा प्रतिनिधिसभा सदस्य आशा विक, परोपकार मिसन खजुराका अध्यक्ष महेन्द्र मल्ल ठकुरी, अस्पतालका विकास समितिका पदाधिकारी, चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।

  • १६ आश्विन २०८०, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech