डाक्टरबाटै बच्चा बिक्री प्रकरणमा ग्रिनक्रस अस्पतालका सञ्चालक पनि पक्राउ

    • स्वास्थ्य पेज

  • ४ आश्विन २०८०, बिहीबार

नेपालगन्जःअस्पतालबाटै बच्चा बिक्री भएको प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले विराटनगरस्थित ग्रिनक्रस अस्पतालका सञ्चालक कृष्ण खवासलाई पक्राउ गरेको छ। योसँगै बच्चा बिक्री प्रकरणमा पक्राउ पर्नेको संख्या ७ पुगेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता तथा डीएसपी रन्जन दाहालले जानकारी दिनुभयो ।

यसअघि यो प्रकरणमा संलग्न भएको आरोपमा ६ जना पक्राउ परेका थिए। त्यतिबेला शिशु बिक्रीमा संलग्न चिकित्सक तपेश्वरलाल कर्ण, खरिद गर्ने दिलमाया राजवंशी, अस्पतालमा कार्यरत सुधा राजवंशी, दिलमायाका पति सूर्यनारायण राजवंशी, भोजपुरको हतुवागडी गाउँपालिका–४ का गोविन्द राई र सिरहाको कल्याणपुर नगरपालिका–१२ की निर्मला यादव पक्राउ परिसकेको उहाँले जानकारी दिनुभयो ।

ग्रिनक्रस अस्पतालबाट बेपत्ता पारिएकी शिशु सात लाख रुपैयाँमा किनबेच भएको खुलेको थियो। अस्पतालका चिकित्सक तपेश्वरलाल कर्णको योजनामा बिक्री भएको उक्त शिशुका लागि खरिदकर्ताले सात लाख रुपैयाँ दिएको खुलेको थियो।

प्रहरीको अनुसन्धान अनुसार शिशु खरिद गर्ने दिलमाया राजवंशीले डा कर्णले शिशुको मूल्य पाँच लाख लिएको र उपचारका लागि थप दुई लाख रकम लिएको बयान दिएकी थिइन् ।प्रहरीले भदौ ५ गते दिलमायाको घरबाट उक्त शिशुको उद्धार गरेको थियो। अविवाहित जोडीबाट जन्मिएको उक्त शिशु बेपत्ता पारिएको भन्दै शिशुकी आमाले प्रहरीमा उजुरी दिएकी थिइन्।

अनुसन्धान गर्दै जाँदा मोरङको कटहरी गाउँपालिका–२ आदर्श टोलकी दिलमाया राजवंशीलाई शिशु बिक्री गरेको पत्ता लागेको हो। उक्त शिशुलाई आईसीयूमा राखेर उपचार गर्नुपर्ने भएकाले उपचारका लागि दुई लाख रकम दिएको राजवंशीले बयानमा बताएकी छिन्।

असार १४ गते जन्मिएकी नवजात शिशुलाई बेपत्ता पार्ने उनीहरु विरुद्ध व्यक्ति बेपत्ता पारेको र संगठित अपराधको कसुरमा अनुसन्धान गरिएको डीएसपी दाहालले जानकारी दिनुभयो ।

  • ४ आश्विन २०८०, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech