कमैयाडाडामा वर्थिङ सेन्टर र एम्वुलेन्स सेवा सुरु

    • स्वास्थ्य पेज

  • ८ आश्विन २०८०, सोमबार

नेपालगन्जः बाँकेको राप्तीसोनारी गाउँपालिका–६ कमैयाडाडामा आधारभूत स्वास्थ्य सेवा केन्द्रको नवनिर्मित प्रसूति भवन तथा एम्वुलेन्सको आज उद्घाटन गरिएको छ । गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले एक कार्यक्रमकाबीच प्रसूति भवन तथा एम्वुलेन्सको उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्र्दै पालिका अध्यक्ष पौडेलले राप्तीसोनारी गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर काम गरिरहेको बताउनुभयो । उहाँले पालिकाका नौ वटै वडामा प्रसूति गृह निर्माण गरी घरमा हुने सुत्केरी दरलाई शुन्यमा झारिने पनि उल्लेख गर्नुभयो । ‘पालिकाले सबै वडामा वर्थिङ सेन्टर संचालनको नीति लिएको छ उहाँले भन्नुभयो–‘आगामी आर्थिक वर्षभित्र एक वडा एक वर्थिङ सेन्टर संचालन गर्ने हाम्रो उद्देश्य छ । त्यसलाई पूरा गरिन्छ ।’

कमैयाडाडामा वर्थिङ सेन्टर संचालनमा आएपछि त्यसक्षेत्रका गर्भवतीलाई सुत्केरी हुन नेपालगन्ज आउनु पर्ने बाध्यताको अन्त्य भएको पनि उहाँको भनाइ छ । पालिकाले वर्थिङ थप जनशक्ति पठाएर सेवालाई प्रभावकारी र गुणस्तरीय बनाउने पनि अध्यक्ष पौडेलले प्रतिबद्धता जनाउनुभयो । योसँगै पालिकाका ७ स्थानमा वर्थिङ सेन्टर संचालनमा आएका छन् । कुसुम, कचनापुर, बैजापुर, विनौना, फत्तेपुर र ढकेरीमा यसअघिनै वर्थिङ सेन्टर संचालनमा आइसकेका छन् । अव आर्थिक वर्षमै शम्शेरगन्जमा पनि वर्थिङ सेन्टर संचालनमा ल्याइने पालिका अध्यक्ष पौडेलको भनाइ छ । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष मनिषा थारु, प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटा, वडाअध्यक्षहरु शालिकराम डाँगी, रामलखन थारु, सोहनलाल थारु, रेडक्रस राप्तीसोनारी शाखाका सभापति यज्ञनारायण शाह लगायतले वर्थिङ सेन्टर संचालनपछि आमा र नवजात शिशु मृत्युदरमा सुधार आउने विश्वास व्यक्त गर्नुभयो ।

२६ लाख २४ हजार ९ सय ५८ रुपैयाँको लागतमा भवन निर्माण सम्पन्न भएको वडाअध्यक्ष लवराज खरेलले जानकारी दिनुभयो । उहाँले वर्थिङ सेन्टर स्थापनापछि गर्भवतीहरुलाई सेवा लिन सहज भएको बताउनुभयो । नेपाल रेडक्रस सोसाइटीको २४ लाख र पालिका र वडा कार्यालयको करिव एक लाखको सहयोगमा एम्वुलेन्स सेवा पनि संचालनमा ल्याइएको छ । आधारभूत स्वास्थ्य सेवा केन्द्रमा अहिले तीन जना पारामेडिक्स, दुई जना नर्स, एक जना सरसफाईकर्मी र एक जना कार्यालय सहयोगी गरी ७ जना कर्मचारी छन् । तर वर्थिङ सेन्टर संचालनपछि भने जनशक्तिको अभाव हुने अनमी तिलसरी घर्तिले बताउनुभयो । आधारभूत स्वास्थ्य सेवा केन्द्रमा ओपिडी, डट्स सेन्टर, कुपोषित बालबालिका उपचार केन्द्र, सुरक्षित मातृत्व लगायतका सेवा प्रवाह गर्दै आएको अहेव चेतनाथ थारुले जानकारी दिनुभयो ।

  • ८ आश्विन २०८०, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech