भेरी अस्पतालमा वेतिथि –२

सिटिस्क्यान एक महिना देखि बन्द


    • स्वास्थ्य पेज

  • ११ आश्विन २०८०, बिहीबार

नेपालगन्जः रेडियोग्राफर सञ्जिव मिश्र एक्लैले धान्नु भएको थियो भेरी अस्पतालको सिटिस्क्यान सेवा । तर काज फिर्ताको बाहनामा अस्पताल प्रशासनले भदौं सात गते उहाँलाई रमाना थमाइदिएपछि भेरी अस्पतालको सिटिस्क्यान सेवा महिना दिनदेखि बन्दछ । अझै कहिलेसम्म बन्द रहन्छ टुंगो छैन । यसको मार भने बिरामीले खेप्नु परिरहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तथा प्रदेशका विभागिय कर्मचारीको काज फिर्ताको निर्देशन दिएपनि संघीय मातहतका अस्पतालको हकमा भने यथावतनै राखेको थियो । तर भेरी अस्पतालको नेतृत्वको गलत बुझाइएका कारण सिटिस्क्यानजस्तो संवेदनशील सेवालाई ठप्प पारेर भएका एक्ला कर्मचारीलाई काज फिर्ताको पत्र थमाइदिएपछि बिरामीको विचल्ली भएको छ । प्रमुख मेडिकल सुपरिन्टेन्डेन्डको जिम्मेवारीसहित अस्पतालमा हाजिर भएको साता दिनमै डा.पवनजंग रायमाझीले करिव पन्ध्र वर्षदेखि भेरीको सिटिस्क्यान सेवा हाँक्दै आउनुभएका मिश्रलाई काज फिर्ताको पत्र थमौति दिनुभएको थियो ।

मिश्रसँगै कन्सल्टेन्ट कार्डियोलोजिष्ट डा.कृष्ण अधिकारी, प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा.कीर्तिपाल सुवेदीसहितको काज फिर्ता भएका थियो । तर, डा.अधिकारीले भने काज अस्विकार गर्नुभयो । संघ मातहत रहेका अस्पतालमा काजको बिषय उल्लेख नभएका कारण डा.अधिकारीले काजको पत्र बुझ्न मान्नु भएन् । अस्पताल आउन छाड्नुभयो । आफ्नै क्लिनिकमा बस्नुभयो । तर अहिले भने उहाँले अस्पतालमा काम सुरु गर्नुभएको छ । सुवेदीले भने भेरीमै दरवन्दी कायम गरेर पुनःभेरीमा फर्किसक्नु भएको छ ।

यसअघि पनि काज फिर्ता हुनेक्रम चलेकै हो । मिश्रको हकमा पनि काज फिर्ताका पत्र आइरहेकै थिए । तर त्यतिबेलाका मेसुहरुले मिश्रको अनुपस्थितिमा सिटिस्क्यान सेवानै प्रभावित हुने भएकाले त्यही बेहोराका पत्र मन्त्रालयमा पठाएर मिश्रको काज थमौती गर्ने र सेवालाई निरन्तरता दिएका थिए । ‘काज फिर्ता नियमित प्रक्रिया हो । सरकारी जागिरे भइसकेपछि सरकारले जहाँ खटाउँछ त्यहाँ जानेनै हो । तर अन्य निजामति कर्मचारीजस्तो स्वास्थ्य क्षेत्र होइन । मेसुको जिम्मेवारी निर्वाह गरिसकेका एकजना चिकित्सकले स्वास्थ्य पेजलाई भने–‘यो मानवीय संवेदनासँग जोडिएको कुरा हो । कुनै व्यक्तिलाई काज फिर्ता गर्दा त्यसका कारण सेवानै प्रभावित पार्छ भने किन फिर्ता गर्ने ? बरु मेसुले टिप्पणी लेखेर विकल्पमा जनशक्ती पठाउ । अनि काज फिर्ता गरौंला भन्नु पर्ने हो नि हैनर ?’

भेरी अस्पतालको सिटिस्क्यान मेसिन पुरानो पनि भइसकेको छ । चिनिया न्यूसफ्ट कम्पनीको उक्त मेसिन १३ वर्ष पूरानो हो । भेरी अस्पतालसँगै पाटन, टिचिङलगायत ४ वटा अस्पतालमा यो मेसिन एकैसाथ जोडिएको थियो । अन्य अस्पतालले यो मेसिनको रिप्लेस गरिसकेका छन् । तर भेरीमा भने यही मेसिनबाट सिटिस्क्यान सेवा प्रवाह भइरहेको थियो । पुरानो मेसिन भएकाले मिश्रबाहेक अरुलाई खासै यो मेसिनको अध्ययन छैन । मिश्र हुँदासम्म सिटिस्क्यान सेवा रोकिएको थिएन् । अस्पताल विकास समितिले दुई जना रेडियोग्राफी टेक्नोलोजिष्ट नियुक्त गरिसकेको छ । गएको भदौ २४ गते लिएको अन्तिम मौखिक परीक्षामा स्मिता गुरुङ र सगुन शर्मा रेडियोग्राफी टेक्नोलोजिष्टमा नाम निकालेर अस्पतालमा भित्रिसकेपनि सिटिस्क्यान सेवा सुरु हुन सकेको छैन । विशिष्टिकृत सेवालाई थप्दै लैजाने नीति लिएपनि नेतृत्वले त्योअनुसारको काम नगर्दा अस्पतालका सेवाहरु प्रभावित भएका छन् । र, त्यसको मार सिधा बिरामीले खेप्नु परेको छ ।

विभागीय प्रमुखहरुलाई वाइपास गरेर मेसुले अस्पताल चलाउन थालेपछि सिनियर डाक्टरहरु रुष्ट भएका छन् । उनीहरुले अस्पताल बनाउने सवालमा मेसुसँग समन्वय र सहकार्यको प्रतिबद्धता जनाउँदा जनाउँदै मेसुका कारण भएका सेवाहरुपनि बन्द हुने र खुम्चिने अवस्था आउन थालेपछि चिन्ता व्यक्त गर्न थालेका छन् । विधि र प्रक्रियामा मेसु चल्ने अवस्था नआए सिनियर डाक्टरहरु हातमा कालोपट्टी बाँधेर निस्कनु पर्ने अवस्था आउन सक्छ एक जना सिनियन डाक्टरले भने–‘हाम्रो स्वार्थ अस्पताल बनाउने हो । नागरिकलाई सहज सेवा दिने हो । यसमा मेसुको भूमिका प्रष्टहोस् । अस्पताललाई राजनीति अखडा बनाउन मिल्दैन ।’

अस्पतालमा सिटिस्क्यान मेसिन बन्द भएपछि बिरामीहरु निजीमा महंगोमा सेवा लिन बाध्य भएका छन् । ‘पैसा हुने त निजीमा जालान तर हामी जस्ता गरिव विपन्नहरु कहाँ जाने ? नेपालगन्ज उपमहानगरपालिका–१४ परस्पुरका इस्तियाक शेषले भन्नुभयो–‘यत्रो ठूलो अस्पतालमा सिटिस्क्यान सेवा बन्द हुनु दुर्भाग्यपूर्ण हो ।’

अहिले अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ड डा.पवनजंग रायमाझीले आठौं तहका डा.संकेत रिसाललाई निमित्त मेसुको जिम्मेवारी दिएर आफु विदामा बस्नु भएको छ । नवौं, दशौं र एघारौं तहका आयोग पास गरेर आएका सिनियर चिकित्सक हुँदाहुँदै अस्पताल विकास समितिका जुनियर चिकित्सकलाई मेसु दिएपछि मेसु रायमाझीको आलोचना भइरहेको छ ।

  • ११ आश्विन २०८०, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech