बर्दिया पुगेर मन्त्री खनालले भन्नुभयो-`सिकलसेल बिरामीलाई छुट्टै अस्पतालको आवश्यक छ´

    • स्वास्थ्य पेज

  • १३ आश्विन २०८०, शनिबार

नेपालगन्ज: लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले प्रदेश भित्र सिकलसेल एनिमिया रोगको उपचार र व्यवस्थापनका लागि प्रदेश सरकारले ३० लाख बजेट बिनियोजन गरेको बताउनुभएको छ ।

सिकलसेल प्रभावित बर्दिया पुग्नु भएका मन्त्री खनालले जिल्ला अस्पताल बर्दिया, आर सी थारु मेमोरियल अस्पताल लगायतका स्वास्थ्य संस्थाहरुको अनुगमनपछि आयोजित कार्यक्रममा चालु आर्थिक वर्षमा ३० लाख बजेट प्रदेश स्वास्थ्य मन्त्रालयले विनियोजन गरेको जानकारी दिनुभयो ।

मन्त्री खनालले सिकलसेलका बिरामीका लागि प्रदेशमा छुट्टै अस्पतालको आवश्यक्ता रहेको पनि बताउनुभयो । सिकलसेल एनिमिया अस्पताल सञ्चालनका बारेमा संघीय सरकारसँग पनि आफूले कुरा गरेको उहाँको भनाइ छ । स्थानिय सरकारलाई शिक्षा र स्वास्थ्यलाई केन्द्रमा राखेर बजेट विनियोजन गर्न आग्रह गर्दै मन्त्री खनालले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा आफ्नै घर नजिक पाउने व्यवस्था मिलाउन प्रदेश सरकार गम्भीर रहेको बताउनुभयो ।

सिमित बजेटका बिच पनि सरकारले सुरु गरेका कामको प्रतिफल नागरिकले पाउन थालेको भन्दै मन्त्री खनालले सरकारले उपलब्ध गराएका सेवाको बारेमा आमनागरिकलाई जानकारी दिन आबश्यक रहेकोमा जोड दिनुभयो ।

बारबर्दियामा आयोजित छलफलका सहभागीहरुले सिकल सेलका बिरामीको नि:शुल्क स्वास्थ्य बीमा गर्ने कार्यक्रम प्रदेश सरकारले ल्याएकोमा खुसी व्यक्त गर्दै सिकलसेलको औषधिलाई स्वास्थ्य वीमामा समाबेश गर्न आग्रह गरेका थिए ।

  • १३ आश्विन २०८०, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech