स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा बसौलालाई स्वास्थ्य मन्त्रालयले तीन दिने स्पष्टीकरण

    • स्वास्थ्य पेज

  • ७ आश्विन २०८०, आईतवार

नेपालगन्जः स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाले पदीय जिम्मेवारी बहन नगरेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्पष्टीकरण सोधेको छ। मन्त्रालयले तीन दिन भित्र स्पष्टीकरण पेस गर्ने गरी मन्त्रीस्तरीय निर्णयबाट असोज ४ गते बसौलालाई ११ बुँदे स्पष्टीकरण सोधेको हो। कार्यकारी निर्देशकको जिम्मेवारीमा रहेर बसौलाले स्वास्थ्य बीमा ऐन २०७४ को दफा २४ ले निर्दिष्ट गरेका काम, कर्तव्य र अधिकारहरु जिम्मेवारीका साथ सम्पादन नगरेको आरोप मन्त्रालयको छ।

नेपाली नागरिकको गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने अधिकार संरक्षण गर्न स्वास्थ्य बीमाद्वारा पूर्व भुक्तानीको माध्यमबाट बिमितको आर्थिक जोखिम न्यूनीकरण गरी जीवन रक्षा गर्नुपर्ने जस्तो अतिसंवेदनशील विषयमा गैरजिम्मेवारीपूर्वक प्रत्यक्ष रुपमा संलग्न भएको पाइएकोले तपाईंलाई स्वास्थ्य बीमा ऐन, २०७४ को दफा २५ को उपदफा (२) बमोजिम पदबाट किन नहटाउने ? भन्दै मन्त्रालयले नहटाउनु पर्ने कुनै कारण भए सोही ऐनको दफा २५ को उपदफा ९३० बमोजिम तीन दिन भित्र सफाइ पेस गर्न डा बसौलालाई निर्देशन दिएको छ।

स्वास्थ्य बीमामा आवद्ध हुने बिमितको उपचार वापतको रकम समयमै समानुपातिक रुपमा ७७ जिल्लामा सोधभर्ना भुक्तानी गराउनु पर्नेमा बसौला स्वयंको मिलेमतोमा सीमित अस्पताल र कलेजहरुलाई मात्र दोहोर्‍याएर दिने तर केही अस्पतालहरुको वर्षौंदेखिको सोधभर्ना भुक्तानी नगरेको भनी सञ्चार माध्यम तथा अस्पतालहरुबाट बारम्बार गुनासो आए पनि सम्बोधन नगरेको, देशभरि नै स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्नुपर्नेमा ११ वटा जिल्लामा अझै सञ्चालन नगरेको, बोर्डका नायव सुब्बा प्रकाशमान केसीले बरबुझारथ नगरेको, बिमितको रकम हिनामिना गरेको र समयमै लेखा परीक्षण गराई श्रेस्ता ठिक दुरुस्त राख्नुपर्नेमा पदीय जिम्मेवारी बहन नगर्दा समेत कार्यकारी निर्देशक गैरजिम्मेवार भएको मन्त्रालयको आरोप छ।

  • ७ आश्विन २०८०, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech