उपचारसम्बन्धी गुनासो भए चिकित्सकमाथि आक्रमण होइन काउन्सिलमा उजुरी दिनु – मेडिकल काउन्सिल

बृहत छलफलका लागि बोलायो विस्तारित बैठक


    • स्वास्थ्य पेज

  • ९ आश्विन २०८०, मंगलवार

नेपालगन्ज: नेपाल मेडिकल काउन्सिलले बिरामीको विषयलाई लिएर चिकित्समाथि आक्रमण गर्नु दुःखद भएको बताएको छ। बिरामीहरुको स्वास्थ्य उपचार गर्ने शिलशिलामा बिरामीहरुको  निधन भएको विषयलाई लिएर चिकित्सकहरुमाथि भौतिक रुपमा आक्रमण गर्ने गरी भएको घटना प्रति नेपाल मेडिकल काउन्सिलको गम्भिर रुपमा ध्यान आकर्षण भएको समेत जनाएको छ।

२७ भदौमा  हेटौंडाको सञ्चो अस्पतालमा दुई चिकित्सकमाथि आक्रमण भएयता बुटबल, लमजुङ, मणिपाल शिक्षण अस्पताल पोखरा, बिराटनगर, बघौडा अस्पताल चितवन, पाटन अस्पताल लगायतमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि सांघातिक आक्रमण भएको संघले जनाएको छ ।

काउन्सिलले उपचारसँग सम्बन्धित विषयमा काउन्सिलमा उजुरी गर्ने व्यवस्था हुँदाहुँदै चिकित्सकमाथि नै आक्रमण गर्नु दुःखद भएको जनाएको छ।

 ‘उपचारसँग सम्बन्धित कुनै घटना घटेमा सो बारे नेपाल मेडिकल काउन्सिलमा उजुरी नगरी चिकित्सक उपर भौतिक आक्रमण गर्ने कार्यले कसैलाई पनि हित नगर्ने हुँदा पीडित पक्षले यस काउन्सिलमा उपस्थित भई वा अन्य माध्यमबाट आफूलाई परेको असर बारे जानकारी गराउन तथा स्वास्थ्य उपचार गर्ने स्थललाई शान्ति र भयरहित बनाउनु हुन सम्बन्धित सबै पक्षलाई नेपाल मेडिकल काउन्सिल अपील गर्दछ’ मंगलबार जारी विज्ञप्तिमा भनिएको छ।

 ‘सरकार समक्ष गरिएको सम्झौताको हप्ता दिन पनि नहुँदै देशका विभिन्न स्थानमा चिकित्सकहरुलाई लक्षित गरी सांघातिक आक्रमण गरेर गम्भीर घाइते बनाइनु तथा स्वास्थ्य संस्थामा अत्यन्तै अस्वाभाविक, अनियन्त्रित हुलहुज्जत र गुण्डागर्दीले नेपालको स्वास्थ्य सेवा प्रवाहमा गम्भीर असर पु¥याएको छ’ संघका महासचिव डा. सञ्जीव गिरीले विज्ञप्तिमा भन्नुभएको छ ।

चिकित्सकमाथि आक्रमण गर्नेलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ र पहिलो संशोधन ऐन २०७९  बमोजिम कानूनी कारवाही नगरिनु, सुरक्षाकर्मीहरुको भूमिका शंकास्पद हुनु तथा समग्र स्वास्थ्यकर्मीहरु अत्यन्तै असुरक्षित र भयभित भइरहेको विद्यमान अवस्थामा नियमित स्वास्थ्य सेवा प्रवाह गर्न सक्ने वातावरण नभएको संघले उल्लेख गरेको छ ।

संघले चिकित्सकमाथि भइरहेका आक्रमणको घटनाका विषयमा भावी दिनमा अवलम्बन गर्नुपर्ने रणनीतिक भूमिकाका विषयमा छलफल गर्न भोलि १० गते विस्तारित बैठक बोलाएको छ । बैठकमा अस्पतालका निर्देशक, संघका पूर्व पदाधिकारी, परिषद्का सदस्य, विभिन्न विशेषज्ञ सोसाइटीका पदाधिकारीहरु, संघका शाखा कार्यालयका अध्यक्ष एवं सचिवहरु, रेजिडण्ट एशोसिएसनका पदाधिकारीहरु सहभागी हुने चिकित्सक संघले बताएको छ ।

  • ९ आश्विन २०८०, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech