एन्टिमाइक्रोबायल प्रतिरोधः चिकित्सक, फार्मासिस्ट र बिरामीको भूमिका

    • मान बहादुर महरा/फार्मेसी अफिसर

  • ८ आश्विन २०८०, सोमबार

एन्टिमाइक्रोबायल्स त्यस्ता औषधिहरु हुन् जुन सुक्ष्मजीवहरू (माइक्रोब्स जस्तै ब्याक्टेरिया, भाइरस, फंगस, प्रोटोजोवा, पारासाईट्स आदि) को संक्रमणले गर्दा मानिसको स्वास्थ्यलाई असर पारेमा त्यसबाट बच्न वा रोग निको पार्न प्रयोग गरिन्छन्। सर्वप्रथम विश्वमा सन् १९२९–४५ मा पेनिसिलिन नामक एन्टिबायोटिकको खोज भयो र दोस्रो विश्वका युद्धका घाइते शैनिकहरुको उपचारमा प्रयोग गरियो। तत्पश्चात थुप्रै अन्य एन्टिबायोटिकहरुको खोज भई मानिस, पशपन्छी तथा बालीनालीमा प्रयोग गर्दै आइरहेका छौं तर पछिल्लो समय एन्टिबायोटिकको अनुपयुक्त तथा जथाभावी प्रयोगले सुक्ष्मजीवविरुद्ध काम नगर्ने प्रवृत्ति बढ्दै गइरहेको छ। जसबाट थुप्रै जन धनको क्षति भइरहेको तथ्य जगजाहेरै छ।

साथै यो समस्या भित्र—भित्रै एक सुनामीको रुपमा विकसित हुँदैछ। रिभ्यू अन एन्टिबायोटिक रेजिस्टेन्स २०१४ को अध्ययनअनुसार विश्वमा ७० लाख मानिसहरूले प्रतिवर्ष एन्टिबायोटिक रेजिस्ट्यान्सबाट अकाल ज्यान गुमाइरहेका छन् भने सन् २०५० सम्म प्रतिवर्ष १ करोड मानिसको ज्यान जान सक्नेछ जसमध्ये एशियाबाट मात्र आधा अर्थात् करीब ५० लाख मानिसले प्रतिवर्ष अकालमा ज्यान गुमाउनेछन् भनी प्रक्षेपण गरिएको छ। विश्व स्वास्थ्य संगठनले विश्वका १० जनस्वास्थ्य खतरामध्ये एन्टिमाइक्रोबायल प्रतिरोधलाई प्रमुख खतराको रूपमा राखेको पाईन्छ।

कुनै पनि नयाँ एन्टिबायोटिक बजारमा आउन करीब २० देखि २५ वर्ष समय लाग्छ र अर्बौं रूपियाँ खर्च हुन्छ तर यतिको मेहनत र लगानी गरेर ल्याएको नयाँ एन्टिबायोटिक बिरामीलाई प्रयोगमा ल्याएको २—४ वषमैंं रेजिस्टेन्स हुने गरेको छ। त्यसैले अहिले औषधि खोजकर्ताहरु एन्टिबायोटिकको खोजभन्दा नसर्ने रोगको उपचारमा प्रयोग हुने औषधिहरुको खोजप्रति बढी ललायित देखिन्छन्। ग्लोबल रिसर्च अन एन्टिमाइक्रोबायल रेजिस्टेन्स प्राजेक्ट (२०२२) का अनुसार सन् १९८० देखि सन् २००० सम्म ६३ नयाँ एन्टिमाइक्रोवियल्स बजारमा आए भने सन् २००० देखि २०१८ सम्ममा १५ नयाँ एन्टिमाइक्रोवियल्स बजारमा आए। यस बीचमा विभिन्न समूहका १४ प्रकारका एन्टिमाइक्रोवियल्सले  माइक्रोब्स विरुद्ध काम गर्न छाडिसकेका थिए। जुन भयावह अवस्था हो। यसले कुनै पनि बेला महामारीको रुप लिन सक्छ।
11111695538891.JPG
एन्टिमाइक्रोबायल प्रतिरोध कम गर्न चिकित्सकको भूमिकाः
चिकित्सकले एन्टिबायोटिक ससेप्टीविलिटि परीक्षण (अर्थात् माईक्रोब्सको संक्रमण अनुसार एन्टिबायोटिकको छनौट) गरेर मात्र प्रेसक्राइब गर्ने गर्नुपर्दछ। संभव भएसम्म बिरामीको महत्वपूर्ण अंगहरु जस्तै मिर्गौला, कलेजो, मुटु आदिको काम गर्न सक्ने क्षमता परीक्षण गरेर मात्र एन्टिमाइक्रोबायल पे्रसक्राइब गर्नु पर्दछ।

चिकित्सकले एन्टिमाइक्रोबायल पे्रसक्राइब गर्दा सकेसम्म न्यारो स्पेकट्रमबाट सुरु गरी बोर्ड स्पेक्ट्रममा सिफ्ट गर्नुपर्दछ। मल्टिपल कम्बिनेसन भएको एन्टिबायोटिक भन्दा एकल मलिकुल भएको एन्टिबायोटिकलाई प्राथमिकता दिनुपर्दछ।

साथै कतिपय औषधिको प्रमोशन गर्ने व्यक्तिहरूले चिकित्सकलाई गिफ्ट तथा प्रोत्साहनको वाहानामा रिजर्व एन्टिबायोटिक¬लाई प्रेस्क्राइब गर्न लगाउने प्रवृतिले एन्टिबायोटिक रेजिस्टेन्सको समस्या बढ्दै गइरहेकोले यस कार्यलाई निरुत्साहित गर्नु पर्दछ। यदि समय छदै यो समस्यालाई न्यूनीकरण गर्न सकेनौ भने हामी औषधिको अँध्यारो यूगतिर लम्कने उच्च संभावना देखिन्छ।

एन्टिमाइक्रोबायल प्रतिरोध कम गर्न फर्मासिष्टको भूमिका
क्लिनिकल अभ्यास गर्दा सर्जरी गर्नुपूर्व कुन एन्टिबायोटिक प्रयोग गर्ने भन्ने कुरामा सर्जनहरुबीच मतैकता छैन। प्रोफिलेक्टिक थेरापीमा पनि रिजर्व एन्टिबायोटिकको प्रयोग भइरहेको पाइएको छ। यसलाई व्यवस्थित गर्न अस्पतालमा एन्टिमाइक्रोबायल स्टेवार्डशिप कमिटी हुनु आवश्यक छ जसमा फर्मासिष्टको मुख्य भूमिका हुन्छ। एन्टिमाइक्रोबायल स्टेवार्डशिप एक समन्वित कार्यक्रम हो जसले एन्टिमाइक्रोबायल्सको तर्कसंगत वा उचित प्रयोगलाई बढावा दिनुको साथै बहु औषधि–प्रतिरोधी  जीवहरूले हुने संक्रमणको फैलावटलाई घटाउँछ र साथै विरामीमा हुने एन्टिबायोटिक प्रतिरोधलाई समेत कम गर्दछ।

एन्टिबायोटिक सेवन गर्ने तरीका, तिनीहरुको नराम्रो असर तथा एलर्जीको बारेमा बुझ्ने गरी बिरामीलाई सम्झाउनुपर्दछ।

मुनाफा कमाउनु छ भनी औषधि बिक्रेताले पनि अनावश्यक एन्टिबायोटिक विरामीलाई बेच्नुहुँदैन।

साथै एन्टिबायोटिकको खरिद, बिक्रि तथा सञ्चय—सेवनको अभिलेख राख्न सके एन्टिमाइक्रोबायल प्रतिरोध बाट कुनै पनि बेला हुन सक्ने अप्रत्याशित महामारीबाट जन धनको सुरक्षा गर्न सकिन्छ।

एन्टिमाइक्रोबायल प्रतिरोध कम गर्न बिरामीको भूमिका
बिरामीमा शिक्षा र जनचेतनाको कमीले सामान्य स्वास्थ्य समस्या हुंदा पनि एन्टिबायोटिक औषधि आफुखुसी प्रयोग गर्ने हुनाले एन्टिमाइक्रोबायल प्रतिरोधको समस्या बढीरहेकोले विरामीले सकभर अफूखुशी एन्टिबायोटिक रिटेल फार्मेसीबाट किनेर खानु हुँदैन।

एन्टिबायोटिक खाएको २–३ दिनमै रोग निको भएमा पनि  उक्त औषधि (कम्तीमा पाँच–सात दिन) वा फर्मासिष्ट वा सम्बन्धित चिकित्सकको सल्लाह बमोजिम पुरा मात्रामा खानु पर्दछ।

धुलो औषधिलाई पानीमा घोलेर बनाइएको झोल एन्टिबायोटिक औषधि झोल बनाइएको अवधि देखि बढीमा सात दिन सम्म मात्र प्रयोग गर्नु पर्दछ र सकेसम्म त्यस्तो पाउडरलाई झोल बनाइएको औषधि चिसो ठाउँमा (रेफ्रिजिरेटरमा), सानो केटाकेटीले नभेट्ने ठाउँमा भण्डारण गर्नु पर्दछ र प्रयोग गर्नु पूर्व राम्रोसित औषधि हल्लाएर मात्र प्रयोग गर्नु पर्दछ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि एन्टिबायोटिक प्रतिरोध कम गर्न विभिन्न कार्यक्रम तथा बजेटको व्यवस्था गर्नुपर्ने देखिन्छ साथै एन्टिबायोटिक प्रेस्क्रिबिङ गाइडलाइनलाई प्रभावकारी ढंगले लागू गर्ने र बजारमा उपलब्ध एन्टिमाइक्रोबायलको सही र तर्कसंगत प्रयोग गर्नुको साथ–साथै संक्रमण हुन नदिनु र संक्रमणलाई अस्पतालमा जतिसक्दो छिटो नियन्त्रण गर्नु आजको आवश्यकता हो किनभने हाम्रो जस्तो न्यून तथा मध्यम भएको राष्ट्रमा संक्रमण पश्चात्त उपचारमा लाग्ने खर्चको अनुपात संक्रमण रोकथाम र नियन्त्रणमा लाग्ने खर्चभन्दा कयौं गुणा बढी छ साथसाथै संक्रमण निमन्त्रण भएन भने विरामीको अकाल मृत्यु हुनसक्छ। त्यसैले एन्टिमाइक्रोबायलको सही र तर्कसंगत प्रयोगलाई बढावा दिई एन्टिमाइक्रोबायलको प्रतिरोधबाट आफू पनि बचौं र अरुलाई पनि बचाऔं।

  • ८ आश्विन २०८०, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech