आकस्मिकबाहेक अन्य सबै सेवा बन्द गरेर बाँकेका डाक्टरहरु आन्दोलनमा

    • स्वास्थ्य पेज

  • ११ आश्विन २०८०, बिहीबार

नेपालगन्जः चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि श्रृङखलाबद्धरुपमा आक्रमण हुन थालेपछि बाँकेका डाक्टरहरु आन्दोलनमा उत्रिएका छन् । नेपाल चिकित्सक संघको नेतृत्वमा बाँकेका सरकारी तथा निजी अस्पतालका डाक्टरहरु आन्दोलनमा उत्रिएका हुन् ।

संघका अध्यक्ष डा.बिनोद कुमार थापाका अनुसार चिकित्सकमाथि सुनियोजितरुपमा गरिएका सांघातिक आक्रमणले ढुक्क भएर बिरामीको सेवा गर्ने अवस्था नरहेपछि आन्दोलनमा उत्रनु परेको हो ।

सरकारले दोषीमाथि कारवाही गर्नुपर्ने र यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता नआएसम्म आन्दोलन जारी रहनेपनि उहाँको भनाइ छ । आजदेखि आकस्मिक सेवाबाहेक अन्य सबै सेवा बन्द गरेर आन्दोलनमा उत्रिएको पनि अध्यक्ष डा.थापाले बताउनुभयो । उहाँका अनुसार डाक्टरहरु आजदेखि निजी क्लिनिकमा समेत बस्ने छैनन् ।

चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि श्रृङखलाबद्धरुपमा भइरहेको आक्रमणले सेवा दिन नसकिने अवस्था सिर्जना भएको निष्कर्ष निकालेर आन्दोलनमा उत्रनु परेको संघका पूर्वअध्यक्ष डा.विनोद कर्णले बताउनुभयो ।

‘हाम्रो आन्दोलनका कारण कुनैपनि बिरामीहरु उपचार सेवाबाट बञ्चित हुन नपरोस् भन्नेनै थियो भेरी अस्पतालका कन्सल्टेन्ट न्यूरो सर्जन डा. अञ्जन कार्कीले भन्नुभयो–‘तर उपचार गर्दागर्दै पनि जसरी हामीमाथि निरन्तर आक्रमण हुन थाल्यो यसले गम्भीर परिस्थिति सिर्जना गरेको छ । यो हाम्रो रहर नभएर बाध्यता हो ।’

पोखरा, हेटौडा, गुल्मी, मोरङलगायतका जिल्लामा श्रृङखलाबद्धरुपमा डाक्टर तथा स्वास्थ्यकर्मीमाथि आक्रमण भएको छ । पछिल्लो पटक मणिपाल अस्पताल पोखरामा सहकर्मी कुटिएपछि डाक्टरहरु सुरक्षा खोज्दै आन्दोलनमा छन् ।

  • ११ आश्विन २०८०, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech