बाँकेका डाक्टरहरुको बोल्ड निर्णय, सामुहिक राजिनामा दिएर आन्दोलनको तयारी

    • प्रियास्मृति ढकाल

  • १० आश्विन २०८०, बुधबार

नेपालगन्जः चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि श्रृङखलाबद्धरुपमा आक्रमण हुन थालेपछि बाँकेका डाक्टरहरु सामुहिक राजिनामा दिने तयारीमा पुगेका छन् । सरकारी तथा निजी अस्पतालका डाक्टरहरु भेला भएर सरकारले दोषीमाथि कारवाही गर्नुपर्ने र यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता नआए भोलि सामुहिक राजिनामा दिएर आन्दोलनमा उत्रने निष्कर्षमा पुगेका छन् ।

भेरी अस्पताल नेपालगन्ज, नेपालगन्ज मेडिकल कलेज, वेष्टर्न हस्पिटल लगायतका अन्य निजी अस्पतालमा कार्यरत डाक्टरहरुको सामुहिक भेलाले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि श्रृङखलाबद्धरुपमा भइरहेको आक्रमणले सेवा दिन नसकिने अवस्था सिर्जना भएको निष्कर्ष निकालेको भेलामा सहभागी भेरी अस्पतालका कन्सल्टेन्ट न्यूरो सर्जन डा.अञ्जन कार्कीले स्वास्थ्य पेजलाई बताउनुभयो ।

‘हाम्रो आन्दोलनका कारण कुनैपनि बिरामीहरु उपचार सेवाबाट बञ्चित हुन नपरोस् भन्नेनै थियो डा.कार्कीले भन्नुभयो–‘तर उपचार गर्दागर्दै पनि जसरी हामीमाथि निरन्तर आक्रमण हुन थाल्यो यसले गम्भीर परिस्थिति सिर्जना गरेको छ । यो हाम्रो रहर नभएर बाध्यता हो ।’

पोखरा, हेटौडा, गुल्मी, मोरङलगायतका जिल्लामा श्रृङखलाबद्धरुपमा डाक्टर तथा स्वास्थ्यकर्मीमाथि आक्रमण भएको छ । पछिल्लो पटक मणिपाल अस्पताल पोखरामा सहकर्मी कुटिएपछि डाक्टरहरु सुरक्षा खोज्दै आन्दोलनमा छन् । पोखरा, काडामाडौंमा डाक्टरहरुले प्रदर्शन गर्दै आएका छन् ।

बाँकेका डाक्टरहरुले राजिनामा दिएर निर्णायक आन्दोलन छेड्ने निष्कर्षमा पुगेपछि बिरामीहरु मर्कामा पर्ने अवस्था देखिएको छ । ‘हामी आफै असुरक्षित भएपछि कसरी सेवा दिन सक्छौं डा.कार्कीले भन्नुभयो–‘बिरामीमा पर्न जाने असुविधाप्रति हामी क्षमाप्रार्थी छौं ।’

सरकारले भोलि विहान १० बजेसम्म दोषी कारवाही गर्दै यस्ता घटना दोहोरिन नदिने वातावरण नबनाए सामुहिक राजिनामा दिएर निर्णायक आन्दोलनमा होम्मिने आजको भेलाको निष्कर्ष रहेको पनि डा.कार्कीले बताउनुभयो । डाक्टरहरुले राजिनामा दिए भोलि भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज, वेष्टर्न अस्पताल अन्य निजी अस्पतालहरुको ओपिडी, इमरजेन्सी, आइसीयूलगायतको सबै सेवा प्रभावित हुने देखिएको छ ।

  • १० आश्विन २०८०, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech